ओलीले बैठक स्थगित गर्नु अनुचित भएको नेकपा स्थायी कमिटी बैठकको ठहर
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले नयाँ मोड लिएको छ । मंगलबार बिहानका लागि तय भएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले एकल निर्णयका आधारमा स्थगित गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले यसलाई अनुचित भएको ठहर गरेको छ ।
स्थायी समितिका २९ सदस्य सहभागी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘आजको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन’, प्रवक्ता श्रेष्ठले भने, ‘यस परिस्थितितमा पार्टी एकता र विधिलाई ध्यानमा लागि अर्का अध्यक्ष ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’
त्यसैगरी पार्टी एकताको रक्षा गर्न र पार्टी विधि एवम् पद्धति अनुसार अगाडि बढाउन सबै नेता, कार्यकर्ता र सदस्यलाई आग्रह गर्ने निर्णयसमेत स्थायी समिती बैठकले गरेको छ ।
‘पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडि बढाउन, संकटलाई सकारात्मक ढंगले निकास दिनेगरी योगदान पुर्याउन सबै नेता कार्यकर्ता र सदस्यलाई आआफ्नो ठउँबाट भूमिका खेल्न आग्रह गर्ने निर्णय भएको छ’, दोस्रो निर्णय सुनाउँदै श्रेष्ठले भने ।
प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा प्रचण्डसहितका नेताले बोलेका थिए। प्रचण्डले बैठकमा बोल्दै प्रधानमन्त्रीले पूर्वनिर्धारित बैठकलाई बिना छलफल स्थगित गर्नुलाई पार्टी विधान विपरित भएको भन्दै आपत्ति जनाएका थिए। ओलीलाई प्रचण्डले उत्तेजित नभइ संवाद र एकतामै जोड दिन आग्रह गरेकोसमेत बैठकमा बताएका छन्।
..
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । मंगलबार मात्र उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षको शक्ति सन्तुलनका लागि ६ बुँदे सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् ।
यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । साउन ६ गतेको बैठकमासमेत प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपा स्थायी कमिटी बैठक पटक–पटक गरेर १० पटक स्थगित भएको छ । बुधबार ११ बजे बोलाइएको बैठक स्थगित गरेर पौने २ बजे सुरु भएको थियो । जहाँ ओली अनुपस्थित भए ।
१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद छ।
अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच लामो छलफल भएको थियो। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्थाले पार्टी विवादलाई जटिल बनाएको निश्कर्ष निकाल्दै छलफलमा अब कुनै पनि बाहनामा स्थायी समिति नरोक्ने सहमति भएको हो।
पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि प्रधानमन्त्री ओलीकै आग्रहमा पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ। असार १० गते सुरु भएको बैठक अहिलेसम्म पटकपटक स्थगित भइसकेको छ। साउन १३ गते मंगलबार बोलाइएको बैठक ओलीले रोक्न खोजेपछि अर्का अध्यक्ष प्रचण्डले अघि बढाएका हुन् ।
चार नेताबीचको छलफलअघि सोमबार बिहान प्रचण्डले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल'सँग पनि छलफल गरेका थिए। पछिल्लोपटक साउन ९ गते ओली र प्रचण्डबीच पौने घन्टा छलफल भएको थियो। त्यसपछि पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको र उनकै सक्रियतामा निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएका थिए। प्रचण्डको यो अभिव्यक्तिपछि पार्टी किचलोले फेरि अर्को मोड लिएको हो।
असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ। हरेक दिनजसो बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन् भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन्।
पछिल्लो पटक एउटा कुनै पदबाट राजीनामा दिन आग्रह गर्दा पनि ओलीले इन्कार गरेका छन्। ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो। स्थायी कमिटीको असार १६ गतेको बैठकमा अध्यक्ष 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीबाट राजीनामा मागेपछि आन्तरिक कहलले झन् गम्भीर रुप लिएको हो। पार्टीभित्र चर्केको आन्तरिक कलहबीच नै प्रधानमन्त्री ओलीले असार १८ गते आकस्किक रुपमा संसद अधिवेशन अन्त्य गरेपछि अवस्था थप जटिल भएको हो।
यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस !