नारायणगढ–मुग्लिङ सडक २४सै घण्टा सञ्चालन
भरतपुर : सडक विस्तारका लागि दिउँसोमा बन्द गरिएको नाारायणगढ–मुग्लिङ सडक खुला बुधबारदेखि खुला गरिएको छ। पहिलो तहको कालोपत्रे गर्ने काम सकिएपछि बुधबारदेखि २४सै घण्टा सडक सञ्चालन गरिएको हो। आयोजनाअन्तर्गत ३३ दशमलब २ किलोमिटर सडकखण्डमा एक तह कालोपत्रे गरिएको छ।
पहिलो तह कालोपत्रे भएपछि दोस्रो र तेस्रो चरणको कालोपत्रे गर्न असुविधा नहुने भएपछि जिल्ला प्रशासन कार्यालयसँग छलफल गरी बाटो सञ्चालन गरिएको हो। हालसम्म आठ सय मिटर मात्रै दोस्रो तहको बाटो कालोपत्रे सम्पन्न भएको छ। १२ दशमलब ७ किलोमिटरमा भने तेस्रो तहको कालोपत्रे गरिएको छ। सडक निमार्णका लागि अवरोध नहुने भएपछि २४सैं घण्टा बाटो खुला गरिएको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीले बताए। ‘पहिलो तहको कालोपत्रे भएपछि धेरै सहज भएको छ’, रेग्मीले भने, ‘अब बाटो नरोकेर नै काम गर्न सकिने भएकाले बाटो खुला गरिएको छ।’ निर्माण भइरहेका स्थानमा पाँच सय मिटरखण्डमा एकतर्फी सञ्चालन गरिने रेग्मीले बताए।सडक विस्तारका लागि गत माघ १३ गतेबाट दिउँसोमा सवारी सञ्चालन रोकेर सडक निमार्णको काम अघि बढाइएको थियो। दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो। गत वर्ष वर्षातको समयमा पहिरोको जोखिमका कारण राति बाटो बन्द गरिएको थियो। पहिलो चरणको कालोपत्रे गरेपछि सवारी आवागमन सहज भएको छ। सडक आँपटारीदेखि मुग्लिङसम्म ३५ मिनेटमा पार गरिसक्ने आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। ‘पहिला एकैपटक गाडी छोड्दा जाम भए पनि अब सडक खुला भएपछि सहज भएको छ’, उनले भने ‘ प्राकृतिक बिपतबाहेक बाटोमा अब केही समस्या देखिँदैन।’ आयोजनाअन्तर्गत अहिलेसम्म ९१.५ प्रतिशत काम सकिएको छ। सडक आयोजनाअन्तर्गत अहिले चारवटा पुल निर्माणको काम भइरहेको छ। उक्त सडकखण्डमा १८ वटा पुल निर्माण गर्ने योजना छ। ठेक्का सम्झौता भएपछि चारवटा पुलको काम धमाधम छ।
पहिलो तहको कालोपत्रे गर्ने काम सकिएपछि बुधबारदेखि २४सैं घण्टा सडक सञ्चालन गरिएको हो।
पहिरो नियन्त्रणका लागि नारायणगढ–मुग्लिङ सडकखण्डमा ‘रक नेटिङ’ को काम सुरु गरिएको छ। सडक छेउका पहाडबाट पहिरोको जोखिम बढेपछि पहिरो रोक्न जाली राख्न थालिएको हो। पहाडबाट अचानक ढुंगा झरेर दुर्घटना हुने खतरा भएपछि पहाडको भित्तामा जाली राखेर पहिरो रोक्न थालिएको हो। २०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा–नारायणगढ सडकको नाममा निर्माण गरिएको यो सडक साँघुरिए पनि सवारीसाधनको चाप भने उच्च छ। अहिले दैनिक आठ हजारभन्दा बढी गाडी गुड्ने गरेका छन्। २०७१ चैतबाट नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नतिको काम सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस !