ट्रम्प र किमका रोचकता
सोल : अगामी साता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ । यसलाई शिखर वार्ता नाम दिइएको छ । यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठकको रूपमा लिइएको छ । यी दुई नेताको राजनीतिक सिद्धान्त मिल्दैन । तैपनि दुईबीच आश्चर्यजनक रूपमा केही समानता छन् ।
गत वर्ष अमेरिकी राष्ट्रपति पदमा शपथ लिएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रूपमा परिचित छन् । उनी हाल ७२ वर्षका छन् । उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वकै कान्छो राष्ट्रपतिको रूपमा रहेका छन् ।
उनी हाल ३४ वर्ष ६ महिनाका छन् । उनले आजभन्दा ५ वर्षअघि नै उत्तर कोरियाको नेताका रूपमा काम शुरु गरेका थिए । सोलस्थित योनसे युनिभर्सिटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गरेका छन् । त्यसैबमोजिम उत्तर कोरियाले पनि अमेरिकासँगको वार्ताको तयारी गरिरहेको जनाएको छ । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको छ । उसले रक्षामन्त्री, सेनाका प्रमुख जनरल र पार्टीका तर्फबाट सैनिक मामिला हेर्ने अधिकारीमा नयाँ व्यक्तिलाई ल्याएको छ ।
अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा वार्ता हुन लागेको छ । त्यसैले साता दिनपछि मात्र वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेरबदललाई चासोपूर्ण रूपमा लिइएको छ ।
यस वार्तालाई उत्तर र दक्षिण कोरियाले मात्र नभए विश्वले नै बडो चासो दिएको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकाले यसरी हेरिएको हो ।
प्रतिक्रिया दिनुहोस !