बारेकोट पहिरो : चार सय परिवार विस्थापित

बारेकोट पहिरो : चार सय परिवार विस्थापित

जाजरकोट : पहिरोले बस्ती बगाउन थालेपछि जाजरकोटको बारेकोटमा चार सय बढी परिवारका दुई हजार बढी मानिस विस्थापित भएका छन् ।  प्रहरीका अनुसार बारेकोट १ कोट्लीका १२ परिवारका ६० जना, सोही वडाको धौलाकोटका ३२ घरका एक सय २५ जना, वडा नम्बर ४ जिरीका ५१ परिवारका दुई सय १५ जना, गोठगाउँका ७३ घरका तीन सय ७० जना, तल्लो जिरीका ३० घरका एक सय पचास जना, मैनाका ६० घरका तीन सय जना र वडा नम्बर ५ का कालाखोली, तोल्खान, भैलोखानाका एक सय ५० घरका नौ सय जना विस्थापित भएका छन् ।

प्रहरीले संकलन गरेको तथ्यांक अनुसार तीन दिनयता अहिलेसम्म बारेकोटमा चार सय आठ घर विस्थापित भएका छन् । दुई हजार एक सय २० भन्दा बढी मानिस विस्थापित भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

बारेकोटमा गएको पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ  । विस्थापितको संख्या अझै बढ्न सक्ने जनाइएको छ । गाउँपालिकाले विस्थापितको विवरण संकलन गरिरहेको छ। बेपत्ताको खोजीमै सबै केन्द्रित भएको र संचार सम्पर्क विच्छेद भएका कारण बालीनाली र पशुचौपायामा भएको क्षतिको विवरण आउन नसकेको डिएसपीले बताए । पहिरोको त्रासले गाउँपालिका अध्यक्ष महेन्द्र शाह, वडाध्यक्ष अजबीर सिह र प्रमुख प्रशासकीय प्रमुख गोविन्द सिंहको परिवार विस्थापित भएको छ । 

अध्यक्ष शाहले आफ्नो परिवार विस्थापित भएर विद्यालयमा बसिरहेको छ तर पनि आफू बेपत्ताको खोजी र विस्थापितको राहत तथा व्यव्थापन‍मा जुटिरहेको बताएका छन् । पानी निरन्तर परिरहेकाले जमिन भासिने र पहिरो जाने क्रम नरोकिँदा बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमालगायतका गाउँ नै बग्ने खतरा बढेर गएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । 

पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल हालेर बसिरहेका छन् ।  धेरैजससो विस्थापित भगवति आधारभूत विद्यालय, हिमालय माध्यमिक विद्यालय गोठगाउँ, गोरख आधारभूत विद्यालय जिरी लगायतका विद्यालयमा आश्रय लिएर बसेका छन् । 

विस्थापित परिवारलाई खान र बस्नको निकै समस्या परेको छ । विस्थापितलाई  शौचालय र खानेपानीको समेत समस्या परिरहेको छ । ठूलो संख्यामा मानिस विस्थापित भएकाले व्यवस्थापनमा कठिनाई भएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । 

एक विद्यालयमा आश्रय लिएको वडाध्यक्ष अजवीर सिंहको परिवार ।तस्बिर : अन्‍नपूर्ण

अत्याधिक वर्षातले ठाउँ ठाउँमा पहिरो गएको, गाउँ नै भाँसिएको र ठाँउठाउँमा चिरा परेपछि घर छोड्न बाध्य भएको बारेकोट ५ का लिलबहादुर शाहीले बताए ।  उनले जतिखेर पनि पहिरो जान सक्ने त्रासले गाउँलेहरु चिन्तित भएको बताए । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्नु पर्ने उनको माग छ ।

पहिरोमा बेपत्ता पाँचजनाको खोजीमा सबै केन्द्रित भएका छन् तर विस्थापित परिवारको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । अहिलेसम्म प्रमुख जिल्ला अधिकारी संयोजकत्वको विपद् व्यवस्थापन समितिले बारेकोटमा विस्थापित परिवारको राहत, उद्धार र व्यवस्थापनमा आवश्यक पहल नगरेको स्थानीयको गुनासो छ ।

विस्थापितई खान बस्नको निकै समस्या परेको छ । सुत्केरी तथा गर्भवती महिला, बालबालिका र जेष्ठ नागरिक निकै समस्यामा परेका छन् । धेरै विद्यालयका छाना चुहिने भएकोले सुत्न नसकेर रातभर जाग्राम बस्ने गरेको बारेकोट ५ का नरबहादुर रोकायले बताए । 'पहिरोको त्रासले विद्यालयमा आएर बसेकालाई खाना बस्नको निकै समस्या भएको छ । धेरै परिवारको विचल्ली भएको छ । 

'बिहान बेलुका छाक टार्न समेत समस्या भएको छ, उनले भने, 'अहिलेसम्म कसैले पनि विस्थापित परिवारका समस्याबारे कसैले चासो दिएका छैनन् ।' बाढीपहिरोले बारेकोटका विभिन्न गाउँ जोड्ने बाटोघाटो सबै बन्द भएका छन् । सदरमुकाम खलंगा आउने बाटो पनि अवरुद्ध छ । सञ्चार सम्पर्क विच्छेद छ जसका कारण बारेकोट पहिरोमा राहत, उद्धार र विस्थापित परिवारको व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय हुन सकेको छैन । गाउँपालिकाले पहिरो जाने क्रम नरोकिएकाले सर्तक र सचेत रहन सबैलाई आग्रह गरेको छ ।हेलिकोप्टरबाट शनिबार केही थान त्रिपाल, खाद्यान्नलगायतका राहत सामग्री बारेकोट झारिएको छ । प्रदेश सरकारले उक्त राहत सामग्री पठाएको हो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.