सचिवालयको बैठक एक बजे बालुवाटारमा बस्दैछ : प्रवक्ता श्रेष्ठ
काठमाडौं : सत्तारूढ दल नेकपाको सचिवालय बैठक दिउँसो एक बजे बस्ने भएको छ। कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले ट्वीटरमार्फत भनेका छन्,‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।’
आजका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको छ। दाहालले सहमति नजनाएपछि नेकपा अध्यक्ष एृवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै आज दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाइएका छन्। सचिवालय बैठक तय भएको समयमा नै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले मन्त्री परिषद् बैठक बोलाएका हुन्।
कात्तिक २८ गतेको सचिवालय बैठकले आज एक बजे बालुवाटारमा बैठक बस्ने निर्णय गरेको थियो। बालुवाटारमा सचिवालय बैठक र मन्त्री परिषद्को बैठक एउटै समयमा बोलाएपछि नेकपा भित्र विवाद झन् बढेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसैलाई संकेत गर्दै आज बिहान फेसबुक स्टाटस लेखेको कतिपयले आशंका गरेका छन्। उनले फेशबुकमा ‘सर्वाधिक कठिन समय !’ उल्लेख गरेका छन्।
कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ। ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। नत्र बैठकमा बस्नु र प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिइरहनु पर्छ भन्ने नभएको उनीहरूको भनाइ छ। उक्त प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ।
दाहालको प्रस्ताव फिर्ता लिन, दुई अध्यक्ष संवादमा बसेर सहमति खोज्न र बुधबार तय भएको सचिवालय बैठक केही समय स्थगित गर्न प्रधानमन्त्री ओलीले मंगलबार महासचिव विष्णु पौडेललाई दाहालको निवास खुमलटार पठाएका थिए। तर दाहालले त्यसमा सहमति जनाएनन्। उनले आफ्नो प्रस्ताव फिर्ता नहुने र बैठक पनि नरोकिने बताए। सबै विषयमा सचिवालय बैठकभित्रै छलफल गरेर निचोडमा पुग्न सकिने उनको भनाइ थियो।
ओलीले दाहालले सचिवालय बैठकमा राखेको प्रस्ताव दस्तावेज नभई आफूविरुद्ध नियोजित रूपमा गरिएको प्रहार भएकाले त्यसलाई आफूले जवाफ दिएर नजाने बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !