शारदाको चार वर्ष
शारदा शर्माको ‘त्यो समय’ २०६१ सालको असोजदेखि २०६५ साल भदौसम्मको डायरीको रूपान्तरित रूप हो। नेपालको राजनीतिक उथलपुथलको समय थियो त्यो। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको र राजतन्त्र नै समाप्त भएको अवधि हो त्यो। तत्कालीन नेकपा माओवादी संसदीय मूलधारमा प्रवेश गरेको समय पनि यही हो। यही अवधिमा नेपालमा पहिलोपटक संविधानसभाको चुनाव भयो। यो चार वर्ष लेखक दिल्लीस्थित एक अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिइन्। पुस्तक मुख्य रूपले लेखकका पति नरहरि आचार्यसँग जोडिएको नेपालको राजनीतिको अंश र लेखकको भारत बसाइ काल समेतको अनुभूतिहरूमा केन्द्रित छ। त्यसबाहेक लेखकले कामको सिलसिलामा सँगालेका केही अनुभव र पारिवारिक प्रसंग पनि पुस्तकमा समावेश छन्।
नेपाली कांग्रेसमा गणतन्त्रको नारालाई अजेन्डाको रूपमा प्रवेश गराउने श्रेय नरहरि आचार्यलाई दिइन्छ। सभापति कोइरालालगायत अन्य केन्द्रीय सदस्यहरूको असहयोगका बीच आचार्य आफ्नो विचारमा अडिग थिए। राजनीतिको खिचातानीले अन्ततः नेपाली कांग्रेस आफ्नो विधानमा रहेको संवैधानिक राजतन्त्रको व्यवस्थालाई झिकेर गणतन्त्रलाई प्रवेश गराउन बाध्य भयो। तर, यो परिवर्तन नरहरिको प्रस्तावलाई अगाडि बढाएर भएन, स्वयं गिरिजाप्रसादको प्रस्तावका रूपमा गयो। कांग्रेस र सिंगो मुलुक गणतन्त्रमय हुँदा आचार्य मूलधारमा कतै थिएनन्। पतिलाई मूलधारको राजनीतिबाट अलग्याइएको कुरालाई लिएर लेखकले पुस्तकमा विस्तृत चर्चा र गुनासो गरेकी छन्।
संस्मरण भनेको घटनाहरूको सेरोफेरोमा व्यक्तिको निजी अनुभूति नै हो। लेखक शर्मा नेपाली साहित्यमा परिचित नाम हो। उनका उपन्यास, कविता र यात्रा संस्मरणहरू पाठकमाझ लोकप्रिय छन्। राजनीतिलाई नजिकबाट हेर्ने, भोग्ने अवसर पाए पनि उनका किताबहरू राजनीतिक विषयवस्तुबाट झन्डैझन्डै अछूतजस्तै हुन्थे। तर, पछिल्लो समय उनको लेखनीलाई राजनीतिले प्रभावित तुल्याउन थालेको छ। दुई वर्षअघि प्रकाशित उपन्यास ‘कम्प’ पनि राजनीति प्रेरित नै थियो।
पारिवारिक गथासो
पतिको नियमित आम्दानीको स्रोत नभएकाले घर चलाउने मुख्य जिम्मा आफूमा भएकाले शर्मालाई जागिरको आवश्यकता थियो। छोरीहरूलाई अस्ट्रेलिया पढ्न पठाएकाले पनि आम्दानीको ठूलै स्रोत चाहिएको थियो। यही मेसोमा दिल्लीस्थित एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जागिर दियो। ‘घरबाट बाहिरसमेत हम्मेसी ननिस्कने स्वभावकी’ उनी कमाउनकै लागि बिदेसिइन्। पुस्तकको प्रारम्भ परदेशमा एक्लै बस्नुपर्दा र अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग स्पर्धा गरेर आफूलाई सक्षम साबित गर्न खोज्दाका कठिनाइमा केन्द्रित छ। त्यही समय नरहरि आचार्यलाई राजा ज्ञानेन्द्रको शासनले हिरासतमा राखिदियो। छोरीहरू अस्ट्रेलियामा, आफू दिल्लीमा र पति हिरासतमा अज्ञात रहँदाको त्रिकोणात्मक परिस्थितिले निम्त्याएको द्वन्द्वलाई पुस्तकमा सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ।
संस्मरणभित्र लेखकले छोरीहरूसँगको सम्बन्धलाई पनि प्रशस्त स्थान दिएकी छन्। नेपाली परम्परागत मनोविज्ञान र संस्कारमा हुर्केकाले लेखकमा पश्चिमी जीवनशैलीसँग आकर्षण थिएन। तर, छोरीहरू पश्चिमा हावापानीसँग जोडिएकाले आफूले रोजेको केटासँग विवाह गर्न पाउनुपर्ने, विवाहअघि सँगै बस्न पाउनुपर्ने जस्ता विचार प्रस्तुत गर्थे। छोरीहरूको स्वतन्त्र जीवनशैलीले कतै तिनका पिताको राजनीतिमा त असर पर्दैन भन्ने डर लेखकलाई थियो।
घरेलु राजनीति
राजनीति पुस्तकको मुख्य मुद्दा हो। गणतन्त्रको अजेन्डामा असहयोग गर्ने व्यक्तित्वहरू नै पछिल्लो समय गणतन्त्रकालीन नीतिनिर्माता बनेको तर नरहरि किनारीकृत बनाइएको कुरा उनलाई खट्किराखेको छ। गणतन्त्रका कर्ताधर्ता बनेका तिनीहरू नरहरि जेल पर्दा आफू पनि फसिन्छ कि भनेर सहानुभूतिसमेत देखाउन हिच्किचाउँथे। मानवअधिकारवादी भनिएका व्यक्ति पनि नरहरिसँग सम्पर्क गर्नबाट जोगिन खोज्थे।
गिरिजाप्रसाद कोइरालासँग द्वन्द्व गरेर नरहरिले आफूलाई अप्ठेरोमा पारेको शारदाको निष्कर्ष छ। त्यसैले दिल्लीमा गिरिजाप्रसादसँग भेट हुँदा उनले आफूलाई कुनै सहयोग नचाहिएको, तर नरहरिलाई राजनीतिमा मौका दिनुपर्ने धारणा व्यक्त गरेकी थिइन्। तर, नरहरिलाई गिरिजाले कहिल्यै अनुग्रह गरेनन्। संविधानसभाको चुनावमा नरहरिले टिकट त पाए तर शारदालाई संविधानसभामा नरहरि चाहिन्छ भन्ने आशयले त्यो टिकट दिइएको भन्नेमा विश्वास थिएन। सबैको सहयोग र व्यक्तिगत लोकप्रियता समेतका कारण नरहरि विजयी त भए, तर पार्टीको रवैया उत्साही थिएन।
नेपालको राजनीति गिजोलिएको त्यो समयमा नेपालका नेताहरूको दिल्ली आवतजावत बाक्लिएको थियो। दिल्ली पुगेका विभिन्न व्यक्तित्वसँग लेखकले गरेका भेटघाटले पुस्तकमा स्थान पाएका छन्। नेपालको राजनीति र नरहरिको रिहाइ नै चर्चाको मुख्य विषय थिए त्यो बेला। थुनामा परेका सबै नेताको रिहाइ भइसक्दा पनि नरहरिको रिहाइ भएको थिएन। नरहरि रिट हालेर वा कुनै पनि तरिका अपनाएर रिहा हुन मानिरहेका थिएनन्। लेखकका अनुसार नेपाली कांग्रेसभित्र गणतन्त्रको आवाज बुलन्द पारेका कारण पनि राजा ज्ञानेन्द्र नरहरिसँग रुष्ट थिए। केही समय त नरहरिलाई कहाँ राखिएको छ भन्नेसमेत पत्तो थिएन।
यौन हिंसा ?
यौन हिंसाका प्रसंगहरूलाई लेखकले सहज ढंगले उल्लेख गरेकी छन्। पतिको राजनीति र कामका कारण उनका पुरुष मित्रहरू प्रशस्तै देखिन्छन्। विभिन्न पुरुषहरूको संगतका क्रममा उनले प्रच्छन्न यौन हिंसाको सिकार हुनु परेको पनि देखिन्छ। त्यस्ता घटनालाई उनले तटस्थ भावले उल्लेख मात्र गरेकी छन्, कुनै संज्ञा दिएकी छैनन्। पार्कहरूमा बूढाहरूका आँखा पनि स्त्रीका छातीतिर ताकिएका देखेकी छन् उनले। उनको अनुभव छ, ‘धेरैले शिष्ट देखिएरै अशिष्ट हर्कत गर्छन्।’ दिल्ली अफिसकी निर्देशककी सक्रेटरीका श्रीमान् अशोक माथुरसँग बजार जाँदाको एउटा प्रसंग लेखकले उल्लेख गरेकी छन्, ‘भीडहरूमा तथा बाटो काट्दा मेरा पाखुरा र पिठ्यूँमा रक्षात्मक तवरले नजानिँदो गरी बारम्बर स्पर्श गरिरहेको मलाई अनौठो लागे पनि नराम्रोचाहिँ लागिरहेको थिएन।’
खुट्टा मर्केर फिजियोथेरापिस्टकहाँ उपचार गराउन जाँदा फिजियोथेरापिस्ट ‘खुट्टाको पञ्जाको उपचार गर्दा पिँडुलातिर पनि सुम्सुम्याउन’ पुग्दा रहेछन्। बंगलादेशको चटगाउँमा भेटेर औपचारिक परिचय भएका गणेश थापाले राति २ बजे फोनमा मेसेज पठाएको र भोलिपल्ट कल पनि गरेको प्रसंगलाई पनि उल्लेख गरेकी छन् लेखकले। अन्यत्र पनि केही पुरुषहरू अनावश्यक रूपले नजिक हुन चाहेका रहेछन्। खासगरी सुन्दर अनुहारप्रति पुरुषको अतिरिक्त आकर्षण रहने गरेको तर्फ लेखकको अनुभव छ। सहकर्मी महिला साथीहरू पनि कुराकानीका क्रममा उनको सुन्दरता र पुरुषसँगको सम्बन्धबारे जान्न उत्सुक रहन्थे।
छोरीहरू अस्ट्रेलियामा, आफू दिल्लीमा र पति हिरासतमा अज्ञात रहँदाको त्रिकोणात्मक परिस्थितिले निम्त्याएको द्वन्द्वलाई पुस्तकमा सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ।
पुरुष मित्रहरूसँग उनको सम्बन्ध सौहार्द नै रहेको देखिन्छ। दिल्लीमा रहँदा पीएल सिंह राति १२ बजे पनि आइदिँदा रहेछन् र २ बजेसम्म कुरा गरेर बसिदिँदा रहेछन्। कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले भने एकपटक अनपेक्षित हरकत प्रदर्शन गरेछन्। भट्टराईले पछाडिबाट अँगालो हाल्दै कम्मरमा चिमोटेर ‘एकपटक त हामीलाई पनि चान्स दिनुस् न’ भनेको कुरा कुनै पनि हालतमा भद्र हुँदै होइन। अस्वाभाविक लागे पनि यो हर्कतलाई उनले भट्टराईको ‘विनोदी’ स्वभाव बताएर थप टिप्पणी गरेकी छैनन्। तर, यसले भट्टराईको उच्छृंखल व्यवहारबारे चल्ने गरेको हल्लालाई पुष्टि भने प्रदान गरेको छ।
कांग्रेसका नेतामध्ये गिरिजाप्रसाद कोइरालासँग आचार्य परिवारको बढी उठबस हुने गरेको देखिन्छ। कोइरालालाई आचार्यकहाँ चुरोट खाने स्वतन्त्रता थियो (जब कि अरूलाई त्यो छुट थिएन), कोइराला जुत्ता नखोली आचार्यको घरको चोटा–कोठा जता पनि जान सक्थे (जब कि यो सुविधा अरू कसैलाई थिएन), कोइरालालाई चिया दिने छुट्टै कप नै किनिएको थियो आदि। लेखकका अनुसार छोरी अस्ट्रेलिया जाने बेला कोइरालाले ‘केही’ सहयोग पनि गरेका थिए। बाबुको उमेरका कोइरालाले दिल्लीमा अलि अस्वाभाविक हर्कत देखाएछन्। कोठाको ढोका बन्द गरेर आफूसँगै बसाएर अँगालो हाल्ने, हात र कपालमा सुम्सुम्याउने, निधारमा म्वाइँ खाने जस्तो हरकत सामान्य लाग्दैनन् पनि। कोइराला काठमाडौंमा पनि लेखकलाई हरेकपटक केही न केही उपहार दिने गर्दा रहेछन्। सामान्य दृष्टिले हेर्दा कोइरालाका यी गतिविधि यौनप्रेरित नै लाग्छन्। चित्त नबुझे पनि लेखकले यी घटनालाई यौनप्रेरित नै थियो भनेर व्याख्या गरेकी छैनन्। छोरी सरहकी आफूलाई व्यक्त गरेको यो स्नेहलाई उनले त्यही रूपमा ग्रहण गर्न खोजेको देखिन्छ। बाहिरियाको दृष्टिबाट हेर्दा कोइरालामा दमित यौनेच्छा थियो होला भन्ने अनुमान गर्नचाहिँ सकिन्छ। त्यसबाहेक कोइराला ऐकान्तिकता र आफ्ना कार्यकर्ताहरूबाट एक प्रकारको स्वार्थप्रेरित गतिविधिबाट दिक्क भएका देखिन्छन्। शर्मामार्फत उनले आफ्नो कुण्ठा र दिग्दारीलाई विरेचन गरेका हुन सक्छन्।
लेखकको उद्देश्य व्याख्या गर्नुमा भन्दा निरपेक्ष अवोलकन गर्नुमा बढी देखिन्छ। उनका अन्य लेखाइमा पनि देखिने निस्पृहता, उदासिनता र निर्लिप्तझैं लाग्ने दार्शनिक चिन्तनले उनलाई थप टिप्पणी गर्नबाट रोकेको हुन सक्छ। सायद यिनै प्रसंगहरूलाई उठाएर पाठकहरूले ‘छाला काढ्न’ सक्नेछन् भन्ने अनुमान गरेकी पनि छन्। विभिन्न टीकाटिप्पणी हुन सक्नेतर्फ आफू सजग भएको पनि संकेत गरेकी छन्। उनी आफूलाई ‘आगोले पोल्छ भन्ने जान्दाजान्दै पनि आगोसँग खेल्ने प्राणी’सँग तुलना गर्छिन्।
अन्य प्रसंग
यो अवधिमा उनलाई दिल्ली र त्यसका वरिपरिका क्षेत्र, भोपाल, कोलकाता, मुम्बई, गोवा, सिमला आदि सहरहरू र थाइल्यान्ड, बंगलादेश आदि देश पनि घुम्ने अवसर मिल्यो। कामसँग सम्बन्धित भएकाले विभिन्न ठाउँका यौनकर्मी महिला र तिनका गतिविधिलाई पनि अवलोकन अध्ययन गर्न पाइन्। यौनबजारका गतिविधि र यौनकर्मीहरूको अभिव्यक्तिले मनमा पारेको प्रभावलाई उनले मार्मिक ढंगले प्रस्तुत गरेकी पनि छन्। त्यस्तै पतिको अव्यावहारिक गतिविधिले सामान्य जीवनमा पारेको प्रभाव, काठमाडौं घरमा भएको चोरी, भाइको पारिवारिक जीवन, चुनावमा खट्दाका अनुभव विविध कुराहरूको यथाक्रम धेरथोर चर्चा पुस्तकमा परेका छन्।
समस्या र कमजोरी
पर्याप्त सम्पादन नहुनु पुस्तकको ठूलो कमजोरी हो। डायरीलाई सुधार गरेर संस्मरणको रूपमा प्रस्तुत गरिएकाले त्यसका अवशेष प्रशस्त छन्। अघिल्लो भागमा जति मेहनत गरेको देखिन्छ, पछिल्लो भागतिर पुग्दै गर्दा त्यो पातलिँदै गएको छ। डायरीका अंशलाई जस्ताको तस्तै पनि राखिएका छन्। परिणामस्वरूप पुस्तक न डायरी, न संस्मरणात्मक निबन्ध बनेका छन्। डायरीका अंशमा पनि मिति एकै रूपले लेखिएको छैन। कतै महिना र साल मात्र दिइएको छ। कतै मिति छैन, तर ‘आज’ भनिएको छ। एउटै अनुच्छेदमा अघिल्लो वाक्य भूत कालमा र सँगैको वाक्य वर्तमान कालमा व्यक्त गरिएको छ।
पुस्तकका अनुसार, लेखक कोलकाताभन्दा पहिले ढाका गएको बुझिन्छ। तर, ढाकामा ‘कोलकातामा भन्दा धेरै रिक्सा’ (पृ. १३४) रहेछन् भनेर तुलना गरिएको छ। देख्दै नदेखेको सहरसँग ढाकाको तुलना गर्नु उपयुक्त लाग्दैन। सन् २००५ मा कोलकाता भ्रमण गर्दा ज्योति वसु मुख्यमन्त्री थिए (पृ. १७५) भन्ने उल्लेख छ। जबकि वसु त्योभन्दा पहिल्यै राजनीतिक परिदृश्यबाट हराइसकेका थिए। पृ. २३२ मा ज्ञानेन्द्रलाई फ्रान्सका लुईसँग तुलना गरिएको छ। लुई मात्र नभनेर लुई सोह्रौं पनि भनिदिएको भए प्रस्ट हुन्थ्यो। पृ. २४८ मा लाक्षागृहबाट भाग्दै गरेको पाण्डवहरूको प्रसंग छ। त्यो समय पाण्डवहरूको द्रौपदीसँग विवाह भएकै थिएन। त्यसैले ‘द्रौपदीलाई लिएर रातारात भागेको’ भन्ने कुरा यहाँ मिलेन। हरिद्वारको ‘हर की पैडी’लाई ‘हर की पौडी’ (पृ. २६२) भएको छ। यसबाहेक पनि शुद्धाशुद्धिका समस्या प्रशस्त छन्। ‘पुने’ र ‘पुणे’ छ्यासमिस भएका छन्। कुराहरू दोहोरिएका छन्, जुन सजग सम्पादनबाट सजिलै हट्न सक्थ्यो। ‘निकै पहिला नै तयार भइसकेको’ (पृ. २८) दाबी गरिए पनि पुस्तकको स्वरूपले हतारहतार प्रकाशित गरेको पुष्टि गर्छ।
निष्कर्ष
पुस्तकको शीर्षक र त्यसभित्रको विषयवस्तुले स्वाभाविक रूपमा इतिहासको कुनै कालखण्डको संकेत गर्छ। त्यस अर्थमा पुस्तकलाई त्यो समयको अभिलेख ठान्नु स्वाभाविक हो। तर, त्यो अभिलेखमा निजी जिन्दगीका थुप्रै प्रसंग मिसमास भएका छन्। लेखकको ठम्याइ कति आधिकारिक हो भन्ने प्रश्न पनि उठ्न सक्छ। जस्तो कि, माओवादीसँगको बाह्रबुँदे सम्झौतामा हस्ताक्षर कहाँ भएको थियो भन्ने कुरा बाझिएका छन्। सार्वजनिक चासोका विषय छाडेर नितान्त निजी गतिविधि र अनुभव उत्तिकै महŒवपूर्ण नलाग्न सक्छन्। पुस्तकको भाषा सुन्दर र आकर्षक छ। निजात्मक अनुभूति भएकाले भाषामा अनौपचारिकता बढी छ। जीवनका अन्तरंग प्रसंगको चर्चाले पाठकलाई बाँधिराख्छ। संस्मरण विधाकै झन्डैझन्डै यस्तै शीर्षकका धेरै किताबको लहरमा उस्तै प्रतिध्वनि हुने शीर्षकले नवीनताको आभासचाहिँ दिँदैन। कतिपय घटनालाई लेखकले बिनासंकोच उल्लेख गरेकाले अरू लेखकका लागि यो किताब प्रोत्साहन बन्न सक्छ।
लेखक : शारदा शर्मा
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : ३५२
मूल्य : ४४५