अन्‍नपूर्ण साइकल र्‍यालीमा उत्साहजनक सहभागिता (तस्बिरसहित)

अन्‍नपूर्ण साइकल र्‍यालीमा उत्साहजनक सहभागिता (तस्बिरसहित)

काठमाडौं : अन्‍नपूर्ण मिडिया नेटवर्कको साइकल र्‍याली शनिबार बिहान सुरु भएको छ । तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय परिसरमा साइक्लिस्टहरु सहभागी भइसकेका छन् ।

साइक्लिस्टहरु अहिले दर्ताको लागि लाइनमा उभिएका छन् । खेलाडी तथा अन्य साइकलका सौखिनहरु साइकल यात्रामा सहभागी हुन उत्साही देखिएका छन् ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको साइकल र्‍याली शनिबार सञ्चालन भएको हो ।

साइकल र्‍यालीको यो छैटौं संस्करण हो । अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दैआएको छ । साइकल र्‍याली पनि त्यसैको एउटा पाटो हो ।

अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन एवं प्रशासन विभाग प्रमुख सुदमकुमार सिजापतिले भने ‘हाम्रो मुख्य उद्देश्य पाठेघरको मुखको क्यान्सरविरुद्ध र स्वस्थ वातावरणबारे जनचेतना जगाउनु हो । साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउनु पनि र्‍यालीको उद्देश्य हो । यसअघि भएका पाँच संस्करणबाट हामी आफ्नो उद्देश्यमा सफल पनि हुँदै आएका छौं ।’

र्‍यालीमा दुई हजारभन्दा बढी साइक्लिस्टको सहभागिता रहने जानकारी आयोजक संस्थाका कर्पोरेट स्ट्राटिजी, ब्रान्ड तथा सर्कुलेसन विभागका प्रमुख प्रणिल अर्यालले दिए । 

अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसन, नेपाल साइक्लिङ संघ, नेपाल साइकल सोसाइटीलगायत संस्थासँग मिलेर पछिल्लो ६ वर्षयता जनचेतनामूलक साइकल र्‍याली आयोजना गर्दै आएको छ । र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ ।

र्‍यालीमा सुरक्षा निकायका प्रमुख, विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि, विदेशी नियोगका प्रमुख, निजामती कर्मचारी, चिकित्सक, खेलाडी, व्यवसायी र कलाकारको समेत सहभागिता रहनेछ । र्‍यालीलाई नेपाल साइक्लिङ संघले प्राविधिक सहयोग गरेको छ ।

शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु हुने र्‍याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर टुंगिनेछ । र्‍यालीको दूरी २१ किलोमिटर रहेको बताइएको छ । सहभागी साइक्लिस्टको साइकल बिग्रिएमा मर्मतका लागि स्टलको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । साइकल मर्मतको व्यवस्था प्याङ्क बाइकले गरेको हो ।

साइकल र्‍यालीकै अवसरमा यसपटक हालै नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने जानकारी पनि अर्यालले दिए ।

गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३औं सागमा बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले क्रस कन्ट्री तथा राजेश मगर र निश्मा श्रेष्ठले डाउन हिल स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । नेपालले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । साइकल र्‍यालीको समापन कार्यक्रममा सहभागीमध्येबाट गोलाप्रथाको माध्यमले विभिन्न पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

गोला प्रथाबाट एकजनाले टीसीएलको ३२ इन्चको टेलिभिजन, एकजनाले माउन्टेन बाइक, एकजनाले सिको घडी, एकजनाले सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइँकुण्ड यात्राको अवसर, दुईजनाले यती एयरलाइन्समार्फत काठमाडौं—पोखरा—काठमाडौंको हवाई टिकट, पाँचजनाले ६ महिनाका लागि अन्नपूर्ण पोस्ट्, अन्नपूर्ण सम्पूर्ण र दी अन्नपूर्ण एक्सप्रेस पत्रिका निःशुल्क प्राप्त गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.