सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ

डडेलधुरा : जिल्लाका २४८ विद्यालयमध्ये विभिन्न गाउँपालिका र नगरपालिकाका ४२ विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको छ। यस शैक्षिक सत्रदेखि नगरपालिका र गाउँपालिकामा जनप्रतिनिधि आएपछि यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको हो। अंग्रेजी माध्यमबाट पढाइ सुरु भएसँगै अभिभावक खुसी भएका छन्।

यस शैक्षिक सत्रबाटै अजयमेरु गाउँपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ। भागेश्वर गाउँपालिकाका ३० मध्ये नमुनाका रूपमा आठ र परशुराम नगरपालिकाका ६४ मध्ये दुई वटा विद्यालयमा अंग्रेजी माध्यममा पढाइ भइरहेको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी दिए।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि स्थानीय सरकारले अंगे्रजी माध्यमबाट पढाइ सुरु गरेको अजयमेरु गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं. २ का वडाध्यक्ष शिवराज भट्टले बताए। अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंगे्रजी माध्यमबाट पढाउन तालिमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उमेश भट्टले जानकारी दिए।

अंग्रेजी माध्यमबाट पढाइ, शिक्षकलाई तालिम, इलोक्ट्रोनिक्स हाजिरी, नियमित अनुगमनजस्ता कार्यले पढाइको स्तर उकास्न प्रयास भइरहेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिलाकुमारी भट्टले बताइन्। उक्त गाउँपालिकाको बैठकले शिक्षामा सुधार ल्याउन र यो शैक्षिक सत्रमा नमुनाका लागि आठ वटा विद्यालय छनोट गरी हरेक विद्यालयलाई एक लाख रुपैयाँसम्म आर्थिक सहयोगसमेत उपलब्ध गराएको हो।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि बालबालिकाको संख्यामा वृद्धि भएको सम्बद्ध विद्यालयका शिक्षकको भनाइ छ। अभिभावकले निजीबाट सामुदायिक विद्यालयमा भर्ना गराउन थालेकाले निजी विद्यालयमा बालबालिकाको संख्या घटिरहेको भागेश्वर गाउँपालिकाका अभिभावक हर्षबहादुर मल्लले बताए। शिक्षकले मिहिनेत र अनुशासित भई पढाउने हो भने पहिलो शैक्षिक सत्रमै राम्रो सुधार आउने अभिभावक बताउँछन्।

अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएका विद्यालयमा केही पुराना शिक्षक भए पनि उनीहरूको अनुभव र क्षमताले बालबालिकामा सुधार आउने र निजीको गुणस्तर सामुदायिक विद्यालयबाटै पाउने निर्वाचित जनप्रतिनिधिले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.