विप्लव बन्दको प्रभाव : ६ ठाउँको बम निष्कृय
पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन आइतबार पोखराका ३ ठाउँमा बम फेला परेको छ । लमजुङमा २ र तनहुँमा १ ठाउँमा शंकास्पद बिस्फोटक पदार्थ भेटिएको छ ।
पोखरा विमानस्थल, लेखनाथ र पृथ्वीरामार्गको पोखरा स्वागत गेट गरी ३ ठाउँमा फेला परेका सबै बम नेपाली सेनाले निस्क्रिय पारेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेश स्तरीय सुरक्षा बैठकमा भाग लिन काठमाडौंबाट पोखरा विमानस्थलमा झरिसकेको केही बेरपछि विमानस्थलको नम्बर १ गेटबाहिर पेट्रोल बम फेला परेको थियो । शंकास्पद कार्टुन फेला परेको भन्ने जानकारी स्थानीयले दिनासाथ नेपाली सेनाको टोलीले पेट्रोल बम निस्क्रिय पारेको थियो ।
पोखरा २९ सैनिक बस्तीस्थित राजमार्गमा प्लास्टिकमा तार ब्याट्रीमा जोडेको अवस्थामा फेला परेको सकेट बम पनि सैनिक टोलीले निस्क्रिय पारेको छ । पोखरा स्वागतगेट नजिकै रेडबुलको बट्टामा प्लास्टिकले बेरिएको र तारबाहिर देखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि निस्क्रिय पारिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
लमजुङ जिल्लाको राइनास नगरपालिका ५ तिनपिप्ले चोकमा जिलेटिन बम र लमजुङकै सुन्दरबजार नगरपालिका ८ रामदीस्थित सडकमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तनहुँको ब्यास नगरपालिका ३ मादीपुलमा झोलाभित्र कुकरमा तारबाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि ती सबैलाई निस्क्रिय पारिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । आइतबार पोखरामा सार्वजनिक सेवाका यातायात साधन चलेनन् ।