सम्झाैता भएको आठ वर्षमा पनि बनेन भवन
गोरखा ः विद्यालय भवन बनाइदिने सम्झौता गरेको आठ वर्ष बितिसक्दा पनि चिनियाँ सरकारले गोरखाको सिंजाली मावि ताक्लुङको भवन निर्माणको काम थालेको छैन । भवन नबन्दा त्यहाँका तीन सय ५० जना विद्यार्थी बासको खपटाले बारेको टहरोमा पढिरहनुपरेको प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए ।
‘आवश्यक पर्ने जति विद्यालय भवन, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, फर्निचर, शौचालय, खानेपानी धारा, खेलमैदानलगायत सम्पूर्ण भौतिक संरचना बनाइदिने भनेर २०६८ सालमा सम्झौता भएको हो’, श्रेष्ठले भने ‘भएको पुरानो भवन पनि भूकम्पले भत्कियो । विद्यार्थीहरू टहरामा बसेर पढिरहेका छन् तर अहिलेसम्म बनाउने सुरसार केही छैन । कोही आउँदा पनि आउँदैनन् । वास्ताव्यस्ता गरेको छैन ।’
२०६८ सालमा चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा सो विद्यालय बनाउने घोषणा गरेका थिए ।
भूकम्पपछि आएका विभिन्न संघ संस्थाले जिल्लाका अधिकांश विद्यालय भवन निर्माण गरेका छन् । तर, चिनियाँ सरकारसँग सम्झौता भइसकेका कारण अरू दातृ निकायले सो विद्यालय भवन बनाउन सकेका छैनन् । ‘भूकम्पपछि आएका संघसंस्थाले सानाठूला सबै विद्यालय बनाइरहेका छन् । हाम्रो पनि बन्थ्यो होला तर अर्कोसँग सम्झौता भइसकेको भनेर कसैले पनि बनाउन मानेनन्’, उनले भने । चिनियाँ सरकारसँग सम्झौता भंग गर्न चाहेर पनि नसकेको उनको भनाइ छ । ‘जिल्लादेखि शिक्षा विभाग, शिक्षामन्त्री सबैलाई भेटेर दुख बिसाएको हो तर चाहेर पनि सम्झौता भंग गर्न नमिल्ने रहेछ’, प्रअ श्रेष्ठ भन्छन्, ‘निल्नु न ओकल्नु भयो । साह्रै समस्या भयो ।’
केही दिनको आँधीहुरीले टहरो उडाएपछि फेरि टहरो मर्मत गरेको उनले बताए । ‘बासको कप्टेराको बार धुल्याहा लागेर जीर्ण भइसकेको थियो । जस्ताको छानो थियो । सबै आधिहुरीले उडाइदियो’, प्रअ श्रेष्ठले भने, ‘अहिले फेरि उसैगरी बनाएका छौं ।’ पानी पर्दा बाछिटाले विद्यार्थीले सास्ती खेपेका छन् । भल पसेर कक्षा जलमग्न हुने गरेको उनको भनाइ छ ।
पर्याप्त सुविधायुक्त भवन बनाउने आशा देखाएर एकाएक थप प्रक्रिया रोकिएकोप्रति जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दीपेन्द्र सुवेदीले आश्चर्य प्रकट गरे । ‘एक अर्ब रुपैयाँसम्म खर्च गर्ने गरी सम्झौता भएको हो तर खै किन ढिला भइरहेको हो बुझ्न सकिएको छैन’, उनले भने, ‘मैले शिक्षामन्त्रीज्यूसँग पनि यस विषयमा जानकारी गराएको छु । फर्केपछि दूतावासमा कुरा राखेर हामीलाई खबर गर्छु भन्नुभएको छ । हामी वहाँको जवाफकै पर्खाइमा छौं ।’
भूकम्पपछि सम्झौता भएका सबै छिमेकी विद्यालय बनिसक्दा पनि विद्यालयको अवस्था ज्यूँकात्यूँ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल परियारको गुनासो छ । ‘हाम्रो वरिपरिका कुनै विद्यालय शिक्षा विभागले बनाइदिए, कुनै अन्य दातृ निकायले बनाइदिए’, परियार भन्छन्, ‘तर आठ वर्षअघि नै सम्झौता भएको हाम्रो विद्यालय भने जस्ताको तस्तै छ ।’
लामो समयदेखि विद्यालय भवन नबन्नुको कारणबारे विद्यार्थी र अभिभावकले सोधेर हैरान पारेको उनको भनाइ छ । ‘सबैले सोध्छन्, के जवाफ दिऊँ ? ’, उनी भन्छन्, ‘कहिले शिक्षा विभाग, कहिले मन्त्रालय गएको छु । कहिले परराष्ट्र मन्त्रालय धाएको छु तैपनि विद्यालय बन्ने छाँटकाँट छैन ।’ धाउँदा धाउँदा केही सीप नलागेर थाकेर बसेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !