मेसीको ह्याट्रिक
बुयनस आयर्स : विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले बुधबार बिहान खेलिएको अभ्यास खेलमा हाइटीलाई ४–० गोलको फराकिलोअन्तरले हराएको छ । पाहुना टोलीमाथि रवाफिलो खेल खेलेको अर्जेन्टिनाको जितमा लियोन मेसीले ह्याट्रिक गरेका थिए । अर्को गोल सर्जियो एग्वेरोले थपे । १७औं मिनेटमा पेनाल्टीमार्फत सुरुवाती गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
मेसीले १७औं मिनेटमा पाएको पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गरेका थिए । मेसीको पहिलो हेड प्रहारमा डीबक्सभित्र रहेका हइटीका जोनी प्लेसिडले ह्यान्ड गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको मौका दिएका थिए । त्यसपछि मेसीले दोस्रो हाफमा लगातार दुई गोल थपे । उनले ५८औं र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ६९औं मिनेटमा एग्वेरोले अर्को गोल थप्दै टोलीलाई फराकिलो जित दिलाए ।
खेलभर अर्जेन्टिनाको दबाब झेलेको हइटीले गोल गर्न लायक अवसर बनाउन सकेन । आगामी विश्वकपको समूह ‘डी’ मा रहेको अर्जेन्टिनाले जुन १६ तारिखमा आइसल्यान्डसँग पहिलो खेल खेल्नेछ । उक्त समूहमा अर्जेन्टिना र आइसल्यान्डसँगै कोस्टारिका र नाइजेरिया पनि छन् । बुधबार बिहान नै खेलिएको अर्को खेलमा पेरुले स्कटल्यान्डलाई २–० गोलले हरायो ।
रुस विश्वकपको समूह ‘सी’ मा रहेको पेरुले अहिले विशेष तयारी गरिरहेको छ । घरेलु मैदानमा खेलिएको खेलमा पेरुका लागि क्रिस्टियन क्युभाले ३७औं मिनेटमा पेनाल्टीमार्फत सुरुवाती गोल गरे । दोस्रो गोल ४७औं मिनेटमा इफर्सन फरफानले थपेका थिए । पेरुको समूहमा फ्रान्स, अस्ट्रेलिया र डेनमार्क रहेका छन् । पेरुले जुन १६ तारिखमा डेनमार्कसँग पहिलो खेल खेल्नेछ ।
यसैगरी अर्को मैत्रीपूर्ण खेलमा पानामा र उत्तरी आयरल्यान्डले गोलरहित बराबरी खेले । पानामाले रुस विश्वकपमा समूह ‘जी’ बाट प्रतिस्पर्धा गर्दैछ । उक्त समूहमा इङ्ल्यान्ड, ट्युनिसिया र बेल्जियम परेका छन् ।