नेकपामा पुरानै जुहारी

नेकपामा पुरानै जुहारी

काठमाडौं : सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो।

तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही दिनयता त्यसले उत्कर्ष रूप लिँदै गएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुराकानी गराउनै पनि दोस्रो तहका मध्यस्थकर्ता नेताले मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

दोस्रो तहका नेताहरूको तीन दिन यताको दौडधुपपछि शनिबार प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता त भयो तर विवाद कायमै छ। राजदूत नियुक्ति, रिक्त मन्त्री नियुक्ति, भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्ता, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध राखिएको अविश्वास प्रस्ताव पछिको राजनीति, पर्सामा जिल्ला सदस्य महेश चौरसियाको हत्या प्रकरणलगायत विषयमा दुई अध्यक्षको बुझाइमै मतभिन्नता छ।

यही मतभिन्नताका कारण कर्णाली विवादमा दुई अध्यक्षले फरक–फरक निर्देशनात्मक सर्कुलर जारी गरे। पर्सा घटनामा अध्यक्ष दाहालले दोषीलाई कारबाही माग गर्दै वक्तव्यसमेत दिए। असमझदारीकै कारण ४ कात्तिकयता दुई अध्यक्षको प्रत्यक्ष संवाद हुन सकिरहेको थिएन। संवादको वातावरण बनाउन महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले तीन दिनयता लगातार गहन पहल गरेका थिए। उनीहरू अध्यक्ष दाहालको निवासमा संवादमा बस्न आग्रह गर्दै पुगेका थिए।

दाहाल सचिवालय बैठक राखेर प्रधानमन्त्री ओलीमाथि बहुमत नेताको दबाब बढाउन चाहन्छन्। 

कात्तिक १५ देखि तोकिएको केन्द्रीय समिति बैठक मंसिर १५ मा सार्ने निर्णय लिनसमेत महासचिव पौडेलले दुई अध्यक्षलाई अलग–अलग भेटेर आग्रह गरेका थिए। दुई अध्यक्षमा संवादहीनताका कारण देखिएको यो अवस्था तोडाउन ओली पक्षधर नेताहरूले निकै मिहिनेत गर्नुपरेको थियो। फलस्वरूप ओली र दाहालबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने दुई घण्टा छलफल भएको छ।

दाहाल दिउँसो १ बजे बालुवाटार प्रवेश गरेका थिए। दुई नेताबीच आन्तरिक पार्टी विवादका एजेण्डामा कुराकानी भएको थियो। तर, कुनै नतिजामुखी छलफल भने नभएको स्रोतको भनाइ छ। सचिवालय बैठक बोलाउन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई कात्तिक १ र कात्तिक ९ मा दुई पटक पत्र लेखेरै माग गरेका छन्। 

कात्तिक १ मा श्रेष्ठले कोरोनाले पछिल्लो समयमा देखिएको स्वास्थ्य संकट र जनजीविकाको संकट समाधानको उपाय पहिल्याउन बैठक माग गरेका थिए। जबकि ९ गते लेखेको पत्रमा पार्टीभित्र देखा परेको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल आवश्यक रहेको भनिएको थियो। 

वरिष्ठ नेता झलनाथ खनालले पनि टेलिफोनबाटै दाहाललाई सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए। वरिष्ठ नेता नेपालले पनि ओलीसँग भेटअगाडि खुमलटारमा दाहालसँग सचिवालय बैठक बोलाउने गरी प्रधानमन्त्रीसँग छलफल गर्न सुझाएको स्रोतले बताएको छ।

‘उहाँ (दाहाल) पार्टी बैठक बोलाउने विषयमा छलफल गर्न बालुवाटार जानुभएको हो। प्रधानमन्त्रीले तत्काल बैठक बोलाउने विषयमा सुरुमा मान्नुभएन। दाहालले निरन्तर अडान राख्नुभयो। त्यसपछि भने प्रधानमन्त्रीले म महासचिवसँग सल्लाह गर्छु, त्यसपछि बोलाउँला भन्नुभयो। तर, निर्णयमा पुग्नुअघि हामी फेरि एकपटक छलफल गर्नुपर्छ भन्नुभएछ,’ दाहालनिकट एक नेताले अन्नपूर्णसँग भने, ‘सचिवालय बैठक बोलाउने विषयमा मिति भने टुंगो लागिसकेको छैन।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पर्सा र कर्णाली घटनामा दाहालका तर्फबाट जारी भएका वक्तव्यका विषयमा प्रश्न उठाएका थिए। ‘पर्सामा वक्तव्य दिनुभयो। त्यसमा मेरो केही थिएन। कर्णालीमा पनि प्रति वक्तव्य, प्रति निर्देशन जारी गर्नुभयो। यसरी कसरी पार्टी चल्छ ?’ प्रधानमन्त्रीले दाहालसँग प्रश्न गरेका थिए। दाहालले पनि कर्णालीमा उत्पन्न संकट प्रधानमन्त्रीकै कारण जन्मिएको बताएका थिए। ‘कर्णालीको घटना पनि तपाईंकै हो जम्मै। सहमति नभएको विषयमा आफ्ना सल्लाहकारमार्फत वक्तव्यमा लाग्नुभयो। पर्सामा पहिले पक्रेको मान्छेलाई छोडेर पछि प्रहरीले दर्तासम्म गर्न मानेनन्। मैले किन कारबाही नगरेको ? दर्ता गर्नुपर्छ, कारबाही गर्नुपर्छ भनेको न हुँ’, दाहालले ओलीसँग भने।

स्रोतका अनुसार दुई अध्यक्षबीच केहीबेर पर्सा घटना र कर्णाली घटनाका विषयमा भनाभन चलेको थियो। कर्णालीमा ओली पक्षधर नेता यमलाल कडेलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि विकसित घटनाका विषयमा दुवै अध्यक्षको सचिवालयका तर्फबाट अलग–अलग प्रेस नोट जारी भएको थियो। दुवै अध्यक्षले आ–आफनो तर्फबाट फरक–फरक आन्तरिक सर्कुलर जारी गरेका थिए।

उता, पर्सामा पार्टीको गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा पूर्वमाओवादी तर्फका जिल्ला सदस्य महेश चौरसियाको हत्या भएको थियो। यो विषयमा दोषीलाई कारबाही माग गर्दै दाहालले वक्तव्य दिएका थिए। ओलीसँग त्यसपछि दाहालले रअको प्रमुखको नेपाल भ्रमण, त्यसले उत्पन्न गरेको आन्तरिक विवाद, कोभिड–१९ लगायत विषयमा छलफल गर्न बैठकको मिति तय गर्नुपर्ने बताएका थिए। 

 ‘प्रवक्ताले लिखित रूपमा दुई वटा पत्र बुझाइसक्नुभयो। माधव, झलनाथलगायत कमरेडले पनि बैठक बोलाउनुपर्‍यो भनिरहनुभएको छ। बैठक तय गरौं,’ ओलीसँग दाहालले आग्रह गरे। तर, ओलीले पुनः छलफल गरेर टुंग्याउने जवाफ दिएको स्रोतले बताएको छ।

दाहाल सचिवालय बैठक राखेर प्रधानमन्त्री ओलीमाथि बहुमत नेताको दबाब बढाउन चाहन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.