'रूस-चीन सम्बन्ध इतिहासकै राम्रो'
सेन्ट पिट्सबर्ग : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रूसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन्।पुटिनले भने, ‘इतिहासमा नै रूस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ । रूस र चीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रूपमा लिइएको छ ।’ उनले चीनसँग रूसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक नभएको पनि बताएका छन् । उनले पछिल्लो समयमा रूस र चीन सम्बन्ध नयाँ उचाइमा पुगेको धारणा पनि राखेका छन्।
शनिबार सेन्ट पिटस्बर्गमा चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको एक अन्तर्वार्तामा उनले यस्तो धारणा राखेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ कांग्रेसपछि रूसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राखे । यस कांग्रेसपछि रूस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त कांग्रेसले सिर्जना गरेको उनले बताएका छन् । अन्तर्वार्ताका क्रममा उनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताएका छन् ।
उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रूसको पनि समर्थन रहेको पुटिनले स्पष्ट पारेका छन् । कोरियाको यस वार्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताए ।
चीनसँगको व्यापारिक सम्बन्धबाट आफू पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उनको भनाइ छ । उनले व्यापारिक सम्बन्धले पनि रूस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताए । रूस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राखे । उनले पछिल्ला केही वर्षहरूमा व्यापारको मात्रामा पनि वृद्धि भएको बताए । हाल रूस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।
प्रतिक्रिया दिनुहोस !