नख्खु कारागारमा रहेका छोरालाई भेटेर फर्कदै गंगामाया
काठमाडौं : वीर अस्पतालमा लामो समयदेखि अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले नख्खु कारागारमा पुगेर आफ्ना जेठा छोरा नुरप्रसाद अधिकारीलाई भेटेकी छन्।
एक साताअघि पाटन उच्च अदालतका न्यायाधीश संलग्न इजलासमा आक्रमण गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका नुरप्रसादलाई भेट्न गंगामाया मंगलबार नख्खु पुगेकी हुन्।
कारागारमा गंगामायाले नुरप्रसादलाई केही लुगाफाटो र चप्पल पनी दिएकी छन् । उनले एकछिन जेठो छोरासँग बातचित गर्दै उनीविरुद्धको अभियोग र अदालतको घटनाबारे सोधेकी छिन्। केही समय कारागारमा बसेर उनी पुनः अनसनस्थल वीर अस्पताल फर्किएकी छन् । नुरप्रसादमाथि ज्यान मार्ने उद्योग र अदालतको अपहेलना मुद्दा चलेको छ ।
माओवादी द्वन्द्वका क्रममा कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । कान्छो छोरा हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेका बाबु नन्दप्रसाद अधिकारीको निधन भइसकेको छ भने गंगामाया अझै न्याय माग गर्दै वीर अस्पताल अनसन बसेकी छन्।
तस्बिर : सुनिता डंगोल 
प्रतिक्रिया दिनुहोस !