बजारमा झन् बढ्यो चहलपहल
इटहरी : कोरोनाको त्रासका कारण सरकारले भीडभाड नगर्न अनुरोध गरेको छ। तर बजारमा भने भीड झन् बढेको छ। पूर्वी नेपालका बजारमा उपभोक्ताको चहलपहल बाक्लिएको हो। अत्यावश्यक सामग्री किन्न उपभोक्ताको भीड बढेको हो। विश्वका विभिन्न देशमा सहर नै लकडाउन हुने र बाहिर ननिस्कने क्रम बढेपछि त्यस्तै लकडाउन सुरु हुने डरले उपभोक्ताको भीड पसलमा लागेको हो।
‘नाका पनि बन्द भन्दैछन्, बाहिर पनि ननिस्कनु भन्दैछन्’, इटहरी ४ की मीना थापाले भनिन्, ‘भोलिको दिन के हो के हो ? , त्यसैले सामान किनेर राख्न खोजेको।’ बजारमा खाद्यान्न र अत्यावश्यक वस्तुको किनबेच बढेको छ। पूर्वका डिपार्टमेन्ट स्टोर, सपिङ मलमा सामान किन्नेको भीड थियो। दैनिक उपभोग्य सामानमा मानिसको भीड जम्मा भएको हो। कोरोनाबाट जोगिन भीडभाडमा नजान र सावधानी अपनाउन सरकारले अनुरोध गरे पनि बजारमा मानिसको चहलपहल झन् बढेको हो। स्टक राख्ने गरी खरिद गर्दा उपभोक्ताको भीड मात्र बढेको छैन, उपभोग्य सामग्रीको अभाव पनि देखिएको छ।
‘बजारमा नुन, ग्याँसको अभाव सुरु भएको छ’, इटहरीका दिवस निरौलाले भाउसमेत महँगिएको बताउँदै भने, ‘सामान नभएरभन्दा पनि धेरै स्टक राख्न थालेकाले नपाइएको जस्तो लाग्छ।’ अघिपछि बन्द र नाकाबन्दीमा हुने अभावभन्दा यो पटक फरक अनुभव भएको स्थानीयको भनाइ छ। बन्द र नाकाबन्दीमा क्षणभरका लागि भए पनि बजार खुल्दा उपभोक्ताको भीड लाग्थ्यो। ‘यहाँ त भीडभाडमा पनि जान नसकिने अवस्था आउन सक्छ’, विराटनगरबाट आएका शरद भट्टराईले भने, ‘त्यसैले बेलैमा किनेर स्टक राख्नुपरेको हो।’
यता व्यवसायी भने खाद्यान्न आपूर्तिमा संघले नै ध्यान दिएको बताउँछन्। वस्तुगत व्यवसायी संघ इटहरीका अध्यक्ष कमल पौडेलका अनुसार आपूर्तिलाई सहज बनाउन आफूहरूले व्यवसायीलाई अनुरोध गरिएको छ। ‘कालाबजारी नहोस् र सहज आपूर्तिका लागि हामीले विगत झैं यसपटक पनि ध्यान दिएका छौं’, उनले भने। कोरोनाको त्रासका कारण शैक्षिक संस्था बन्द गरिएका छन् भने कार्यक्रम र जमघट भने ठप्प बनेको छ।
प्रतिक्रिया दिनुहोस !