सभामुखमा सकस : पूर्वमाओवादीलाई ओलीको भर, पूर्वएमालेलाई प्रचण्डको डर
काठमाडौं : संसद सभामुख बिहीन भएको तीन महिना बितिसक्यो । तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा असोजमा पक्राउ परेपछि संसद सभामुख बिहीन छ ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा संसदमा बुहमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै किचलो छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन।
अध्यक्षद्वयको आ–आफ्नै गोजीका नेतालाई सभामुख बनाउनुपर्ने अडानले पनि उनीहरुबीच सहमति हुन नसकेको हो । पटकपटकको छलफलमा समेत सभामुख कसलाई बनाउने भन्ने टुंगोमा नपुगेका ओली र प्रचण्डलाई च्यालेन्ज गर्दै अहिले राष्ट्रपति विद्या भण्डारीसमेत आफ्नै गोजीका नेतालाई सभामुख चयन गर्न नेकपाभित्र चलखेल गरिरहेकी छिन् ।
नेकपाभित्र राष्ट्रपति भण्डारीको चलखेल कति छ भन्ने कुरालाई मंसिर २९ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक बस्दाबस्दै भण्डारीले ७ जना नेताहरुलाई शीतलनिवास बोलाएर छलफल गर्नुले पुष्टि गर्छ ।
सभामुख चयनमा नेकपाभित्र तीन समूह छ । ओलीको सुवास नेम्वाङ, प्रचण्डका अग्नि सापकोटा र राष्ट्रपति भण्डारीकी शिवमाया तुम्बाहाम्फे (हाल उपसभामुख)। जसले नेकपाभित्र विवाद हुँदै आएको छ। ओली र प्रचण्डबीच सभामुख चयनमा विवाद भइरहँदा नेकपाको राजनीतिभित्र राष्ट्रपति भण्डारीको हस्तक्षेपले झन् सकस हुँदै गएको छ ।
पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन सभामुख चयनका लागि भन्दै पुस ११ गतेसम्म स्थगित भयो । तर सभामुख चयनमा सहमति हुन नसक्दा ११ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर पुस १६ गतेसम्मका लागि स्थगित गरियो । यो बीचमा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने तयारी नेकपाभित्र थियो । तर राष्ट्रपति भण्डारीको हस्तक्षेपपछि उचित समयमा दिने भन्दै तुम्बाहाम्फेको राजीनामा पनि रोकियो।
अहिले राष्ट्रपति, राष्ट्रियसभा अध्यक्षमा पूर्वएमालेबाट छन् । पूर्वमाओवादीहरु संवैधानिक पदहरु सबै पूर्वएमालेलाई दिन नहुने पक्षमा छन् । पार्टी एकताअघि पूर्वमाओवादीको भागमा आएको सभामुख अहिले पनि आफुहरुले नै पाउनुपर्ने उनीहरुको माग छ ।
पार्टी एकताको संक्रमण अझैं नटुंगिएको कुरा स्थायी कमिटी बैठकमा पनि उठेको भन्दै उनीहरु पूर्वमाओवादीबाटै सभामुख चयन हुनुपर्छ भन्नेमा छन् । तर पूर्वएमालेहरु भने पार्टी एकतापछि सबै एउटै रहेको भन्दै भागबन्डा गर्न नहुने अडान छन् ।
विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के गर्ने भन्ने नेकपाभित्रै विवाद छ । नेकपाभित्र ओली जसरी पनि अबको संसदबाट पास गर्ने तयारीमा छन् भने अर्का अध्यक्ष प्रचण्ड एमसीसी लिन नहुने अडानमा छन् । यसैकारण पनि ओलीले सभामुखमा आफ्नै ल्याउन चाहेका छन् । जसमा अहिलेसम्म प्रचण्डले मानेका छैनन् ।
संवैधानिक परिषद्का प्रमुख जति सबै पूर्वएमालेलाई दिन नहुने भन्दै पूर्वमाओवादी नेताहरुले प्रचण्डलाई दबाब दिँदै आएका छन् । कार्यकारी अध्यक्षसँग सभामुख पद साटेको आरोप लागिरहेको बेला प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यका अनुसार केही दिनअघि खुमलटारमा भएको पूर्वमाओवादीहरुको छलफलमा कुनै हालतमा सभामुख पद नछाड्न प्रचण्डलाई सुझाव दिएका थिए । उनले भने 'हेरौं अबको एक दुई दिनमा के हुन्छ ।'
प्रतिक्रिया दिनुहोस !