दूध र ढुवानीमा अनुदान

दूध र ढुवानीमा अनुदान

तानसेन : पाल्पाका स्थानीय तहले दूध उत्पादन र ढुवानीमा अनुदान दिएका छन्। उत्पादनका आधारमा प्रोत्साहन अनुदान दिने नीतिसहित प्रतिलिटर दूधमा दुई रुपैयाँसम्म अनुदान उपलब्ध गराएका छन्। यो नीतिले उत्पादन गर्ने खास किसान नै अनुदानको पहुँचमा पुगेका छन्।

जिल्लाको रिब्दीकोट गाउँपालिका, तिनाउँ गाउँपालिका, बगनासकाली गाउँपालिका र डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन र ढुवानीमा अनुदान दिएका हुन्। यसमा प्रदेश सरकारको पनि सहयोग छ।

किसानमा हौसला बढाउँदै दूध उत्पादनमा वृद्धि गर्न यो योजना बनाइएको रिब्दीकोट गाउँपालिकाका प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए। ‘पालिकामा जति लिटर दूध उत्पादन हुन्छ, प्रतिलिटरको दुई रुपैयाँका दरले अनुदान दिने नीति बनेको छ’, उनले भने।

रिब्दीकोट गाउँपालिकाले विभिन्न सहकारीमार्फत दूध बिक्री गर्दै आएका १ सय ९४ किसानलाई प्रतिलिटर १ रुपैयाँका दरले १ लाख १३ हजार रुपैयाँ प्रोत्साहन रकम वितरण गरेको छ। गाउँपालिकाले डुम्रे दुग्ध सहकारीमा दूध संकलन गर्ने १ सय किसान, किसान दुग्ध उत्पादक सहकारीका १७ जना, देवीस्थान सहकारीका २५ र राधाकृष्ण सहकारीका ५२ किसानलाई प्रतिलिटर १ रुपैयाँ अनुदान दिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए। चालु आर्थिक वर्षमा दूधमा उत्पादनमा वृद्धि गर्न प्रतिलिटर २ रुपैयाँ, टमाटर उत्पादनमा समेत प्रतिकिलो दुई रुपैयाँ ५० पैसासम्म अनुदान दिने गरिएको छ।

डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले पनि एक वर्षको अवधिमा दूध ल्याउने किसानलाई प्रतिलिटर १ रुपैयाँ ९२ पैसाको दरले प्रोत्साहन रकम वितरण गरेको छ। सहकारीले यसवर्ष १६ लाख ९० हजार ५ सय ४८ रुपैयाँ किसानलाई प्रोत्साहन रकमस्वरूप वितरण गरेको सहकारीका व्यवस्थापक गोपालबहादुर जिसीले बताए। सहकारीले दुई वर्षदेखि दुग्ध किसानलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गर्दै आएको छ। जिल्लामै उत्कृष्ट दुग्ध उत्पादक सहकारी भएकाले केन्द्र तथा प्रदेश सरकारले सहयोग गर्दै आएका छन्।

तिनाउँ गाउँपालिकाले पनि चालु आर्थिक वर्षदेखि दुग्ध उत्पादक किसानलाई प्रोत्साहन रकम सहयोग गर्ने भएको छ। चालु आर्थिक वर्षमा दूध उत्पादक किसानलाई प्रतिलिटर २ रुपैयाँ सहयोग गरी उत्पादनमा वृद्धि गराउँदै किसानलाई व्यवसायीमुखी गराउन यो कार्यक्रम लागू गर्ने तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए। गुणस्तरको आधारमा किसानले गाईको प्रतिलिटर ४५ देखि ५५ सम्म र भैंसीको ६० देखि ६५ सम्म दुग्ध सहकारी, डेरी उद्योगमा बिक्री गर्दै आएका छन्।

बगनासकाली गाउँपालिकाले ५ सय किलोभन्दा माथि कृषि उत्पादित सरसमान बिक्री गर्ने किसानलाई प्रतिकिलो २ रुपैयाँको दरले ढुवानी सेवावापत प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। चालु आर्थिक वर्षमा दूध लगायतका कृषि उत्पादनमा ढुवानी तथा प्रोत्साहन रकम सहयोग गर्ने बगनासकाली गाउँपालिकाले जनाएको छ। उत्पादन र ढुवानीमा अनुदान पाएपछि किसान उत्साहित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.