जुनसुकै बेला पक्राउ पर्न सक्छन् महरा
काठमाडौं : बलात्कार प्रयासको अभियोगमा अदालतले पक्राउ पूर्जी जारी गरेपछि प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा किटानी जाहेरी परेपछि प्रहरीले तुरुन्त पक्राउ गर्नुपर्ने व्यवस्था छ। तर त्यसअघि प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिनुपर्छ। जुन आइतबार प्रहरीले प्राप्त गरिसकेको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो। प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो।
अब महरा कहिले पक्राउ पर्लान् ?
कानुन हेर्ने हो भने पक्राउ पूर्जी जारी भएकोले महरा जुनसुकै बेला पक्राउ पर्न सक्छन्।
अब प्रहरीको हिरासतमा बसेर न्यायालयसमक्ष आफूविरुद्ध लागेको आरोपको कानुनी प्रतिरक्षा गर्नु बाहेक अरु विकल्प महरासँग छैन।
अर्थात्, आफूलाई लगाइएको बलात्कार प्रयास आरोपको कानुनी प्रतिरक्षा गर्ने अधिकार उनीसँग सुरक्षित छ।
के गर्छ प्रहरीले ?
प्रहरी सुरुदेखि नै यो घटनासँग जोडिएको छ। हाम्राकुराले गरेको भिडियो अन्तर्वार्तामा ती महिलाले आफू बलात्कृत भएको भन्दै प्रहरीलाई १०० मा फोन गरी जानकारी गराएपछि महरा आफ्नो कोठाबाट बाहिरिएको बताएकी छन्।
ती महिलाले कोठा, फुटेको भनिएको चस्मा, मदिराको बोत्तल र ग्लास तथा जुत्ताको तलुवा लगायतका प्रमाण प्रहरीलाई देखाएको पहिलो भिडियोमा बताएकी थिइन्।
अब प्रहरीसँग महरालाई पक्राउ गरी घटनाको अनुसन्धान गरी मुद्दा दायर गर्नेछ।
'बलात्कार प्रयास' को आरोप
महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी हुन्।
यसअघि दुईवटा भिडियो अन्तर्वार्तामा उनले परस्पर विरोधी कुरा गरेकी थिइन्। पहिलो भिडियोमा उनले आफूलाई महराले बलात्कार गरेको दाबी गरेकी थिइन्। र, दोस्रो भिडियोमा महरा 'बाबुसमान रहेको' भन्दै महरामाथि लागेका सबै आरोपलाई 'षड्यन्त्र' भनेकी थिइन्।
ती महिलाले नागरिकखबरबाट आफ्नो परिचयसहित परस्पर विरोधी बयान दिएपछि पहिलो भिडियो अन्तर्वार्ता सार्वजनिक गर्ने हाम्राकुरा अनलाइनले पहिले खिचिएको भिडियो सार्वजनिक गरेको थियो।
तेस्रो भिडियोमा महरा र आफूबीच भएका च्याट, म्यासेजहरूलाई उनले आफूमाथि दुर्व्यवहार भएको पुष्टि गर्ने प्रमाणका रुपमा देखाएकी छन्। पढ्नुस्ः २४ घण्टामा 'रोशनी' को यू-टर्न : छानबिन होला कि फिस्स ?
कसूर प्रमाणित भए ?
अहिलेलाई महराले आफूलाई लगाइएको कसूर झेल्नेछन्। र, आफूलाई निर्दोष साबित गर्ने मौका पाउनेछन्।
तर प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा उनले कैद सजायँ भोग्नुपर्नेछ।
जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।
एउटा भिडियोमा महराले आफ्नो कोठामा आई बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने 'बलात्कार प्रयास गरेको' भनेकी छन्।
अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (inchoate offence) भनिन्छ। यो भनेको 'अपराध पूरा नभएको तर प्रयास गरेको' अवस्था हो। दफा ३४ मा यस्तो अवस्थामा आधा सजायँ हुने व्यवस्था छ।
बलात्कार कसूरमा ७ देखि १० वर्ष सजायँ भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजायँ हुन सक्छ।
माओवादीको सशस्त्र युद्धअघि नै सांसद, युद्धकालमा नेतृत्वदायी भूमिका, शान्तिवार्ताको भूमिका, एकीकृत माओवादीका महासचिव, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख। भद्र र शालिन व्यक्तित्व। उनको छवि ध्वस्त भएको छ, उनी अभियुक्तका भएका छन्।
आफूविरुद्ध लागेको आरोपको कानुनी उपचार खोज्नेबाहेक अरु विकल्प महराका लागि अन्त्य भएको छ।
प्रतिक्रिया दिनुहोस !