उत्पादन बढाउन चक्लाबन्दी
स्याङ्जा : कृषिमा यन्त्रीकरण र व्यवसायीकरणमार्फत उत्पादकत्व बढाई किसानको आर्थिकस्तर उकास्ने उद्देश्यले पुतलीबजारको गोठिङ् खेतमा गरिएको चक्लाबन्दीको काम सकिएको छ। चक्लाबन्दीका कारण विगतका बाँझा जमिनमा पनि खेती हुने भएको छ।
गण्डकी प्रदेश सरकारले जग्गा चक्लाबन्दीलाई प्रोत्साहन गर्ने र चक्लाबन्दी गरिएको जमीनमा सिँचाइ, प्रविधि तथा उन्नत बीउवीजनका लागि सहयोग गर्ने नीति लिएपछि किसान यसतर्फ थप आकर्षित भएको बताइएको छ।
पुतलीबजार नगरपालिका ४ स्थित गोठिङ्मा स्वामित्व रहेका यहाँका एक सय २० जना किसानका ३ सय १० रोपनी खेतलाई चक्लाबन्दी गरिएको हो। पहिलो खेती असार १५ मा धान रोपेर सुरुवात गरिने भएको छ। प्रदेशस्तरीय धान दिवसमा र मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ।
‘स-साना तथा ठूला गह्रा’ लाई मिलाएर चक्लाबन्दी बनाउन यहाँका किसानले सहमत जनाएपछि गत वर्षदेखि चक्लाबन्दीको प्रक्रिया सुरु भएको वडाअध्यक्ष ओम खडकाले जानकारी दिए।
‘वर्षमा ३ बाली उत्पादन गर्ने, १० वर्षसम्म कृषि प्रयोजन बाहेकका भौतिक संरचना बनाउन नपाइने, न्यूनतम ५ वर्ष सामूहिक खेती गर्नु पर्ने, बेचबिखन गर्नुपरेमा खरिद गर्नेले सोही सर्त अनुसार कबुल गर्नुपर्नेलगायत पालना गर्नुपर्नेछ’, अध्यक्ष खड्काले बताए।

धान रोप्न मल बोक्दै महिला। तस्बिर : अन्नपूर्ण
गण्डकी प्रदेश सरकारले प्रतिरोपनी १० हजारका दरले ३० लाख १० हजार उपलब्ध गराए पनि भौगोलिक अवस्थाका कारण ६० लाख खर्च भएको अध्यक्ष खड्काको भनाइ छ। किसानका जग्गाको क्षेत्रफल र मिहिनेत अनुरूप उत्पादकत्व मूल्य किसानले पाउनेछन्। सामूहिक खेतीले किसानलाई काममा जाँगर बढ्नुका साथै जग्गा जमिन बाँझो हुँदैन।
जिल्लाको पुतलीबजार नगरपालिका-४ को गोठिङ कृषक समूहले चक्लाबन्दीका काम सुरु गरेको हो। गत माघदेखि जग्गा चक्लाबन्दीको काम सुरु भएको हो। असार १५ गते रोप्ने धानको बीउ तयार भएको छ। किसानले खेतमा मल हालेर तयार पारेका छन्। किसानले सामूहिक ७ सय किलो रामदान धान बीउ राखेका छन्। कृषि ज्ञान केन्द्रले धान पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेकोे छ। कार्यक्रमअन्तर्गत बाली व्यवस्थापन, गोदाम घर निर्माण, धान काट्ने मेसिनसमेतको व्यवस्थापन गरिनेछ।
कार्यक्रम लागू भएपछि कृषिको लागत खर्च कम हुने, खेतबारी बाँझो नहुने, किसानको मिहिनेत प्राप्त हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग हुने जमिनको खण्डीकरण रोकिनेलगायत फाइदा हुने गोठिङ् कृषक समूहका अध्यक्ष दयाशिन्धु पोखरेलले जानकारी दिए।
यसैगरी, पुतलीबजार नगरपालिकाले पनि कुलो, किसानका लागि पिउने पानीका धारा, शौचालय निर्माणका लागि भन्दै २६ लाख रुपैयाँ उपलब्ध गराएको छ।
प्रतिक्रिया दिनुहोस !