उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, दक्षिण कोरिया सजग
सोल : अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको छ ।अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् एक सातापछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रूपमा लिइएको छ । यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको छ ।
उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ । यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता हुने र उनको विश्वासपात्र सैनिक प्रमुखमा नियुक्त हुने प्रचलन छ । उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई केही दिनयता पदबाट हटाएर उनीहरूभन्दा तल्लो वरीयताका अधिकारीलाई नियुक्त गरेका छन् ।
पदबाट हटाइएका प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक पनि छन् । यसका साथै उत्तर कोरियाली सेनाका चिफ अफ जनरल स्टाफ पनि हटाइनेमा परेका छन् । त्यसैगरी सेनाको राजनीतिक ब्युरोका प्रमुख पनि यसरी हटाउनेमा परेको सार्वजनिक भएको छ । सैन्य अधिकारीहरूलाई हटाइएको बारेको यो समाचार भने दक्षिण कोरियाली समाचार समिति योनहापले दिएको छ ।
जापानी सञ्चारमाध्यमहरूले यो खबर सार्वजनिक गरेका छन् । नाम खुलाउन नचाहेका एक अमेरिकी रक्षा अधिकारीले पनि त्यसको पुष्टि गरेका बताइएको छ । अहिले ल्याइएका सेनाका अधिकारीहरू उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ । उनीहरूलाई कहिले र किन हटाइएको हो भन्ने बारेमा भने कुनै पनि समाचार समितिहरूले स्पष्ट रूपमा समाचार सार्वजनिक गर्न सकिरहेका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज पनि सेनाभित्रैबाट उठेको समाचार यसअघि आएको थियो । त्यस वार्तामा किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको दक्षिण कोरियाली एक उच्च स्रोतले बतायो । उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ समेत भएको भन्दै प्रस्तावित वार्ताको विपक्षमा आवाज पनि दिएका थिए ।
पछिल्लो समयमा नेता किम तथा उत्तर कोरियाली सञ्चारमाध्यम आगामी वार्ताका बारेमा र अमेरिकाप्रति पनि केही नरम हुँदै गएको देखिएको छ । त्यसैबमोजिम नै उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको बताइएको छ । उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउँदै आएका छन् । उत्तर कोरियाली नेता किमले पनि शिखर वार्ताको तयारी बडो चाखपूर्ण रूपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तो अवस्थामा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ । यद्यपि यस विषयमा उत्तर कोरियाका तर्फबाट स्पष्ट रूपमा केही भनाइ आएको छैन । दक्षिण कोरियाले पनि के कति कारणले उत्तरका ती सैनिक अधिकारी हटाइएका हुन् भन्ने खुलासा गर्न सकेको छैन ।
दक्षिण सतर्क
दक्षिण कोरिया भने यस चासोका कारण चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदललाई नजिकबाट हेरेको बताएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले भनेको छ, ‘अहिले आएर भएको उत्तर कोरियाभित्रका लागि शक्तिशाली सेनाको फेरबदललाई हामीले नजिकबाट हेरेका छौँ ।’ यसको प्रभाव आगामी वार्तामा के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले भने, ‘हामीले यस घटना र यसको प्रभाव तथा कारणलाई नजिकबाट हेरिरहेका छौँ । एक हिसाबले भन्ने हो भने हामीले अनुगमन नै गरेका छौँ ।’ उनले आसन्न वार्तामा कुनै असर नपरोस् भन्ने दक्षिण कोरियाली चासो भएको स्पष्ट पारेका छन् ।
यसैबीच सोमबार दक्षिण कोरिया र अमेरिकाका विदेश मन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सोमबार बिहान फोन गरेका थिए । शिखर वार्ताको समय नजिकिँदै आएको बेला उक्त फोनवार्ता भएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच भएको वार्तामा सिंगापुरको तयारीबारे कुरा भएको जनाइएको छ । फोनवार्ताको जानकारी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले दिएको दक्षिण कोरियाली सरकारी समाचार समिति योनहापले उल्लेख गरेको छ ।
अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा
त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार उत्तर कोरियाली र अमेरिकी उच्च अधिकारी सोमबार सिंगापुर पुगेका छन् । उत्तर कोरियाली रक्षा विभागका एक उच्च अधिकारी र अमेरिकी विदेश मन्त्रालयका एक अधिकारी सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत सातामात्र उनीहरू वार्ता पूर्वतयारीको लागि भन्दै सिंगापुर पुगेका थिए । यस पटक त्यहाँ पुगेका अधिकारीहरूले आगामी वार्ताका एजेन्डाका बारेमा सामान्य रूपमा पूर्वतयारी गर्ने र त्यस बारेमा आ–आफ्ना देशका शीर्ष नेतृत्वलाई जानकारी गराउने अनुमान गरिएको छ ।
दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरूले संयुक्त रूपमा अग्रिम तयारीको अवस्था हेर्नेछन् । सिंगापुरको विदेशमन्त्रालयले पनि वार्ता तयारी पूरा भएको पनि जानकारी दिएको छ । यस वार्ताबारे विश्वमा निकै ठूलो चासो फैलिएको छ । विश्वका सञ्चारमाध्यमले वार्ताको समाचार संकलनका लागि आ–आफ्ना प्रतिनिधि सिंगापुर पठाउने तयारी गरिरहेका छन् । कतिपय सञ्चारमाध्यमले वार्ताको तयारीको बारेमा सिंगापुरमै पुगेर ‘रिपोर्टिङ’ गर्न पनि थालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !