निगमलाई प्रमको चेतावनी : नाफाको योजना नदिए सहयोग गर्दैनौं
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नाफामा जाने ठोस योजना नबनाएसम्म सरकारले कुनै सहयोग नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। वायुसेवा निगमले सोमबार राजधानीमा आयोजना गरेको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘यथास्थितिमै निगमलाई सरकारले एक पैसा पनि सहयोग गर्दैन। जबसम्म निगमले व्यवस्थापन सुधार गर्ने र नाफामा लैजाने ठोस योजना बनाएर प्रस्तुत गर्दैन तबसम्म निगमले मागेको २० अर्ब रुपैयाँ दिन सकिँदैन।’
निगमलाई दुईवटा वाइड बडी किन्दा २४ अर्ब रुपैयाँ, न्यारो बडी किन्दा लिएको १० अर्ब रुपैयाँ र बाँकी ६ वटा चिनियाँ जहाज खरिदसहित ३७ अर्ब रुपैयाँको ऋण छ। निगमले वाइड बडी जहाजलाई लामो दूरीको नाफामूलक गन्तव्यमा उडाउन नसकेको र उडान व्यवस्थापन मिलाउन नसक्दा समयमा नै ऋणको किस्ता तिर्न सकेको छैन। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण वापतको तिर्नुपर्ने त्रैमासिक किस्ता नै १ अर्ब १४ करोड रुपैयाँ छ। निगमले न्यारो बडीको ३३ करोड ९ लाख र वाइड बडीको ८० करोड ८२ लाख रुपैयाँ हरेक तीन महिनामा किस्ता रकम तिर्नुपर्छ।
यस्तो रकम १५ वर्षसम्म निरन्तर तिर्नुपर्ने छ। यही किस्ता रकम तिर्न नसकेपछि निगमले ऋण घटाउन र तत्कालका निम्ति किस्ता तिर्न सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको हो। यस्तो रकम निगमको निम्ति पूँजीवृद्धिमार्फत लगानी गर्नुपर्ने सर्त पनि निगमको छ। निगमले वाइड बडी जहाज भिœयाएर उडान तयारी गरेको ओसाका असार १९ मा गर्ने तयारी भएपनि यसलाई स्थगित गरेर भदौ १२ पुर्याएको छ। निगमले नयाँ वाइड बडी जहाजमार्फत जापान उडान तयारी थालेको छ।
निगमले नाफा कमाउन जापानको नारिता जानुपर्ने भएपनि ओसाका तयारी गरेकोप्रति पनि प्रधानमन्त्रीले व्यवस्थापन नमिलेको बताए। उनले निगमलाई छिट्टै नारिता उडान गर्ने तयारी गर्न पनि निर्देशन दिए। ओलीले निगमलाई नाफामा लैजान नसक्नुको विषयमा सार्वजनिक कार्यक्रमबाटै जवाफ माग गरे। निगमसँग भएकै विमान निजी कम्पनीलाई भाडामा दिने प्रस्ताव निगम कर्मचारीले गर्न थालेका छन्। ‘यही विमान निजीले चलाउँदा मासिक २० देखि ५० हजार डलरसम्म निगमलाई नै दिने प्रस्ताव कर्मचारीबाट आएको छ। त्यही जहाज हो जसलाई निजीले उडाउँदा नाफामा जाने सरकारी कम्पनी वायुसेवा निगमले उडाउँदा भने सधै घाटामा मात्रै किन ? ’, प्रधानमन्त्रीले निगम व्यवस्थापनसँग प्रश्न गरे।
निगमसँग हाल आन्तरिक उडानमा नौवटा जहाज छन्। जसमध्ये आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उडाउनै नसकिएको, पाइलट अभाव भएको, व्यवस्थापन पक्ष कमजोर हुँदा निजीलाई दिने वा नेपाली सेनालाई दिने प्रस्ताव कर्मचारीबाट आएको थियो। निगमका कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालले निगमले सञ्चालन गर्न नसकेका कारण नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष सार्वजनिक कार्यक्रमबाटै गरेका थिए। निगमले भिœयाएको ६ वटा चिनियाँ जहाज विगत ६ वर्षको अवधिमा कहिल्यै एकैपटक उडान गर्न सकेन। उडान गरेका जहाज पनि पटकपटक बिग्रने र थन्काउने काम मात्रै भयो। कहिले पाइलट अभाव त कहिले प्राविधिक कारण भन्दै निगमले जहाज उडाउन नसकेकोले ६ वटै चिनियाँ जहाज उडान सक्ने क्षमता नेपाली सेनासँग मात्रै भएकोले उसैलाई दिनुपर्ने प्रस्ताव निगम कर्मचारी दाहालले गरे।
दाहालको प्रस्तावको जवाफस्वरूप प्रधानमन्त्रीले वायुसेवा कम्पनीले चलाउन नसक्ने, नाफा गर्न नसक्ने वायुसेवा नेपाली सेनालाई दिन सेना कवाडीखाना नभएको बताए। ओलीले नेपाली सेना फोहोर व्यवस्थापन गर्ने बन्चरेडाँडा पनि नभएकोले निगम आफैंले चलाउनुपर्ने तर्क दिए। ओलीले भने, ‘सेनाको राम्रो व्यवस्थापन छ र उसले राम्रोसँग जहाज उडाउन सक्छ भन्ने विश्वास हुनु चाहिँ सकारात्मक पक्ष हो। तर, यस्तो विश्वास निगम आफैंले सिर्जना गर्नुपर्छ।’
निगमले जहाज उडाएर कमाउने र नाफामा लैजाने ग्यारेन्टी गर्ने हो भने सहयोग मात्रै हैन सरकार काँधै थाप्पन तयार भएको भनाइ पनि प्रधानमन्त्री ओलीको छ। उनले निगमलाई जहाज खरिदको विषयमा, निगमको लाभको निम्ति कुनै पनि व्यक्ति वा हल्लाको पछाडि नलागि काम गर्न पनि सुझाए। उनका अनुसार निगमले जहाज खरिद ढुक्कले गरे हुन्छ यो सरकार कमिसनको पछाडि लाग्दैन। जहाज उडाउने विषयमा आवश्यकता अनुसारको अन्तर्राष्ट्रिय प्रतिनिधि राख्दा पनि सरकारले कमिसन खोज्दैन। ओलीले भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ।’
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सरकारसँग मागिएको २० अर्ब निगमकै पुँजीवृद्धिको निम्ति भएको बताए। उनले भने, ‘सरकारसँग माग गरिएको उक्त रकमबाट ५० प्रतिशत ऋण घटाउने योजना छ। जसका कारण हाल सवा अर्बभन्दा बढीको किस्ता रकम घटेर १७ करोड रुपैयाँमा झर्नेछ। यो किस्ता तिर्न भने निगमलाई समस्या नपर्ने र निगमले उल्लेख्य लाभ लिन सक्ने दाबी पनि खरेलको छ। साउनदेखि चैत्रसम्ममा निगमले सात अर्ब ५४ करोड आम्दानी गरेको छ।
यस्तो आम्दानी गत वर्षको सोही अविधिमा तीन अर्ब ८४ करोड रुपैयाँ भएको खरेलले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ। निगमले वाइड बडी जहाज ल्याएर कमाएको यस्तो आम्दानी तीन अर्ब ६७ करोड अर्थात ९६ प्रतिशतले बढाउन सफल भएको दाबी पनि गरेको छ। यात्रु संख्यामा पनि यो अवधिमा तीन लाख ४८ हजारबाट बढेर ५ लाख ६९ हजार पुगेको पनि उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !