३३ किलो सुनकाण्ड : गोरेकी पत्नीसहित फरारको नाममा म्याद जारी
विराटनगर : जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरारको नाममा उपस्थितिका लागि म्याद जारी गर्ने तयारी गरेको छ। अदालतमा उपस्थित हुनका लागि फरार रहेका ३२ जनाको नाममा ७० दिनको म्याद जारी गर्ने तयारी गरिएको निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले बताए।
उनका अनुसार सुन तस्करी र सनम हत्यामा प्रतिवादी बनाइएका ६३ मध्ये ३२ जना अझै फरार रहेका छन्।३१ जना पक्राउ परेका छन्। पक्राउमध्ये २८ जनालाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिइसकेको छ।उनीहरु अहिले झुम्का कारागारमा छन्।
मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग न्यायाधीश शर्माकै रोहबरमा बयान लिने काम भइरहेको छ। बयान सकिएपछि उनका सम्बन्धमा थुनछेक बहस भएर अदालतले आदेश दिने गौतमले बताए। शर्माकै इजलासले फरार रहेका प्रतिवादीका हकमा कानुन बमोजिमको म्याद जारी गर्न मंगलबार आदेश दिइसकेको छ।
त्यही आदेशलाई आधार बनाएर अदालतले फरार रहेका बहालवाला नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीसहित३२ जनाकै हकमा म्याद जारी गर्ने तयारी गरेको हो। म्याद जारी गर्न प्रक्रिया अघि बढिसकेको जानकारी गौतमले दिए।
उनका अनुसार सुरुमा ७० दिनको म्याद जारी गरिन्छ। उक्त म्यादमा उपस्थित नभएमा वा म्याद गुज्रिएमा कावु बाहिरको परिस्थिति देखाइ आएमा फरार रहेका प्रतिवादीले ३० दिनको म्याद थाम्न पाउने गौतमले बताए।
'म्याद कटेपछि पनि प्रतिवादी उपस्थित भएर अदालती प्रक्रियामा सहभागी हुन सक्छन्,' उनले भने, 'म्याद कानुन बमोजिम तामेल भइ आउँदा पनि प्रतिवादी हाजिर नभए मुद्दाको अरु प्रक्रिया सुरु गरेर बाँकी कारवाही अघि बढाइन्छ।'
अदालतले म्याद जारी गर्ने तयारी गरिएका प्रतिवादीमा फरार रहेका बहालवाला एसएसपी भक्तपुर लोकन्थली बस्ने ५४ वर्षीय श्यामबहादुर खत्री, गोरेकी पत्नी उर्लाबारी ७ घर भई काठमाडौं महानगरपालिका ७ गौरीघाट बस्ने निरु भनिने नर्वदा खरेल उप्रेती, गोरेकी 'गर्लफ्रेन्ड' भोजपुरको षडानन्द नगरपालिका घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-३ गगननगर बस्ने आरबी भनिने रक्षा भण्डारी र ३३ वर्षीय रमेश उप्रेती छन्।
त्यस्तै फरार रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ का २७ वर्षीय सुरेन्द्र गौतम, झापा गौरादह नगरपालिका ८ का भोजे मामा भनिने भोजराज भण्डारी, झापा मेचीनगर नगरपालिका १३ का २९ वर्षीय रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ, सोलुखुम्बु दूधकुण्ड नगरपालिका ८ का ३० वर्षीय टुकबहादुर मगर, सिरहाको धनगढीमाई नगरपालिका १२ का रोहित आचार्य, मोरङ उर्लाबारी नगरपालिका ४ का भविन राई भनिने भविन तामाङ, सुनसरी धरान उपमहानगरपालिका २ का ३० वर्षीय कृष्ण बस्नेत, धरान ३ घर भई काठमाडौं २९ अनामनगर बस्ने एम के मामा भनिने मोहनकुमार अग्रवाल, काठमाडौं नागार्जुन नगरपालिका ३ बस्ने डा. डेविट भनिने छिरिङ् वाङगेल घले, धरान २ का सुनिलकुमार अग्रवाल, झापा शिवसतात्ती नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ४ बस्ने ४५ वर्षीय कालु, काले र किशन भनिने कृष्ण गोपाल अग्रवालका नाममा पनि म्याद जारी गरिँदैछ।
निमित्त श्रेस्तेदार गौतमका अनुसार काठमाडौं-९ स्थित एयरपोर्ट अगाडि बाजेको सेकुवा कर्नरका प्रोप्राईटर चेतन भनिने चेतनाथ भण्डारी, भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रालि न्यूरोडका संचालक काठमाडौं ३१ का प्रमोदकुमार श्रेष्ठ, सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ३२ वर्षीय बेनु श्रेष्ठ, काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका ४ का हरिशरण खड्का, बाग्लुङको काठेखोला गाउँपालिका ७ का कमल कार्की, काठमाडौं १६ का मणिराज चौलागाई, सिन्धुपालचोक त्रिपुरासुन्दरी गाउँपालिका १ जलजलेका शिवकुमार गुभाजु, धरान १ घर भई काठमाडौं ३१ शान्तिनगर बस्ने वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रालि न्युरोडका संचालक ५० वर्षीय सुनिल श्रेष्ठ, मोरङको सुनवर्षी नगरपालिका ६ का ३८ वर्षीय अर्जुनप्रसाद खरेल, पर्वतको पैयूँ गाउँपालिका ७ का ४१ वर्षीय रोशन भनिने गुप्तलाल भुषाल, .काभ्रेपलान्चोक बेथान चोक गाउँपालिका ४ का ४० वर्षीय रामहरि कार्कीका नाममा पनि म्याद जारी गरिंदै छ।
त्यस्तै कास्कीको लेखनाथ उपमहानगरपालिका २१ का प्रयाश पराजुली, सिन्धुपालचोक बलेफी गाउँपालिका ५ का संजय अधिकारी, बलेफी ५ कै समिर अधिकारी, वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रालि न्यूरोडकी संचालक धनकुटा नगरपालिका ४ की गीता श्रेष्ठ, मोरङको कानेपोखरी गाउँपालिका ४ का २६ वर्षीय माधव आचार्य र मोरङको सुन्दरहरैंचा २ का २७ वर्षीय ओमप्रकाश नेवारका नाममा पनि अदालतले म्याद जारी गर्दैछ।
सुन तस्करी र सनम हत्या काण्डमा जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत वैशाख १९ गते मुद्धा दर्ता गरिएको थियो।