इरान र भेनेजुएलामाथि अमेरिकाले लगाएको नाकाबन्दी भारतले नमान्ने
नयाँदिल्ली : भारतले इरान र भेनेजुएलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई निरन्तरता दिने भारतीय विदेशमन्त्री सुषमा स्वराजले सोमबार बताएकी छन् ।
अमेरिकाले ती दुवै देशविरुद्ध नाकाबन्दी लगाउँदै आएको छ । स्वराजले भनिन्, ‘हाम्रो आफ्नै विदेश नीति छ । अर्काको दबावमा परेर भारतले विदेश नीति बनाउँदैन ।’ अमेरिकाद्वारा इरान र भेनेजुएलामाथि लगाइएको प्रतिबन्धको प्रभाव भारतमा पनि पर्नेछ भन्ने प्रश्नको उत्तर दिँदै सुषमाले यस्तो धारणा समर्वजनिक गरेकी हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिना इरानसँगको आणविक सम्झौता नमान्ने भन्दै इरानविरुद्ध सन् २०१५ को सम्झौतापूर्व लगाइएका प्रतिबन्धलाई पुनः कार्यान्वयनमा लान निर्देशन दिएका थिए । वासिङटनले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएसँगै भेनेजुएलाविरुद्ध पनि आर्थिक प्रतिबन्धलाई कडा पारेको छ । यी दुबै मुलुकहरू भारतमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने प्रमुख मुलुकहरू हुन् ।
अमेरिकाले इरानसँग व्यापारिक सम्बन्ध राख्ने कुनै पनि विदेशी कम्पनी आफैंले सजाय पाउने छन् भनी यस पहिल्यै चेतावनी दिएको थियो । भारतले आफ्नो देशले प्रगतिरोधक नीतिमा विश्वास नगर्ने र विदेशी मुलुकबाट शासित नहुने भारतीय विदेशमन्त्री स्वराजले स्पष्ट पारेकी छन् ।
भारतले आफ्नो विदेश नीतिलाई विदेशी दबावमा परेर नबनाउने बताउँदै पत्रकार सम्मेलनमा भनिन्, ‘हामीले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई मान्छौँ तर कुनै राष्ट्र विशेषको प्रतिबन्धमा विश्वास गर्दैनौं ।’ भारतीय विदेशमन्त्री स्वराजको भारत भ्रमणमा रहेका इरानी समकक्षीसँग सोमबार हुने भेटभन्दा केही पहिले सञ्चारकर्मीसँगको कुराकानीमा उक्त भनाइ आएको हो ।
भारत र इरानबीच सन् २०१६÷०१७ मा १२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो । भारतले समयमा १० अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान, खासगरी कच्चा पेट्रोलियम पदार्थ आयात गरेको थियो भने २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको थियो । भारतको इरानसँग पेट्रोलियम पदार्थबाहेक इरानमा चाबहार बन्दरगाह बनाउने प्रतिबद्धताका कारण पनि विशेष चासो रहेको छ ।
उक्त बन्दगाहबाट भारतले आफ्नो प्रतिस्पर्धी छिमेकी मुलुक पाकिस्तान नभइकन गल्फसँग व्यापारिक मार्ग खुलाउन चाहन्छ । भारतले इरानमाथिको अमेरिकी प्रतिबन्धको रापबाट रुपैयाँ र रियालबाट व्यापारिक कारोबारको मार्ग प्रशस्त पनि गर्न चाहेको छ । भारतीय विदेशमन्त्री स्वराजले इरानकासाथै भेनेजुयलासँगको कारोबारलाई समेत जारी राख्ने बताए पनि भेनेजुयलाले लागू गरेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) लाई भने भारतीय केन्द्रीय बैंकले रोक लगाएकाले कुन माध्यमबाट व्यापारिक गतिविधि अघि बढाउने भन्नेमा अझै निर्णय भएको छैन । उनले भनिन्, ‘हामीले क्रिप्टोकरेन्सीको विकल्प के हुन सक्छ यसबारे सोचिरहेका छौँ ।’