सुक्खा बन्दरगाह निर्माण सुरु
नुवाकोट : रसुवागढी नजिकै टिमुरेमा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। नेपाल–चीन प्रवेशको छोटो दूरीको रसुवागढी नाकामा आयातनिर्यात बढाउने उद्देश्यले चीनको सहयोगमा सुक्खा बन्दरगाहको निर्माण सुरु भएको हो।
काठमाडौंदेखि एक सय ५२ किलोमिटर उत्तरमा रहेको चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीमा विभिन्न समस्याका कारण २ वर्षदेखि सुक्खा बन्दरगाह निर्माण सुरु हुन सकेको थिएन। बन्दरगाहको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र चीनका तर्फबाट इन्टरनेसनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बत कमर्स डिपार्टमेन्ट अफ चाइनाका निर्देशक पियान चनले संयुक्तरूपमा शिलान्यास गरे।
३० महिनामा निर्माण सक्ने लक्ष्य रहेको सुक्खा बन्दरगाहको लागत १२ करोड ४२ लाख रुपैयाँ रहेको निर्माण कम्पनी तिब्बत फुली कन्ट्रक्सनकी प्रतिनिधि फुटी शेर्पाले बताइन्। चीन सरकारको सहयोगमा निर्माण हुन लागेको बन्दरगाह ३० महिनामा सम्पन्न गर्ने लक्ष्य छ। ‘सुक्खा बन्दरगाहाको निर्माण कार्य औपचारिक रूपमै काम अघि बढेको छ’, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भने, ‘निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्न प्रशासनका तर्फबाट हामीले निरन्तर समन्वय गर्छौं।’
सुक्खा बन्दरगाह निर्माण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको ५ हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १ सय ९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिग्रहण गरिएको उनले जानकारी दिए। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपासस्थल, भन्सार, क्वारेनटाइन, बैंक तथा ल्याब निर्माण गरिनेछ। सुक्खा बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७ सय ५० वर्ग मिटरको ठूलो गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपासस्थल छन्। बन्दरगाहमा तीन सय ५० थान मालवाहक गाडी पार्किङ गर्न सकिने यार्ड रहनेछ। कुल साढे ८ हेक्टर जमिनमा टिमुरे सुक्खा बन्दरगाह निर्माण हुने ठकेदार कम्पनीले जनाएको छ।
सुक्खा बन्दरगाह निर्माण सुरु भइसक्दा पनि मुआब्जाको विषय नटुंगिएको स्थानीयले गुनासो गरेका छन्। मुआब्जा पाउन बाँकी रहेकाको हकमा पनि प्रक्रिया अगाडि बढिसककेको इन्टरमोडल यातायात विकास समितिले बताएको छ। सुक्खा बन्दरगाह ८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ। बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनर राख्न सकिने पार्किङस्थल निर्माण हुने प्राविधिक इन्जिनियरले बताएका छन्।
रसुवागढी नाका चीन सरकारले सन् २०१७ को सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिनुका साथै नेपाललले सो नाका जाने बाटो गल्छी–विदुर–वेत्रावती–मैलुङ–रसुवागढी सडकलाई त्रिदेशीय मार्गका रूपमा विकास तथा विस्तार गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !