लोमान्थाङमा छैनन् स्वास्थ्यकर्मी
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ, छोनुप र छोसेरका ३ हेल्थ पोस्ट विगत ४ महिना देखि स्वास्थ्यकर्मीबिहीन छ । गत मंसिरदेखि ताल्चा मारिएको लोमान्थाङका ३ हेल्थ पोस्ट भवन ४ महिना बितिसक्दा समेत भवन अझ खुल्न नसकेको हो ।
जिल्लामा ५ दर्जन स्वास्थ्यकर्मी कार्यरत रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएपनि लोमान्थाङ गाउँपालिकामा रहेका हेल्थ पोस्टमा स्वास्थ्यकर्मी पुग्न सकेका छैनन्।स्वास्थ्यकर्मी हेल्थ पोस्ट नगएपछि स्थानीयबासीले लगायतले पाउने स्वास्थ्य लाभको सुविधाबाट बञ्चित अन्योल बनेको हो।
उपल्लो मुस्ताङमा यार्तुङ पर्व सकिए लगत्तै उपल्लो मुस्ताङीहरु जाडो छल्न धमाधम जिल्ला बाहिरिन्छन् । उपल्लो मुस्ताङमा जाडो बढेपछि स्थानीयका साथै त्यहा संञ्चालित स्थानीय तह ,कार्यालयहरु बन्द हुने गरेको छ ।
तर, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप कार्यालय मात्र खुल्ला हुने गरेको स्थानीय बताउँछन् । लोमान्थाङका हेल्थ पोस्टहरु गत मंसिरदेखि बन्द भएको र गर्मीयामको चैत्र महिना लाग्दा समेत अझै हेल्थ पोस्टको स्वास्थ्य सुविधा नियमित हुन नसकेको लोमान्थाङका स्थानीय सोनाम ढुके गुरुङले जानकारी दिए ।
उपल्लो मुस्ताङबाट जाडो छल्न बेशी झरेका अधिकाश स्थानीयहरु यतिखेर घर फर्किसकेको अवस्था छ । जाडो छल्न झरेको लोमान्थाङ गाउपालिका पनि ४ महिनादेखि बन्द छ । स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि समेत अझै पालिका नफर्किएको स्थानीय गुरुङले उल्लेख गरे । स्थानीयले गाउँ पुगेको १ महिना बितसक्दा समेत नजिकैको हेल्थ पोस्टमा एकजना स्वास्थ्यकर्मी पनि देख्न नपाउदा स्थानीय खिन्न छन्। जाडो यामभरी गाउ कुरेर बसेका स्थानीयले पनि स्वास्थ्य सुविधा पाउनबाट बञ्चित रहनु रहे ।
उत्तरी चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिका पनि कोरोनाको सम्भावित जोखिम छ । पालिकाका स्वास्थ्य संयोजक सम्बन्धित कार्यस्थलमा नफर्किएपछि स्वास्थ्य चेकजाचको समस्या थप जटिल बनेको हो । पछिल्लो समय नोभेल कोरोना भाइरस ( कोभिड–१९ )ले विश्व समुदाय नै आतंकित बनाइरहेको अवस्थामा समेत लोमान्थाङका ३ हेल्थ पोस्ट कर्मचारीबिहीन बनेको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको बताएपनि उपल्लो मुस्ताङी अहिले सामान्य रुघाखोकी लाग्दा समेत उपचार पाउनबाट बञ्चित छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले उपल्लो मुस्ताङका स्वास्थ्यकर्मी जाडो बिदामा रहेको जानकारी दिए । उनले उपल्लो मुस्ताङमा स्थानीय फर्किसकेकाले अब छिट्टै स्वास्थ्यकर्मीलाई साविक स्थानमा खटाइने बताए । तर ,लोमान्थाङ हेल्थ पोस्टमा स्थानीय स्वास्थ्यकर्मी रहने गरेपनि उनी पनि बिदामा बसेको जनाइएको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको पहलमा लोमान्थाङमा कोरोना हेल्थ डेस्क स्थापना गर्ने भनिए पनि स्थापना हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले कोरोना रोकथाम गर्न उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानीय तह ,सेना ,प्रहरी र एक्याप लगायतको समन्वयमा हेल्थ डेस्क स्थापना राख्ने जनाए पनि त्यसले पूर्णता नपाएको स्थानीय बताउँछन् । तर जिल्लाको मुक्तिनाथ ,घासा र जोमसोम विमानस्थलमा भने कोरोना हेल्थ डेस्क स्थापना भइसेको छ ।
प्रतिक्रिया दिनुहोस !