तटबन्ध बनेपछि जोगबुढा पीडितको बस्ती जोगिने आशा
दोधारा–चाँदनी ः कञ्चनपुरको महाकाली नगरपालिका ३ भैरव टोलका बलवहादुर सुनार हरेक वर्ष खेतीपाती सकेर कामको खोजीमा भारत जान्छन् । उनलाई भारतमा कामको खोजीभन्दा पनि घरको बढी चिन्ता हुने गथ्र्यो ।
घर छेउमा बगिरहेको जोगबुढा नदीले धेरैलाई बेघर बनाई सकेकाले उनलाई पनि आफ्नो घर कहिले बगाउने हो भन्ने चिन्ता भइरह्न्थ्यो । तर यसपाली भने उनी ढुक्क भएर काम गर्ने भएका छन् । उनको घर छेउमा तटबन्ध निर्माण भइरहेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति अन्र्तगत जल उत्पन्न प्रकोेप व्यवस्थापन डिभिजन कार्यालय धनगढीले तटबन्ध निर्माणको काम गरेको हो ।
‘म कामका लागि भारत हुँदा पनि वर्षायाममा घरकै चिन्ताले पिरोल्ने गथ्र्यो, वर्षा भयो भने घरकै चिन्ता, अनी फोन गरेर सोधी हाल्नुपर्ने की नदी कहाँ सम्म पुग्यो भनेर,’स्थानीय बलवहादुर सुनारले भन,‘अहिले जोगबुढा नदीमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेकाले अब बाढीको असरबाट जोगिन्छ भन्ने आशा जागेको छ’।
भारतको उत्तराञ्चलको चम्पावत र उधमसिहनगर जिल्लाको सीमाना छुट्याउदै जोगबुडा नदी महाकाली पारीका गाउँ दोधारा चाँदनी पस्छ । भारतबाट आउने नदीले वर्षेनी नेपालीहरुलाई डुवानमा पार्दै आएको छ । महाकाली नगरपालिका वडा नम्बर १ देखि कुतियाकवरसम्म कै क्षेत्रसम्म प्याकेजमा तटबन्ध निर्माणको काम भइरहेकाले स्थानीयमा बस्ती जोगिने आशा पलाएको हो ।
‘उत्तरतिर जिरो प्वाइन्ट राखेर तटबन्धको काम भइरहेको छ, यसले अब यो क्षेत्रमा बाढीले पुर्याउदै आएको असर कम होला भन्ने लागेको छ,’ महाकाली नगरपालिका ३ का वडाअध्यक्ष पुष्करराज जोशीले भने । उनले तटबन्ध निर्माण हुनु अघि बस्ती जोगिने आशै नभएको बताए ।
्जोगबुढा नदीमा तटबन्ध निर्माण भएसंगै स्थानीयले अब बस्ती जोगिने भन्दै पक्की घर समेत निर्माण गर्न थालेका छन । ‘पहिले तटबन्ध निर्माण नहुँदा उठिबास हुने डर थियो, कच्ची घर मात्रै थिए, अहिले पक्की घर समेत बन्न थालेका छन्’ जोशीले भने । जोगबुढा नदीले धेरै घरपरिवारको जमिन बगरमा परिणत गरेर सुकुम्बासी बनाई दिएको छ ।
भारतको बनबासाको पश्चिम भएर बग्ने जोगबुढा नदी दोधारा चाँदनी पसेपछि महाकाली पारिको गाउँलाई पनि डुबाईदिन्छ । महाकाली पारिको पनि जोडबुढाको पारीको बस्तीमा करिब ३ हजार घरधुरीको बसोबास रहेको छ । ‘हामी सधै वर्षातमा राति नसुतेरै दिन काट्दै आएका थियौं,’ स्थानीय अहिमान सिंहले भने ,‘अब तटबन्ध निर्माणसंगै यस क्षेत्रका बस्तीहरु जोगिन्छन् भन्ने लागेको छ’ । उनले जोगबुढा नदीमा निर्माण सुरु भएको तटबन्ध निर्माणको कामबीचमै नरोकिदिन आग्रह गरे ।
जोगबुढा नदीले माहाकाली नगरपालिकाको १,२,३,६,७,८,९ र १० नम्बर वडामा क्षति पु¥याउँदै आएको थियो । ‘ठूलो गुरुयोजना बनाएरै हामीले तटबन्ध निर्माणको कामलाई अघि बढाएका हौंं,’ जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय धनगढीका प्रमुख रणबहादुर वमले भने । ‘१ अर्ब ४६ करोडको गुरुयोजना तयार पारेर हामीले मन्त्रालयमा बुझाइसकेका छौं, तर अहिलेसम्म गुरुयोजना स्वीकृत भने भइसकेको छैन् ।’
कार्यक्रम अन्र्तगत अहिलेसम्म ४ किलोमिटर तटबन्ध मात्रै निर्माण भएको छ भने थप ७ किलोमिटर तटबन्ध निर्माणको ठेक्का भई निर्माणको काम समेत सुरु भइसकेको छ ।
‘जोगबुढा नदीको वारि र पारि गरी करिब २८ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्छ, हामीले गुरुयोजनामा त्यही पठाएका छौै’, डिभिजन प्रमुख वमले भने,‘गुरुयोजना स्वीकृत भई प्रत्येक वर्ष बजेट निकास भए मात्रै समयमा नदी नियन्त्रणको काम सकिने अवस्था रहन्छ ।’