६ वर्षमा पनि बनेन बटाली जोड्ने पुल

६ वर्षमा पनि बनेन बटाली जोड्ने पुल

 बुटवल : बुटवल उपमहानगरपालिका-३ गोल्पार्क र वडा नम्बर १ को गणेशथान जोड्ने पक्की पुल निर्माण सुस्त भएको छ। पुल निर्माण गर्न आर्थिक वर्ष ०६८÷६९ मा ठेक्का सम्झौता भएको हो। तर, ६ वर्ष भइसक्दा पनि पुलको काम लगभग आधा मात्र भएको छ। डिभिजन सडक कार्यालयले ६५ प्रतिशत काम भएको बताएको छ। पुल निर्माण ढिलाइ देखेर बुटवल १ र २ का वडावासी दिक्क भएका छन्। ‘पुल बनेर सुविधा हुने भो भनेको यस्तो चाला छ। काममा यस्तो ढिलाइ कहीँ देखेको छैन’, बुटवल-१ का रवीन्द्र गोपाल लाकौलले भने।

०७२ सालसम्म पुल निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। काम अघि नबढेपछि एक वर्ष म्याद थप गरी ०७३ असार मसान्त पुर्यािइएको थियो। ‘मुआब्जासम्बन्धी विवादले सुरुमा काम अघि बढेन’, डिभिजन सडक कार्यालय बुटवलका इन्जिनियर मेघराज केसीले भने, ‘भूकम्प र नाकाबन्दीजस्ता समस्याले पनि काम हुन सकेन।’

थपिएको म्याद ०७३ असारमा सकिए पनि त्यसयता म्याद थप भएको छैन। २० महिनायता म्याद थप नभईकन निर्माण कार्य भइरहेको छ। ‘यो असार मसान्तसम्म पनि काम सकिएलाजस्तो छैन। त्यसपछि जरिवाना लगाएर म्याद थप्नुपर्ने हुन्छ’, सडक डिभिजनका इन्जिनियर केसीले भने। पुल निर्माण गर्न बज्रगुरु रायमाझी जेभीसँग सम्झौता भएको हो। ‘ठेकेदारले विगतमा कहिले बजेट निकासा भएन, कहिले इन्धन अभाव भयो भनेका छन्’, बुटवल उपमहानगरपालिका-१ का वडाध्यक्ष महेन्द्र लिगलले भने। निर्माण छिटो सक्न ताकेता गरेको उनले सुनाए।

पुल निर्माण गर्न पारि गणेशथानतर्फ जगको संरचना निर्माण गर्दा रि-डिजाइन गर्नुपरेकाले ढिलाइ भएको ठेकेदारको भनाइ छ। निर्माणाधीन पक्की पुल नजिकै झोलुंगे पुल छ। पुलको जग निर्माण गर्दा झोलुंगे भत्काउनुपर्ने अवस्था थियो।

झोलुंगे पुल १ सय ५ वर्ष पुरानो हो। सय वर्षभन्दा पुरानो संरचना पुरातात्विक महत्वको मानिन्छ। पुरातत्व नगई आफूहरू रिडिजाइनतर्फ लागेको उनले बताए। डिभिजन सडक कार्यालयले पुलको जग रि-डिजाइन गराएर विभागमा पठाएको छ। विभागबाट अझै स्वीकृत भएर आएको छैन।

जगको डिजाइन स्वीकृत नभए पनि बाँकी काम भइरहेको छ। पुल निर्माण गर्न वारिपारिको संरचनाबाहेक बीचमा ३ वटा पिल्लर निर्माण भएको छ। २ वटा पिलर समेटेर ढलान भइसकेको छ। १ सय २ मिटर लम्बाइको पुल निर्माण गर्न ६ करोड ७२ लाख लागत अनुमान गरिएको छ। निर्माणमा ढिलाइ भए पनि लागत नबढ्ने सडक डिभिजन कार्यालयको दाबी छ।

निर्माणाधीन पुलभन्दा केही माथि विगतमा पनि पूर्व-पश्चिम राजमार्गका लागि पक्की पुल बनेको थियो। पुल तयार भए पनि ०३८ सालमा आएको बाढीले भत्काएको थियो। त्यसपछि अहिले जितगढी नजिकबाट राजमार्गका लागि पक्की पुल निर्माण गरिएको हो। गोलपार्क र गणेशथान जोड्ने पक्की पुल बन्दा वैकल्पिक सडकका रूपमा प्रयोेग गर्न सकिन्छ। बुटवलको पुरानो बजार अहिले सुनसान छ। पक्की पुल तयार भएमा सुनसान बजार गुल्जार हुने स्थानीयको आशा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.