तनहुँ हाइड्रोको ठेक्कामा चलखेल

तनहुँ हाइड्रोको ठेक्कामा चलखेल

काठमाडौं : विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) को ठेक्कामा चलखेल सुरु भएको छ। आयोजनाको पहिलो प्याकेज (नदी फर्काउने, बाँध निर्माण आदि) अन्तर्गत छनोटमा परेको ठेकेदार कोअपरेटिभा मुराटोरी एन्ड सिमेन्टीसीटी (सीएमसी) ले स्थानीय एजेन्टलाई हटाएपछि तनहुँ हाइड्रोपावरले ठेक्का सम्झौता गर्ने मिति सार्न अनेकौं उपाय अपनाउन थालेको छ ।

यही असोज १४ गते ठेक्का सम्झौता गर्न पत्र पठाएको तनहुँ हाइड्रोपावरले सीएमसीले एजेन्ट हटाएको भोलिपल्टै नयाँ निहुँ खोजेको हो। तनहुँ हाइड्रोपावरले सीएमएसीका उच्च अधिकारीलाई काठमाडौंमा ल्याएर बैठक गरेपछि मात्रै ठेक्का सम्झौतामा हस्ताक्षर हुने पत्र बिहीबार दिएको आयोजना स्रोतले बतायो। इटालीको सीएमसीले ठेक्का सम्झौतामा हस्ताक्षर गर्न क्षेत्रीय प्रमुख साल्भातारो क्यासारोलाई अख्तियारी (पावर अफ एट्रोनी) सहित पठाएको थियो। सीमएसीले ती एजेन्टलाई हटाउनुअघि तनहुँ हाइड्रोपावरले सीमएसीका उच्च अधिकारीसित बैठक हुने शर्त राखेको थिएन ।

स्रोतका अनुसार सीमएसीका उच्च अधिकारीलाई काठमाडौं झिकाएर खारेज भएको स्थानीय एजेन्टलाई पुनः नियुक्ति दिलाउनका लागि यसो गरिएको हो। तनहुँ हाइड्रोपावरले नै १४ असोज सम्झौता गर्ने तय गरेको मितिलाई भोलिपल्ट असोज १५ गते सारेको थियो। ‘तीन दिनभित्र सीमएसीका उच्च अधिकृत नेपाल आउन सम्भव नभएकाले एजेन्ट थमाउन आयोजनाले यो चाल रचेको हो’, स्रोतले भन्यो ।

ती स्थानीय एजेन्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नजिकका नाता हुन्। कार्कीकै दबाबमा प्राधिकरणले सीमएसीको एजेन्टका लागि सिफारिस गरेको थियो। कार्कीको शक्तिका आधारमा ती एजेन्टले आयोजनामा आपूर्ति हुने यन्त्र उपकरण (कुल ठेक्का रकमको करिब ४० प्रतिशत) अाफैँले आपूर्ति गर्ने सम्झौंता गरेका थिए।

सम्झौताअनुसार दुई अर्ब रुपैयाँपर्ने यन्त्र उपकरणलाई पाँच अर्ब रुपैयाँ पुर्‍याउने र उक्त रकम आयोजना निर्माण गर्दै जाँदा भेरियसन, दाबीलगायत उपायबाट भड्ताल गर्ने भित्री योजना थियो। शक्तिकेन्द्रको दबाबका आधारमा गरिएको सम्झौताले आयोजनाको अनावश्यक लागत र निर्माण अवधि बढ्ने भएकाले स्थानीय एजेन्ट हटाउन खोजिएको स्रोतले बतायो ।

आयोजनाले सीएमसीसित पहिलो प्याकेजका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा ठेक्का पाएको हो। आयोजनाले गत साउन १० गते विभिन्न प्याकेजका ठेकेदार छनोट गरेको थियो। ती ठेकेदारसँग ठेक्का सम्झौता हुन बाँकी छ। आयोजना स्रोतका अनुसार प्रत्येक ठेकेदारसँग सम्झौता गर्नुअघि यसैगरी बार्गेनिङ गर्ने हो भने आयोजनाको लागत र अवधि बढ्नेछ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) छ। यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले अमेरिकन डलर आठ करोड ५० लाखा र नेपाल सरकार/विद्युत् प्राधिकरणले अमेरिकी डलर आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् ।

तनहुँ हाइड्रोका अध्यक्ष तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो आयोजना भएकाले ठेकेदारका उच्च अधिकारीको प्रतिबद्धता खोज्नका लागि उनीहरूलाई बोलाइएको बताए। ‘भोलि यो आयोजना पनि अर्काे मेलम्ची नहोस् भन्नका लागि यसरी गरिएको हो,’ घिसिङले बिहीबार अन्नपूर्णसित भने। उनले ठेकेदारको लोकल एजेन्ट जोसुकै भए पनि आफूहरूलाई फरक नपर्ने बताए। ‘लोकल एजेन्टमा हामीलाई को आउँछ, को राख्छ मतलब छैन’, उनले भने, ‘हाम्रो चासो आयोजनामा समस्या आउनु भएन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.