सातामै ७० लाख राजस्व संकलन

दुनै ः डोल्पामा यार्चागुम्बा संकलक पुर्जी वितरणबाट एक साताभित्र ७० लाख २३ हजार राजस्व संकलन गरिएको छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्रको यार्चापाटन प्रवेश अनुमतिबाट मात्रै उक्त राजस्व संकलन भएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।
बहुमूल्य जडीबुटी यार्चागुम्बा संकलनका लागि डोल्पाका उच्च हिमाली क्षेत्रका यार्चापाटनमा पुग्ने सर्वसाधारणबाट संकलन पुर्जी वितरण गरी साताभित्रै पौने करोड रकम संकलन गरिएको हो ।
से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जका विभिन्न चेकपोस्टबाट संकलन पुर्जी वितरण गरेर राजस्व संकलन गर्ने गरेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए ।
हालसम्म संकलित रकम फोन सम्पर्क हुने चेकपोस्टको मात्रै भएको र धो, साल्दाङ, फोक्सुन्धो, पलमलगायत चेकपोस्टबाट कति जना प्रवेश गरे, कति रकम संकलन भयो भन्ने जानकारी आउन बाँकी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताए ।
यार्चागुम्बा संकलनका लागि जिल्लाभित्र र बाहिरका मानिस आउने क्रम जारी नै रहेकाले निकुञ्जका विभिन्न १० वटा चेकपोस्टबाट जेठ अन्तिमसम्म अझै थप लाखौं राजस्व संकलन हुने अनुमान गरिएको सहायक संरक्षण अधिकृत उप्रेतीले बताए ।
जेठ १ गतेदेखि आजसम्म निकुञ्ज क्षेत्रमा मात्रै ५ हजारभन्दा धेरै यार्चा संकलक प्रवेश गरेका छन् । एक साता अवधिमा क वर्गको १७ सय ७८, ख वर्गको ८ सय १४, ग वर्गको १५ सय २३ संकलन इजाजतपत्र वितरण गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।
तीन वर्गमा यार्चागुम्बा संकलकका लागि अनुमतिपत्र दिने व्यवस्था छ । सोहीअनुसार निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका बासिन्दालाई क वर्गको ५ सय, जिल्लाभित्रका बासिन्दाका लागि ख वर्गको २ हजार र जिल्लाबाहिरका बासिन्दाका लागि ग वर्गको तीन हजार रकम रहेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ । निकुञ्जका अनुसार सबै वर्गका संकलकबाट सेवा शुल्क बापत छुट्टै ५ सय लिने गरिएको छ ।
से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका सुलिगाड, त्रिपुराकोट, तोईजुम, धो, साल्दाङ, सुम्दुहा, मुगुको डोल्फु र किम्रीसहित विभिन्न १० वटा चेकपोस्टबाट संकलित पुर्जी वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
