माधव नेपाल भन्छन् : बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई कठोर भन्दा कठोर सजाय दिनुपर्ने बताएका छन् । उनले सोमबार राजधानीमा आयोजित एक पत्रिकाको तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बलात्कारीलाई सीधै गोली ठोक्नुपर्ने बताएका हुन् ।
'बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ', उनले अगाडि भने, 'जोसुकै होस, बलात्कारीलाई उन्मुक्ति दिनैहुँदैन, सीधै गोली ठोक्ने व्यवस्था गर्नुपर्छ ।’पूर्व प्रधानमन्त्री नेपालले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको पनि उल्लेख गरे । उनले संविधानको कार्यान्वयनका लागि सबै जुट्नुपर्नेमा पनि जोड दिए ।
अर्को प्रसंगमा नेता नेपालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम र गति सुस्त रहेको उल्लेख गरे । ‘सरकार अहिले पनि सुस्त देखिएको छ', उने भनेअब विकास निर्माणलगायत सुशासन दिलाउनेगरि काम गर्नुपर्छ ।’
ठेकेदारलाई कारबाही गरौँ
नेता नेपालले विकास निर्माणको काममा चरम लापरवाही भइरहेको बताउँदै अब चुप बस्न नहुने उल्लेख गरे । विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै उनले कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए ।
रौतहटमा भएको डुङ्गा दुर्घटनाको प्रसङ्गबारे पनि उनले बोले । 'पाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्', उनले भने, 'पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ ।'
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको पनि उनले बताए । नेता नेपालले भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्ने जरुरी भएको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस !