तनहुँ हाइड्रो : रद्द एजेन्ट ब्यूँताउन अनेक बहाना

तनहुँ हाइड्रो : रद्द एजेन्ट ब्यूँताउन अनेक बहाना

काठमाडौं : तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) को ठेकेदारले रद्द गरेको लोकल एजेन्ट ब्यूँताउन विद्युत् प्राधिकरणले अनेक बहाना झिक्न थालेको छ। आयोजना निर्माणको ठेक्का सम्झौता भइसकेपछि ठेकेदार कम्पनीका उच्च तहका पदाधिकारीसँग ‘वार्ता गर्न र प्रतिबद्धता प्राप्त गर्न’ भन्दै तनहुँ हाइड्रोपावरले दुवै प्याकेजका ठेकेदारलाई पत्राचार गरेको छ।

असोज १५ गते दुवै प्याकेजका ठेकेदारसित सम्झौता भएको थियो। सम्झौता लगत्तै कार्यारम्भ आदेश जारी गर्नुपर्नेमा ठेक्का प्रावधानविपरीत आयोजनाले निर्माण कम्पनीका उच्च तहका अधिकारीसँग प्रतिबद्धता प्राप्त गर्न र सम्मिलित सबै पक्षबीच समझदारी कायम गर्न पत्राचार गरेको हो। प्रक्रियाअनुसार ठेक्का सम्झौता भइसकेपछि ठेकेदार कम्पनीले एडभान्स ग्यारेन्टी बुझाइ आयोजनाबाट पेस्की रकम लिइ काम सुरु गर्नुपर्छ। तर यो कार्य गर्न नदिइकनै छलफलको बहानामा आयोजनामा ढिला गरी रद्द भएको एजेन्सी ब्यूँताउने नियत रहेको स्रोतले बतायो।

स्रोतका अनुसार पहिलो प्याकेजको ठेकेदार सीएमसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीका सम्धी रोहिणी थपलियाको कम्पनी दि ग्लोबल ट्रेडिङ कन्सर्नसँग लोकल एजेन्सीसम्बन्धी सम्झौता रद्द गरेको थियो। रोहिणीको एजेन्सी रद्द भएपछि तनहुँ हाइड्रोपावरले ठेक्का सम्झौता गर्न आलटाल गर्दै आएको थियो।

असोज १० गते तनहुँ हाइड्रोपावरले दुवै ठेकेदारलाई सम्झौतामा हस्ताक्षर गर्न आमन्त्रण गर्‍यो। सोही दिन लोकल एजेन्सी रद्द भएपछि तनहुँ हाइड्रोले सीएमसीका वरिष्ठ प्रतिनिधिसित बैठक गरेर प्रतिबद्धता लिनुपर्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गरेको थियो। प्राधिकरणले ठेक्कामा चलखेल गरेको समाचार सार्वजनिक भएपछि असोज १५ मा सम्झौता गरेको थियो।

सम्झौता भइसकेपछि कार्यारम्भ आदेश जारी नगरी सम्झौताको प्रावधान विपरीत पुनः उच्च तहका पदाधिकारीसित वार्ता गर्नुपर्ने र संलग्न पक्षसँग समझदारी कायम गर्नुपर्ने भन्दै पत्राचार गरेको हो। ‘ठेकेदारका उच्च पदाधिकारीसित वार्ता गराउनुको अर्थ खारेजमा परेको एजेन्टसित कुराकानी मिलाउनु हो’, आयोजना स्रोतले भन्यो।

स्रोतका अनुसार लोकमानसिंह कार्कीको दबाबमा नियुक्त भएका लोकल एजेन्टको बदनामी भएपछि उनले अर्जुन गुरुङलाई अघि सार्दै आएका छन्। ‘साइट परिचालन गर्नुपर्ने ठाउँमा ठेक्का सम्झौताको मापदण्डविपरीत उच्च तहको प्रतिबद्धता खोजिनुको कारण के हो ? ’ स्रोतले भन्यो, ‘सम्झौता भइसकेपछि पुनः त्यही आशयको पत्राचारको अर्थ के हो ? ’

तनहुँ हाइड्रोपावरले  ‘वार्ता गर्न र प्रतिबद्धता प्राप्त गर्न’ पत्राचार गरेको छ।

लोकल एजेन्टसँग ठेकेदारले आयोजनालाई आवश्यकपर्ने सबै यन्त्र उपकरण जर्मनीको एक कम्पनीबाट आपूर्ति गर्नुपर्ने सम्झौता गरेको थियो। बजार मूल्यभन्दा दोब्बर पर्ने गरी आपूर्ति गर्ने भनिएको उक्त प्रावधान दबाबमा राखिएको र त्यसले आयोजनाको भेरियसन अर्डर बढाइ असुल्ने नियत रहेको स्रोतले बतायो।

आयोजना प्रमुख प्रदीप थिकेले मार्केटमा बदनाम भएका ठेकेदारसित सम्झौता भएकाले उनीहरूको प्रतिबद्धता लिन आवश्यक रहेको बताए। थिकेका अनुसार उनीहरूसँग उपकरण आपूर्ति, जनशक्ति आदि लगायतका योजनाबारे छलफल गर्न बोलाइएको हो। ‘सीमएसी र सिनो हाइड्रो दुवै मार्केटमा बदनाम भएकाले उनीहरूको प्रतिबद्धता आवश्यक परेको हो,’ थिकेले अन्नपूर्णसित भने।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) छ। यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८ करोड ४० लाख, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले अमेरिकन डलर आठ करोड ५० लाख र नेपाल सरकार/विद्युत् प्राधिकरणले अमेरिकी डलर आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.