अन्‍नपूर्ण साइकल र्‍याली आज

अन्‍नपूर्ण साइकल र्‍याली आज

काठमाडौं : पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको साइकल र्‍याली शनिबार सञ्चालन हुने भएको छ । साइकल र्‍यालीको यो छैटौं संस्करण हो । अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । यो साइकल र्‍याली पनि त्यसैको एउटा पाटो हो ।

अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन एवं प्रशासन विभाग प्रमुख सुदमकुमार सिजापतिले साइकल र्‍यालीको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । ‘साइकल र्‍यालीको सम्पूर्ण तयारी पूरा भइसकेको छ’, सिजापतिले भने, ‘हाम्रो मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सरविरुद्ध र स्वस्थ वातावरणबारे जनचेतना जगाउनु हो । साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउनु पनि र्‍यालीको उद्देश्य हो । यसअघि भएका पाँच संस्करणबाट हामी आफ्नो उद्देश्यमा सफल पनि हुँदै आएका छौं । त्यसैले यसपटक पनि हामीले साइकल र्‍यालीलाई निरन्तरता दिएका हौं ।’

र्‍यालीमा दुई हजारभन्दा बढी साइक्लिस्टको सहभागिता रहने जानकारी आयोजक संस्थाका कर्पोरेट स्ट्राटिजी, ब्रान्ड तथा सर्कुलेसन विभागका प्रमुख प्रणिल अर्यालले दिए । ‘विगतको तुलनामा यसपटक सहभागीको संख्या निकै बढेको छ । सामाजिक अभियान भएकाले पनि सहभागीको संख्यामा वृद्धि भएको हुन सक्छ’, अर्यालले भने ।

अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसन, नेपाल साइक्लिङ संघ, नेपाल साइकल सोसाइटीलगायतका संस्थासँग मिलेर पछिल्लो ६ वर्षयता जनचेतनामूलक साइकल र्‍याली आयोजना गर्दै आएको हो । साइकल र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ । 'र्‍यालीमा सहभागी हुन विभिन्न पेसा, व्यवसाय र उमेरसमूहका व्यक्तित्वहरूले स्वतःस्फूर्त रूपमा आफ्नो नाम दर्ता गराउनुभएको छ । नाम नै टिपाएर सहभागी हुन आउनेको संख्या दुई हजारको हाराहारीमा छ । स्वतन्त्र रूपमा पनि धेरैको सहभागिता रहने अनुमान गरेका छौं’, अर्याल भन्छन् ।

र्‍यालीमा सुरक्षा निकायका प्रमुख, विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि, विदेशी नियोगका प्रमुखहरू, निजामती कर्मचारी, चिकित्सक, खेलाडी, व्यवसायी र कलाकारहरूको समेत सहभागिता रहने जानकारी पनि अर्यालले दिए । र्‍यालीलाई नेपाल साइक्लिङ संघले प्राविधिक सहयोगसमेत गरेको छ ।

शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु हुने र्‍याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर टुंगिनेछ । र्‍यालीको दूरी २१ किलोमिटर रहेको बताइएको छ । सहभागी साइक्लिस्टको साइकल बिग्रिएमा मर्मतका लागि स्टलको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । साइकल मर्मतको व्यवस्था प्याङ्क बाइकले गरेको हो ।

र्‍यालीमा सहभागी हुन चाहनेले साइकल र हेल्मेटको व्यवस्था आफैं गर्नु पर्नेछ । साइकल र्‍यालीकै अवसरमा यसपटक हालै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने जानकारी पनि अर्यालले दिए ।

गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३औं सागमा बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले क्रस कन्ट्री तथा राजेश मगर र निश्मा श्रेष्ठले डाउन हिल स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । नेपालले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । साइकल र्‍यालीको समापन कार्यक्रममा सहभागीमध्येबाट गोलाप्रथाको माध्यमले विभिन्न पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

गोला प्रथाबाट एकजनाले टीसीएलको ३२ इन्चको टेलिभिजन, एकजनाले माउन्टेन बाइक, एकजनाले सिको घडी, एकजनाले सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड यात्राको अवसर, दुईजनाले यती एयरलाइन्समार्फत काठमाडौं—पोखरा—काठमाडौंको हवाई टिकट, पाँचजनाले ६ महिनाका लागि अन्नपूर्ण पोस्ट्, अन्नपूर्ण सम्पूर्ण र दी अन्नपूर्ण एक्सप्रेस पत्रिका निःशुल्क प्राप्त गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.