कतारले इरानविरुद्ध बाह्य शक्तिलाई साथ नदिने
सिंगापुर : कतारले आफ्नो छिमेकीविरुद्ध बाह्यशक्तिलाई ननिम्त्याउने खुलासा गरेको छ । छिमेकी इरानलाई फसाउने गरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने कतारी उच्च अधिकारीले आइतबार बताएका छन् ।
कतारी रक्षामन्त्री खालिद विन मोहम्मद अल-अतियाले सिंगापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भने, ‘इरान र हामीबीच अनेकौँ मतभिन्नता रहे पनि हामीले इरानविरोधी द्वन्द्वलाई प्रोत्साहन गर्नेछैनौं ।’ अतियाले क्षेत्रीय विवाद बढाउँदै इजरायल र अमेरिकालाई इरानविरुद्ध निम्ताउनु बुद्धिमानी नभएको स्पष्ट पारेका छन् ।
इरान कतारको छिमेकी भएको बताउँदै उनले छिमेकीविरुद्ध बाह्यशक्तिलाई निम्त्याउन नसकिने जानकारी दिएका छन् । ‘यदि इरानलाई कमजोर पार्न तेस्रो पक्ष वा अन्य शक्ति राष्ट्रलाई यस क्षेत्रमा निम्त्याइयो भने यो क्षेत्रकै लागि धेरै खतरनाक हुनेछ ।’
कतार संकटको एक वर्ष
दुबई : खाडी मुलुक कतारविरुद्ध साउदी अरेबिया र उसका समर्थक देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।
यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रूपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट शुरु भएको थियो । साउदी अरेबियाको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेट्स (युएई)ले साथ दिएका थिए । उनीहरूले सोही समयमै कतारसँगको सबै कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए ।
कतारले ‘आतंकवाद’लाई सहयोग पुर्याएको र इरानसँग नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् । कतारले भने उनीहरूको आरोप अस्वीकार र खण्डन गर्दै आइरहेको छ । उनीहरूले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । ती देशले कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरेबियाले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद ब्युरो कार्यालय पनि बन्द गरिदिएको छ ।
नाकाबन्दी लगाउने देशहरूले गत वर्षको जुन २२ मा साउदी नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा शर्त पूरा गर्न दबाब दिएका थिए । मागमध्ये एउटा अलजजीरा च्यानल बन्द गर्नुपर्ने माग पनि थियो । त्यसैगरी इरानसँगको सम्बन्धलाई महत्व दिन नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने शर्त पनि ती देशले राखेका थिए । माग तथा शर्त पूरा गर्न उनीहरूले कतारलाई दश दिनको समय दिएका थिए ।
ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसिमको नाकाबन्दी गरिएको हो । विवाद समाधान नभइरहेका बेला गत सेम्टेम्बर ८ मा कतारका राजाले साउदी अरेबियाका युवराजसँग वार्ता गर्न चाहेको खबर पठाए । राजाको त्यो आह्वानलाई कतारी सञ्चारमाध्यमले गलत तरिकाले व्याख्या गरेको भन्दै साउदीले निहुँ खोजेको थियो । त्यसपछि सेम्टेम्बर ९ मा साउदीले कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो ।
सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरे । नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो । राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान गर्यो । यद्यपि दुवै पक्ष आ-आफ्ना निर्णयमा अडिग रहे ।
कतारले रूसी एस-४०० हवाई रक्षा प्रणाली किनेमा कतारविरुद्ध सैन्य कारबाही गरिने साउदीले चेतावनी दिएको छ । हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गर्न पनि साउदीले फ्रान्सलाई गुहारेको छ । क्षेत्रीय स्थायित्वका लागि कतारले हतियार किन्न नहुने भन्दै साउदीले फ्रान्सेली राष्ट्रपतिलाई सहयोग गर्न भनेको गोप्य सूचनालाई उद्धृत गर्दै फ्रान्सेली दैनिक पत्रिका ल मोँद दैनिकले शनिबार लेखेको थियो ।
कतारले यसै वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस-४०० हतियार प्रणालीका विषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिबेला छलफल निकै अघि बढिसकेको बताइएको थियो । मार्चमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी शेखबीच भेटवार्ता भएको थियो । कतारले रूससँग मित्रताको हात अघि बढाएको छ । खाडीमा उदीयमान मुलुक कतारसँग साउदी र यसका पक्षधर मुलुकहरू उसलाई कमजोर पार्न चाहन्छन् ।
कतारले आफूमाथि लगाइएको आर्थिक नाकाबन्दी अन्यायपूर्ण भएको बताउँदै आएको छ । गत सातादेखि कतार साउदी र अरब इमिरेट्सका सामान बजारबाट हटाउन आदेश दिइसकेको छ । उसले त्यस्ता सामान नहटाउने पसलमाथि कडा कारबाही गर्ने पनि घोषणा गरेको छ । खाडी मुलुकहरूले एक्लाइरहेका बेला कतारले रूस लगायतका नयाँ सहयोगीको खोजी गरेको छ ।
प्रतिक्रिया दिनुहोस !