नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री अनुपस्थित

काठमाडौं : लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटार स्रोतका अनुसार भर्खरै बैठक सुरु भएको हो । यसअघि देशभर बाढी पहिरोको जोखिम बढेपछि बैठक स्थगित भएको थियो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् । 

बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो । लामो समय स्थगित भएर सुरु भएको बैठकले पार्टी भित्रको विवाद मिलाउने अपेक्षा गरिएको छ । मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् ।

यसअघि साउन ६ गते  बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । साउत ६ गतेको बैठकमासमेत प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपा स्थायी कमिटी बैठक पटक–पटक गरेर १० पटक स्थगित भएको छ । बुधबार ११ बजे बोलाइएको बैठक स्थगित गरेर पौने २ बजे सुरु भएको हो ।  

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद छ।

ओली र दाहाल गत असार १८ गतेयता निरन्तर छलफलमा छन्। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिइरहेका छन्। दाहालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुईमध्ये एउटा पदबाट राजीनामा दिन ओलीलाई भनिरहे। त्यहीबीच साउन ३ को सचिवालय बैठकअघि दुई नेताबीच विवाद हल गर्ने उपायस्वरूप ‘अर्ली’ महाधिवेशन गर्ने, ओलीले महाधिवेशनमा दाहाललाई सहयोग गर्नेलगायत विषयमा करिब सहमति जुटेको थियो। त्यसपछि सचिवालयमा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव ल्याए। दाहाल मौन बसेरै सहमति जनाए। तर, खनाल, माधव नेपाल र श्रेष्ठले महाधिवेशन मंसिरमै सम्भव नभएको भन्दै प्रश्न उठाए। त्यसपछि फेरि दाहाल मंसिरमै महाधिवेशन नहुने भन्दै पछि हटेका थिए। त्यसयता ६ साउनमा थोरै समयका लागि स्थायी समिति बैठक बस्यो। 

९ साउनमा दाहाल–ओली एक चरण छलफलमा बसे। तर, त्यसपछि छलफलसमेत हुन सकेन। सहमति नजुटेपछि दुवै पक्ष आआफ्ना रणनीति बनाउनै लागिपरे। दाहालले वरिष्ठ नेता नेपाल, खनाल प्रवक्ता श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापासँग पटक–पटक छलफल गरे। ओलीले पनि दाहाल र नेपालनिकट प्रभावशाली नेता, केही मन्त्रीसम्मलाई अलग–अलग भेटेर छलफल गरे। आफूनिकट नेतासँगको छलफल दुवै पक्षले निरन्तर जारी राखे।

दाहालले सोमबार पनि खुमलटारस्थित निवासमा बिहान र साँझ दुईपटक खनाल, नेपाल र श्रेष्ठसँग सामूहिक छलफल गरे। गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग पनि एक्लै छलफल गरे। बेलुकी महासचिव विष्णु पौडेलसँग पनि छलफल गरे। उपाध्यक्ष गौतम भने बोलाए पनि सोमबार दाहाल निवास पुगेनन्।

दाहाल–नेपाल पक्षले ओली अनुपस्थित रहे पनि स्थायी समिति बैठक अगाडी बढाउने योजना बनाएको छ। प्रधानमन्त्री ओलीको असार १४ को अभिव्यक्तिबारे बोल्न बाँकी नेताले बोल्न चाहे समय दिने, नत्र नियमित एजेन्डामै बैठकलाई फर्काएर छलफल गराउने, एउटा निष्कर्षमा बैठकलाई लैजाने रणनीति देखिएको छ।

ओली पक्षले भने साउन ३ को सचिवालय बैठकमा महाधिवेशनमा जाने विषयमा नेताहरूबीच सहमति बनेको र त्यसको लिखित प्रस्ताव तयार पारेर महाधिवशेनमै जाने गरी अगाडि बढ्नुपर्ने पक्षमै अडान केन्द्रित राख्ने रणनीति बनाएको छ। ओलीले पनि दिनभर निकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.