प्रदेशस्तरीय खुला लोकदोहोरी प्रतियोगिता
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा ५ नम्बर प्रदेशस्तरीय खुला लोकदोहोरी गीत प्रतियोगिता सुरु भएको छ। अर्घाखाँची कलाकार समाज काठमाडौंको आयोजनामा शनिबारबाट सुरु भएको प्रदेशस्तरीय खुला दोहोरी गीत प्रतियोगितामा ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका १२ टिमको सहभागिता छ।
अर्घाखाँचीमा रहेका लोक तथा सांस्कृतिक विशेषतालाई देश तथा विदेशमा चिनाउन र जिल्लामा रहेका कला र गलाको सम्मान गर्न प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष मधुसूदन बन्जाडेले बताए। प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ।
प्रतियोगिता उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महŒवपूर्ण अंग भएकाले यसको संरक्षणका लागि ध्यान दिनुपर्ने बताए। इतिहासको जगमा टेकेर लोकसंस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउँदै सांसद रायमाझीले देशको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।
प्रदेश सांसद चेतनारायण आचार्यले कलासंस्कृतिको माध्यमबाट जिल्लालाई चिनाउन यसप्रकारका कार्यले महŒवपुर्ण भूमिका खेल्ने बताए। अर्का सांसद रामजी घिमिरेले लोकसंस्कृतिका नाममा विकृति फैलाउन नहुनेमा जोड दिए।
कार्यक्रममा प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख पीताम्बर भुसाल, सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल लगायतले कला संस्कृतिको माध्यमबाट जिल्लालाई देशविदेशमा चिनाउन सहयोग पुग्ने बताउँदै यसको विकासमा लाग्न सबैलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !