ट्रम्प-उन वार्ता तयारी : उत्तर कोरियाली अधिकारी चीनमा
बेइजिङ : उत्तर कोरियाका उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन आइपुगेको छ। उत्तर कोरियाली उच्चस्तरीय अधिकारी उक्त प्रतिनिधिमण्डलमा सहभागी भएको समाचार जापानको सरकारी प्रशारण संस्था एनएचके टेलिभिजनले दिएको छ।
एनएचकेका अनुसार उक्त प्रतिनिधिमण्डल बेइजिङको एक अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेको थियो। उक्त दृश्य उक्त टेलिभिजनले देखाएको बताइएको छ। उक्त भ्रमणमा सहभागी अधिकारीको नाम भने उसले दिएको छैन। भ्रमण दलमा उत्तर कोरियाका केही उच्चस्तरीय अधिकारी भएको अनुमान गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतीक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको छ। त्यसै भ्रमणको पूर्वसन्ध्यामा भएको उत्तर कोरियाली नेताको यो चीन भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। यसका साथै उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन आइपुगेका थिए।
उनले गत दुई महिनायता दोस्रो पटक चीन आइपुगेका थिए। दुई महिना यताको यो पनि एक उच्चस्तरीय भ्रमण नै रहेको अधिकारीले जनाएका छन्।
उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो।
राष्ट्रपति ट्रम्पले विश्वकै चासो र प्रतिक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने बताएका छन्। यो वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने ट्रम्पले ट्विट गरेका थिए।
यसअघि नै यसै वार्ताको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग पनि फोनवार्ता गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ। उक्त सिंगापुर वार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले पनि हालै उत्तर कोरियाको भ्रमण गरेका थिए। त्यस भ्रमणपछि नै उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई रिहा गरेको थियो। उत्तर कोरियाको भ्रमणलगत्तै अमेरिकी विदेशमन्त्रीले आसन्न वार्ताको वातावरण निर्माण भएको र परिस्थिति सबै सकारात्मक रूपमा नै अघि बढेको प्रतिक्रिया दिएका थिए।
उक्त वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेतासँग फोनवार्ता जारी राखेका छन्। उनले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतीक्षारत रहेको पनि बताएका छन्।
यी वातावरणका कारण उत्तर र दक्षिण कोरियाली नागरिकमा पनि शान्तिको आशा पलाएको बताइएको छ। विश्वका सञ्चारमाध्यमले कोरियाली प्रायद्वीपमा अब शान्ति स्थापना हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !