साउदीमा महिलालाई चालक अनुमतिपत्र
रियाद : साउदी अरेबियाले सोमबारदेखि महिलालाई चालक अनुमतिपत्र प्रदान गरेको छ । साउदीमा २४ जुनदेखि महिलाले पनि सडकमा गाडी चलाउन पाउनेछन् ।
सामाजिक सञ्जालमा निकै चर्चित बनेको एक भिडियोमा एकजना महिलालाई सरकारी अधिकारीले चालक अनुमतिपत्र दिँदै गरेका छन् । साउदीको सरकारी समाचार समितिका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशकले सोमवार महिलालाई पनि अनुमति पत्र दिएका थिए । हाल १८ वर्ष उमेर पुगेका महिलाले चालक अनुमतिपत्रका लागि आवेदन दिन पाइने बताइएको छ ।
साउदीका पाँचवटा शहरमा महिलाका लागि ड्राइभिङ स्कुल स्थापना गरिएका छन् । विदेशमा चालक अनुमतिपत्र पाएका साउदी महिलाले उनीहरूलाई तालिम दिइरहेका छन् ।
विदेशमा लाइसेन्स लिएका साउदी महिलालाई पनि यहाँ आवेदन दिन आह्वान गरिएको छ । साउदी अरेबिया मात्रै यस्तो देश हो, जहाँ महिलालाई गाडी चलाउने अनुमति थिएन । गतवर्ष साउदी अरेबियाका शेख सलमानले महिलालाई पनि गाडी चलाउने अनुमति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !