उत्तर कोरियाली अधिकारी अमेरिकामा
वासिङटन : उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिंगापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार कोरियाली उच्च पदस्थ अधिकारी किमसँग गर्ने भनिएको शिखर वार्ताको तयारीका लागि छलफल गर्न न्युयोर्क आउँदै गरेको ट्विटर सन्देशमार्फत जानकारी गराएका छन् । ट्रम्पले लेखेका छन्, ‘हामीले उत्तर कोरियासँगको शिखर सम्मेलनका लागि एउटा समूह बनाएका छौँ । शिखर सम्मेलन तथा विविध विषयलाई लिएर सम्बन्धित पक्षसँग छलफल भइरहेको छ ।’
शिखर सम्मेलनको तयारीका सन्दर्भमा उत्तर कोरियाको वर्कर्स पार्टीका उपाध्यक्ष किम योङ चोलले आफ्नो पत्रको ठोस प्रतिक्रिया जनाउँदै न्युयोर्कतर्फ आएकोमा धन्यवाद व्यक्त गर्न चाहेको ट्रम्पले जनाएका छन् । उत्तर कोरियाका ती सैनिक जर्नेल मंगलबार चीनको बाटो हुँदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीले जनाएका छन् । उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि जनाइएको छ । वार्ताको तयारीकै क्रममा ती अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक मानिएको छ । यसले वार्ताका लागि तयारी लगायतका अरू कार्यमा सहजता थप्ने अनुमान छ । जर्नेल किम मंगलबार चीनमा भेटघाटमा व्यस्त रहेका थिए । उनले चिनियाँ अधिकारीसँग यस विषयमा छलफल गरेका थिए ।
अमेरिकी र उत्तर कोरियाली अधिकारी सिंगापुरमा
यसैबीच उत्तर कोरियाली उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार सिंगापुर पुगेको छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दूतका रूपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारी सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ । उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम र केही अमेरिकी अधिकारीहरू पनि त्यहाँ पुगेका हुन् ।
मंगलबार केही अमेरिकी उच्च अधिकारी पनि सोमबार राति जापान हुँदै सिंगापुर पुगेका थिए । अमेरिकी अधिकारीको नेतृत्व ह्वाइट हाउसका उपसचिव जोय हाजिनले गरेका छन् । दुई नेताबीचको शिखर वार्ताअघि ती दुई देशका अधिकारीले संयुक्त रूपमा अग्रिम तयारीका काम गर्नेछन् । आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने कार्यक्रम छ । यस शिखर वार्ताको सिंगापुरको विदेश मन्त्रालयले यसअघि पुष्टि गरेको छ । यस वार्ताबारे विश्वमै निकै ठूलो चासो फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस !