फुटबलरदेखि भारतीय सैनिकसम्म : सुन तस्करीका मुख्य नाइके गोरेको यस्तो छ विगत

फुटबलरदेखि भारतीय सैनिकसम्म : सुन तस्करीका मुख्य नाइके गोरेको यस्तो छ विगत

विराटनगर : प्रहरीको सर्वाधिक खोजीसूचिमा रहेका सुन तस्करीका मुख्य अभियुक्त 'गोरे' भनिने चूडामणि उप्रेती पक्राउ परेका छन्।  

सन् २०१५ जुलाईदेखि तस्करीमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन नेपाल भित्र्याउँदै आएका मोरङको उर्लाबारी नगरपालिका ७ स्थायी ठेगाना भएका अन्दाजी ३७ वर्षीय गोरे भनिने चूँडामणि उप्रेतीको विगतका बारेमा धेरैलाई जानकारी नहुन सक्छ।

तस्करीमार्फत भित्रिएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा उर्लाबारी १ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाएर यातना दिँदा काठमाडौं महानगरपालिका ७ गौरीघाट बस्ने उनकै सहयोगी उर्लाबारी ७ का सनम शाक्यको गत फागुन १८ गते मृत्यु भयो। गोरे समूहले हराएको सुन लुकाएको आरोप सनम, उर्लाबारीकै मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, विमानस्थलका कर्मचारी तक्ले भनिने पुण्यप्रसाद लामा लगायतलाई लगाएको थियो। सबैलाई यातना दिने क्रममा सनमको मृत्यु भयो।

सनमको शव राखिएको स्करपिओ सहित तीन जनालाई प्रहरीले फागुन १९ गते विराटनगर ३ बाट पक्राउ गर्‍यो।  त्यतिबेला काफ्ले, कार्की र गोरेको चालकका रुपमा काम गर्दै आएका काभ्रेका टेकराज मल्ल ठकुरी पक्राउ परेका थिए। उनीहरू गोरे ग्याङ्मा आवद्ध भएर विगतदेखि सुन तस्करी धन्दामा सहयोग पुर्‍याउँदै आएका व्यक्ति भएको अनुसन्धानका क्रममा पत्ता लागेको थियो।

उनै गोरे २०७३ साल पुस २१ गते युएइबाट नेपाल तस्करी गरिएको ३३ किलोग्राम सुन काण्डमा मुख्य अभियुक्तका रुपमा उप्रेतीलाई प्रहरीले मोस्टवाण्टेडको सूचीमा राखेको थियो।

मोरङको उर्लाबारी लगायतका क्षेत्रमा खुलेआम हिँड्ने गरे पनि उनलाई प्रहरीले यस अघि पक्राउ भने गरेको थिएन। उच्च प्रहरी अधिकारीकै संरक्षण मिलेपछि उर्लाबारीकै स्थानीय बक्राहा खोलामा रिक्सा र ठेला चालकलाई प्रयोग गरेर माछा मार्ने काम गर्दा सम्म पनि प्रहरीले उनका बारेमा थाहा पाउन सकेको थिएन।

उनकै संलग्नतामा तस्करीको सुन खोज्ने क्रममा सनमको हत्या भएपछि भने गोरे भारततर्फ भागेका थिए। भारततर्फ भागेको आशंकामा नेपाल प्रहरीले पक्राउका लागि अन्य मुलुकका प्रहरीसँग सहयोग लिन उनी विरुद्ध 'डिफ्युजन नोटिस' नै जारी गरेको थियो। सुन तस्करी र सनम हत्या काण्ड पेचिलो बन्दै गएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेत्रृत्वमा सरकारी छानविन समिति बनेको थियो।

हत्या गरिएका शाक्य र पक्राउ परेका काफ्ले तीन वर्षदेखि उनको सहयोगीका रुपमा काम गर्दै आएका थिए। कार्की भने दुई वर्षदेखि उनको गाडी चालकका रुपमा काम गर्दै आएका थिए। उप्रेती चर्चित पूर्व फुटबलर पनि हुन्। मोरङ ११ लगायत विभिन्न क्लबमा आवद्ध भएर उनले फुटबल खेलिसकेका छन्। राम्रो फुटबलर भएकै कारण जाउलाखेल युथ क्लबले पटक पटक गोरे माथि नजर पनि नलगाएको हैन। तर उनलाई मोरङ ११ ले उम्कन दिएन। फुटबल खेल्न छाडेर उनी भारतीय सेनामा भर्ना भएका थिए। त्यहाँ तीन वर्ष काम गरेपछि दुवईको अवुदावी पुगेर त्यहाँको प्रहरीको काम गर्न थाले। 

उनका बारेमा जानकारी राख्ने एक व्यक्तिका अनुसार पाँच वर्ष दुवई बसेर उनी त्यहींबाट सुन पठाउने र हुण्डी कारोवार संचालन गर्ने धन्दामा संलग्न हुन थाले। त्यसपछि नेपाल फर्किएर दुवई, सिंगापुर लगायतका मुलुकबाट पठाएका सुन नेपालका विभिन्न ठाउँमा सप्लाई गर्ने धन्दामा उनको संलग्नता रहयो।

‘पहिले उहीं बसेर सुन पठाउने काम गर्ने गरेको पाइयो,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछि ऊ आफै नेपाल फर्किएर मुख्य कारोवारी भएर सुन तस्करी गर्न थालेको पत्ता लागेको छ।’ मोस्टवाण्टेड हुँदाहुँदै पनि प्रहरीका उच्च अधिकारीसँग उनको नियमित सम्पर्क भएको कुरा छानविन समितिले पत्ता लगाएको छ।

सनमको हत्या हुनु अघि एक वर्षदेखि उनी उर्लाबारी लगायत पूर्वका विभिन्न ठाउँमा घुमिरहेका भेटिन्थे। उर्लाबारीका एक युवाले भने, ‘प्रहरीको संरक्षण नभएको भए उनी कसरी खुल्लेआम रुपमा हिँड्न सक्थे ?’

सनमको हत्या भएपछि शवको व्यवस्थापन गर्ने विषयमा पनि उनले प्रहरी अधिकारीहरुलाई सम्पर्क गरेर सल्लाह मागेको अनुसन्धानका क्रममा खुलेको छ। पक्राउ परेका निलम्बित एसपी विकासराज खनालले शव ल्याएर गाडी सहित त्रिशुलीमा फालिदिनू भनेर सिकाएको फोन रेकर्ड समेत छानविन समितिले फेला पारिसकेको छ। पक्राउ परेकाहरूले दिएको बयान अनुसार सनमको हत्या भएपछि शव धरान र इटहरीको बीचमा रहेको चार कोषे झाडीमा गाड्ने तयारी पनि गरिएको थियो।

गोरे समूहले तीन वर्षमा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ। सन् २०१५ जुलाई देखि हालसम्म उक्त परिणामको सुन तस्करी भएको अनुसन्धानबाट खुलेको हो। जिल्ला अदालत मोरङमा दर्ता गरिएको अभियोग पत्रमा पनि यो कुरा उल्लेख गरिएको छ। प्रचलित मूल्य अनुसार १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बराबरको सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गोरे सहित ६३ अभियुक्त विरुद्ध यो बराबरको माग दावी सहित मुद्दा दर्ता गरिएको छ। यो मुद्दामा मंगलबारसम्ममा गोरे सहित ३१ जना पक्राउ परिसकेका छन्। यस अघि ३० जना मात्रै पक्राउ परेका थिए। ३० जनाका सम्बन्धमा भने अदालतमा थुनछेक बहस पनि सकिएको छ।

अभियुक्त विरुद्ध अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.