ओखलढुंगामा पहिरै-पहिरो : २२ बस्ती उच्च जोखिममा
ओखलढुंगाः सिद्धिचरण नगरपालिका ८ का सल्लेरीका रामबहादुर गुरुङलाई वर्षा सुरु भएसँगै निद्रा लाग्दैन । उनको घरैमुनिसम्म डरलाग्दो पहिरो आइसकेको छ । १० वर्षपहिले सुरु भएको पहिरोले घरको करेसाबारी नै बगाइसकेको गुरुङले बताए । उनले भने, 'जब वर्ष सुरु हुन्छ, रातभरि निदाउन सकिदैन, कतिबेला बगाउने हो भन्ने चिन्ताले सताउँछ।'
उनको मात्रै होइन भिमबहादुर गुरुङ, गोविन्दप्रसाद पौडेललगायत ४० परिवार र एक विद्यालय समेत तिलखोरिया पहिरोको जोखिममा छन् । स्थानीयको १ सय रोपनीभन्दा बढी खेतबारी पहिरोले बगाइसकेको छ । नियन्त्रणका लागि प्रयास भएपनि पहिरो डरलाग्दो भएकाले स्थानीयस्तरमा संभव नभएको वडा अध्यक्ष हेम तामाङले बताए । पहिरोले ४० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरोले विद्यालयको खेलमैदान समेत बगाएको उनको भनाइ छ । यो पहिरो नियन्त्रणका लागि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट बर्षेनि योजना परेपनि काम नभइ दुरुपयोग हुने गरेको स्थानीयको गुनासो छ ।
मोलुङ गाउँपालिका २ वरुणेश्वरस्थित डाँडागाउँकी ६८ वर्षीय पुटी शेर्पा पनि वर्षाद्मा रातभरि सुत्दिनन् । गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहेकी उनी ८ वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित भएकी थिइन् ।
निर्वाहमुखी खाद्यवाली र तरकारी लगाएर जीविका धान्ने जग्गा समेत पहिरोले बगाइदिएपछि शेर्पा अहिले चिन्तित छिन् । 'जाऊँ भने कता जाऊँ, जाने ठाउँ छैन,' उनी भन्छिन्, 'बसौं भने पहिरोले बसीखान दिएको छैन ।' ०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोले करिब ३ सय रोपनी जमिन बगाइसकेको छ । आधा दर्जनभन्दा बढी घर विस्थापित गराएको पहिरोका कारण सिंगो गाउँ नै धाँजा फाँटेको छ ।
पहिरोले गर्दा डाँडागाउँ र धनेपुका ५६ घर परिवार जोखिममा छन् । तत्कालीन जिल्ला भू संरक्षण कार्यालय ओखलढुंगाले तयार गरेको अभिलेख अनुसार जिल्लाभित्र रहेका १ सय ४६ वटा ठूला पहिरो मानव नियन्त्रण बाहिर छन् ।
०७२ सालको भूकम्पपछि पहिरोको संख्या थपिएको छ । भूकम्पले मोलुङ गाउँपालिकाको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, खिजीदेम्वाको रगनी लगायतका गाउँ पहिरोको चपेटामा परेका छन् । वस्तीभन्दा तल र माथिको भूभागमा पहिरो गएपछि ती स्थानका वस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाइका प्रमुख युवराज खरेलले बताए । पहिरोले विस्थापित ८४ परिवारको स्थानान्तरण प्रक्रिया सकिएको उनको भनाइ छ ।
भूकम्पपछिको पहिरोले विस्थापित भएका वस्ती स्थानान्तरणको काम थालिए पनि अन्य क्षेत्रमा पहिरो रोकथाम र नियन्त्रणका काम हुन सकेका छैनन् । पहिरोबाट सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोली, बेतिनी, वाक्सा, च्यानाम, बलखु, हर्कपुरलगायतका स्थानमा रहेका ठूला पहिरोले ५ सय भन्दा बढी हेक्टर जमिन बगाइसकेको छ ।
ओखलढुंगा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिएपनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ओखलढुंगाका २२ वटा वस्ती पहिरोको उच्च जोखिममा छन् ।
मध्यम जोखिममा १४ वटा र जोखिममा ३ वटा छन् । जिल्लाभित्र असंख्य मात्रामा रहेका साना पहिरो नियन्त्रणको प्रयास भइरहेपनि मानव नियन्त्रण बाहिर रहेका ठूला पहिरोले दर्जनौँ वस्ती जोखिममा पारेको छ । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले समितिको बैठकबाट विपद्को अवस्थाको आंकलन गरेर उद्धार तथा राहतका लागि तयारी गरिएको बताए । जिल्ला तथा स्थानीय तहबाट यस्ता पहिरो नियन्त्रणका लागि दिर्घकालीन योजना नबन्दा बर्षेनि धनजनको क्षति व्यर्होनु परिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !