नेकपा स्थायी समिति बैठक जारी : के छन् एजेन्डा ?
काठमाडौं : लामो समयदेखि स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बसेको छ । बालुवाटारमा केहि समय अगाडि बैठक सुरु भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
गत असार १० गते सुरु भएको स्थायी समिति बैठक पटक–पटक सारिएको थियो । पार्टीभित्रको आन्तरिक विवादपछि साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको थियो । १३ साउनमा ओली पक्षले रोक्ने र दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राख्ने क्रम चलेपछि विवादले उग्र रूप लिएको थियो।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तीन घण्टा छलफल गरी साझा प्रस्तावलाई अन्तिम रूप दिएका थिए।
अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार पारेका थिए। 
ओली र दाहालले गत वैशाखयता पार्टीभित्र चर्किंदै आएको विवाद समाधानका लागि सुझाव दिने गरी गत साउन ३० मा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ओली, दाहाल र वरिष्ठ नेता नेपाल निकट दुई/दुई नेता सम्मिलित समस्या समाधान सुझाव कार्यदल गठन गरेका थिए। त्यही कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनमा सचिवालय सदस्यले दिएका सुझावलाई केही समेटेर बुधबार दुई अध्यक्षले स्थायी समिति बैठक मैजारो गर्ने गरी १५ पृष्ठ लामो साझा प्रस्ताव बनाएका थिए।
स्थायी समिति बैठकमा पेश हुने प्रस्तावप्रति असहमति जनाउँदै वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने बताउँदै आएका छन्। वैचारिक राजनीतिक पक्षका विवादलाई एकता महाधिवेशनमा लगेर टुंगो लगाउने समझदारीका साथ साझा प्रस्ताव तयार पारेपछि नेता नेपालले प्रस्तावमाथि आलोचनात्मक टिप्पणी गर्ने भएका हुन्।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको बताएका छन्। उनले लेखेका छन्, ‘गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन !’
यस्ता छन् स्थायी कमिटीमा छलफल हुने प्रस्ताव
प्रतिक्रिया दिनुहोस !