खर्च भएन दाताको बजेट

खर्च भएन दाताको बजेट

 फिदिम : डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति समावेशी वृद्धि कार्यक्रमअन्तर्गत करोडौंका पूर्वाधार निर्माणत योजना लथालिंग बनेका छन्।

निर्माण कम्पनीले समयमै काम नगर्दा योजना लथालिंग बनेका हुन्। अब एक महिनाभित्र काम नसकिए संस्थाको मोटो रकम फिर्ता हुने अवस्था छ। ‘यो कार्यक्रम नै हट्ने अवस्थामा छ’, उन्नति कार्यक्रम पाँचथरका पूर्वाधार विज्ञ राजेश गिरीले भने, ‘असार १५ गतेभित्र योजनाको काम नसकिए पैसा फिर्ता जान्छ।’

संस्थाले ११ योजनामा ४५ करोड २० लाखभन्दा बढी रकम लगानी गरेको छ। समय सकिनै लाग्दा ५० प्रतिशत पनि खर्च भएको छैन। अहिलेसम्म २० करोड ६३ लाख रुपैयाँबराबरको मात्र काम भएको गिरीले सुनाए।

कृषि उत्पादनलाई सहज रूपमा बजारीकण गर्ने उद्देश्यले यो संस्थाले सडक र पुल निर्माणमा लगानी गरेको थियो। अदुवा, अलैंची, चिया र दूध वितरणका लागि सडक र पुल निर्माणसमेत अघि बढाइएको थियो। तर, प्रायः काम अधुरा देखिएका छन्।

‘दातृ निकायको सहयोगलाई सदुपयोग गर्न नसक्दा नकारात्मक सन्देश जान्छ’, पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘गलत सन्देश नजाओस् भनेर निर्माण कम्पनीलाई काम गर्न दबाब दिइरहेका छौं।’

जिल्ला प्राविधिक कार्यालयको निगरानीमा पूर्वाधार निर्माण भइरहेको हो। निर्माण कम्पनीलाई पटक–पटक सुझाव र दबाब दिँदा पनि काम नभएको प्रमुख जिल्ला इन्जिनियर जयराम श्रेष्ठको गुनासो छ। ‘कुनै पनि हालतमा पूरै काम नसकिने भो’, उनले भने, ‘८० प्रतिशतसम्म काम भयो भने केही हदसम्म सडक सञ्चालन हुन्छ।’

समयमा काम नसक्ने कम्पनी

काहुले–एकतीन–मेमेङ सडकको पहिलो खण्ड र दोस्रो खण्डमा गौरीपार्वती मृतसञ्जीवनी जेभीले काम गरेको हो। ७ करोड ७६ लाख ६८ हजार रुपैयाँ बजेटको पहिलो सडकखण्डको काम ७० प्रतिशत मात्र भएको छ। ७ करोड ५६ लाख ६५ हजार बजेटको दोस्रो सडकखण्डमा ४० प्रतिशत भौतिक प्रगति भएको छ।

पाँचथरमा डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन पूर्वाधार योजना एक महिनाभित्र नसकिए मोटो रकम फिर्ता हुने अवस्था।

गजुरमुखी निर्माण कम्पनी इलामले पनि दुईवटा योजनाको जिम्मा लिएको थियो। ४ करोड २९ लाख ५० हजार बजेटको काहुले–चरी भञ्ज्याङ–ओयाम सडकको ४५ प्रतिशत मात्र काम भएको छ। ७ करोड ९९ लाख १५ हजार बजेटको सुम्निमा चोक–रानीटार सडकको काम ६० प्रतिशत मात्र सम्पन्न भएको छ।

४ करोड ६९ लाख २ हजार बजेट रहेको सप्तमी–सराङडाँडा सडकको काम काम पूरा भएको छ। त्यस्तै, २ करोड ३६ लाख ५५ हजार बजेटमा खेवाथाम खोला पुलको काम ९५ प्रतिशत पूरा भएको जनाइएको छ। पुलको सबै काम एक महिनाभित्र सम्पन्न गरिने देव एन्ड सायर पाथीभरा सरोज जेभीका केदार बाँस्कोटाले बताए।

अन्तिम समयमा आएर निर्माण कम्पनीलाई काम सक्न दबाब बढाइएको छ। कतिपय कम्पनीले कामलाई तीव्रता दिए पनि गुणस्तरीय नभएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। ‘मर्मतका नाममा सडकलाई झन् बिगारिएको छ’, एकतीका मेदनी खत्रीले भने, ‘अघिल्लो वर्ष बाहै्र महिना गाडी गुडेको सडकमा यो वर्ष मुस्किल छ।’

उपभोक्ता समितिमार्फत गरिएका योजना भने पूरा भएका छन्। ७० लाख १९ हजार लागतमा उपभोक्ता समितिमार्फत गरिएको जोरपोखरी–काहुले सडक मर्मत भने पूरा भएको छ। १ करोड ५६ लाख ३२ हजार बजेटको जोरपोखरी–काहुले सडकको दोस्रो खण्डको ६० प्रतिशत मात्र काम भएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.