भत्ताको सास्ती

भत्ताको सास्ती

कृष्ण सारू मगर/मकवानपुर, राजेन्द्र कार्की/जाजरकोट, जीवन सेजुवाल/मुगु, शिवराज भट्ट/धनगढी, महादेव अवस्थी/कञ्चनपुर, सीताराम गुरागाईं/ताप्लेजुङ, प्रदीपचन्द्र राई/भोजपुर, हरिबहादुर लम्जेल/धनकुटा, गोपाल शर्मा/दाङ :

सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन।

गाउँतिर बैंक टाढा हुन्छ। हिँडेर जानुपर्छ। सबैको लिने याम एउटै हुन्छ। बैंक गयो, भीड हुन्छ। कोरोनाको यस्तो महामारीमा ठेलमठेल चल्छ। कसरी जोगिने, त्राहिमाम हुन्छ।

यस्तो कष्ट दिएर पनि ‘सामाजिक सुरक्षा’ हुन्छ र ? 
मकवानपुरको राक्सिराङ–७ काँकडाकी पातलीमाया चेपाङले गत कात्तिक पहिलो साता तीन दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। उनी त्यसपछि भत्ता लिन गाउँपालिका केन्द्र चैनपुरस्थित बैंकमा गएकी छैनन्। काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै मकवानपुरकै मनहरी बजारबाट चैनपुर पुग्नुपर्छ।

तत्कालीन गाविस सचिवले घर–घरमा गएर भत्ता वितरण गर्दै आएका थिए। तर, नगद वितरण गर्दा सम्बन्धित व्यक्तिको हातमा नपरेको गुनासो बढेको भन्दै सरकारले बैंकमार्फत मात्र भत्ता दिने निर्णय गरेको हो। ‘पहिला नै सजिलो थियो। अहिले गाउँपालिका भएसी हामीले धेरै दुःख पायौं’, राक्सिराङ–१ भाबरकी ७७ वर्षीया ठूलीमाया मोक्तान भन्छिन्, ‘मर्ने बेला सरकारले दुःख दियो।’ 

गाउँपालिकाले बैंकलाई गाउँ–गाउँमा गएर भत्ता वितरण गर्न प्रस्ताव गरे पनि सम्भव नभएपछि यस्तो समस्या आएको अध्यक्ष राजकुमार मल्ल बताउँछन्। 

मुगुको खत्याड गाउँपालिका–१ की ८५ वर्षीया बाँचु बुढा भत्ता लिन हालै छोरीको सहारामा वडा नम्बर ४ माथिचौरस्थित बैंक जाँदै । अरूलाई तीन–चार घण्टा लाग्ने बाटोमा उनीहरूलाई एक दिन लाग्यो। बास बसेर भोलिपल्ट फर्किए। तस्बिर : जीवन सेजुवाल

कैलाश–२ की ८२ वर्षीया सीता थिङ हिँड्डुल गर्न सक्दिनन्। उनको जीवन निर्वाह वृद्धभत्ताबाटै भइरहेको छ। भत्ता लिन भने उनलाई बोकेर लैजानुपर्छ। ‘भत्ता लिँदाको दुःख सम्झिँदा त नजाऊँजस्तो लाग्छ’, कैलाश–१ स्थित खोलाखर्क झरेकी थिङले भनिन्, ‘पैलाभन्दा धेरै दुःख पायो। पैसा लिन आफैं जानुपर्ने तर हिँडेर जान सक्दिनँ।’ 

मकवानपुरका १० स्थानीय तहमध्ये कैलाश गाउँपालिकाले मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न घुम्ती शिविर सञ्चालन गर्र्छ। घुम्ती शिविर केन्द्रमा पुग्न पनि कतिपय गाउँबाट एक दिनसम्म हिँड्नुपर्छ। 

‘हाम्रो गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने करिब १८ सय जना छन्। तर, बैंकमा आएर भत्ता लिने १० प्रतिशतजति पनि पुगेन’, गाउँपालिका अध्यक्ष टंक मोक्तान भन्छन्।

जाजरकोटको छेडागाड–३ दशेराकी ८१ वर्षीया पानसरी थापालाई हिँड्डुल गर्न गाह्रो हुन्छ। आँखाले ठिम्याउन सकस पर्छ। त्यसमाथि हस्ताक्षर गर्न जान्दिनन्। तर, वृद्धभत्ता लिन बैंकमै जानुपर्छ। बैंक गाउँमा छैन। आफन्तले उनलाई सात घण्टाको बाटो बोकेरै थलह बजार पुर्‍याए। बैंकमा भीड हुँदा उनले भत्ता लिन हैरानी भोग्नुपर्‍यो।

‘सरकारले हामीलाई भत्ता दिएर बुढेसकालमा राम्रो गरेको छ। तर, पैसा बुझ्न निकै कष्ट बेहोर्नुपर्छ’, उनी भन्छिन्, ‘यो हालतमा भत्ता बुझ्न कसरी बैंकमा आउने होला ? सरकार ! अब भत्ता घरमै दिने व्यवस्था मिलाइदेऊ।’ 

मुगुको खत्याड गाउँपालिका–१ निगालीबोटकी ८५ वर्षीया बाँचु बुढाको दुःख पनि उस्तै छ। शरीर कमजोर बन्दै गएको छ। जाँगर चल्दैन। उनी भत्ता लिन भने छोरीको सहारामा एक दिन लगाएर बैंकसम्म पुगिन्। बैंकमा दिनभर लाम लाग्नुपर्‍यो। बैंकका कर्मचारीले इन्टरनेटले काम नगरेको भन्दै दिनभर कुराए। 

‘सरकारले यो सुविधा दियो कि बुढेसकालमा दुःख दियो खै ?’, उनी भन्छिन्, ‘भत्ता बुझ्न ज्यानै फाल्नुपर्ने अवस्था छ। घरमै बुझ्ने सुविधा भएको भए केही राहत हुन्थ्यो।’ 

पहिलो पटक बैंकमा खाता खोल्न, केवाईसी अपडेट गर्न र हस्ताक्षर गर्न नसक्नेले ल्याप्चे लगाउनुपर्ने भएका कारण बंैकमा स्वयम् उपस्थित हुनुपर्ने प्रावधान रहेको नेपाल बैक लिमिटेड जाजरकोट शाखाका प्रबन्धक राजीव कार्की बताउँछन्। 

कैलालीको गोदावरी–१० की ८० वर्षीया पानादेवी महरा मंगलबार बिहान ६ बजे नै अत्तरियास्थित एक बैंकमा पुगिन्। ढिलो आए भीड हुने भएकाले उनी एकाबिहानै गएकी हुन्। ‘सरकारले वृद्धभत्ता त दियो तर बुझ्न साह्रै झन्झट हुने भयो। टाढाबाट बैंकसम्म आउन पनि सकस अनि बैंकमा लाम लाग्न पनि उत्तिकै अप्ठेरो’, महराले भनिन्, ‘अझै बैंक खुलेको छैन, पालो कुरेर बसिरहेको।’

कञ्चनपुरको बेदकोट–७ की मञ्जु मल्ल मंगलबार वृद्धभत्ता बुझ्न वडा कार्यालय पुगिन्। वृद्धभत्ता लिन लामो समय लाम लागिन् तर भत्ताबिनै घर फर्किइन्। ‘आज पालो आएन भनेर फर्कायो’, उनले भनिन्, ‘कोरोनाको डर छ भीडभाड धेरै हुन्छ।’ वडा कार्यालयमा सामाजिक दूरी बेवास्ता गरी सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।

भत्ता हातमै पर्दैन 
ताप्लेजुङको फुङलिङ–११ फावाखोलाका ७२ वर्षीय रामबहादुर विष्टले वडाध्यक्ष योगेश भट्टराईलाई आफूले भत्ता नपाएको गुनासो गरे। ‘अध्यक्षज्यू मैले त भत्ता पाइनँ। छोराले बैंकबाट झिकेर ल्यायो तर मलाई दिएन। माग्दा किन चाहियो भन्छ, मागिदिनुपर्‍यो,’ विष्टको भनाइ थियो, ‘अर्को पटकचाहिँ बैंकमा नलगाई तपाईंले नै ल्याइदिनुपर्छ।’ 

वडाध्यक्ष भट्टराईले यस विषयमा विष्टको घरमै गएर बुझ्ने तयारी भइरहेको बताए। ‘वर्षदिनअघि वडासचिवसहित घरमै गएर लाभग्राहीकै हातमा पैसा राखिदिन्थ्यौं’, भट्टराईले भने, ‘बैंकिङ सिस्टम आएपछि वृद्धवृद्धालाई सास्ती भयो।’ 

१५ जनाले वडा कार्यालयमा निवेदन दिएका छन्। पैसा नपाएको, कतिले पूरै नपाएको भन्दै पूरै पैसा उपलब्ध गराइदिन माग गरेर निवेदन परेको वडा कार्यालयले जनाएको छ। 

फावाखोलाबाट सामाजिक सुरक्षा भत्ता निकाल्न जिल्ल सदरमुकामस्थित बैंक पुग्नुपर्छ। एकतर्फी गाडी भाडा ४ सय ५० रुपैयाँ छ। सदरमुकाममा एक दिन बास बस्नै पर्छ। यसले गर्दा वृद्धवृद्धालाई निकै समस्या परेको ७ नम्बरका वडाध्यक्ष राजन गुरुङ बताउँछन्। यसको दोष जनप्रतिनिधिले पाउन थालेको उनको भनाइ छ। 

मकवानपुरकै राक्सिराङ गाउँपालिका केन्द्र चैनपुरस्थित एक बैंकमा भत्ता लिन लाम लागेका वृद्धवृद्धा। यहाँ तीन दिनसम्म लाम लागेर भत्ता लिनुपर्ने अवस्था छ। तस्बिर : कृष्ण सारू मगर

भोजपुरको टेम्केमैयुङ–१ रिमचिमका ७१ वर्षीय चक्रप्रसाद राईले वृृद्ध भत्ताबाट जेनतेन घरमा गर्जो टार्छन्। भत्ता लिन आइतबार बिहानै श्रीमतीसित सदरमुकाम आए। बैंकमा अन्य वृद्धवृद्धाको लाम थियो। दिउँसो १ बजेतिर पालो आयो। कोरोना सर्ला भन्ने चिन्ता लिँदै भोको पेट र चर्को घाम सहेर बस्दा पालो कुर्नै मुस्किल भएको राईले बताए। 

‘यस्तो महामारीमा घरघरमै भत्ता पुर्‍याइदिएको भए कति जाति हुन्थ्यो। दिनभर निसास्सिने मास्क लगाएर चर्को घाममा भोकभोकै पालो कुर्दा ढाड र घुँडा बेस्सरी दुख्छ’, उनले भने, ‘भत्ता लिन एक्लै आउन पनि सम्भव छैन। नातिनातिनालाई दिन माया मारेर ल्याउनुपर्छ। स्थानीय सरकारले सजिलो बनाइदिन जानेन।’

धनकुटा–२ भीरगाउँ वैरेकी असारमाया राई शारीरिक रूपले अशक्त छिन्। दमको रोगी उनी गाडी चढ्नेबित्तिकै वान्ता गर्छिन्। बैंकले स्वयम् उपस्थित नभएसम्म सामाजिक सुरक्षा भत्ताबापतको पैसा दिँदैन। 

ज्वाइँ प्रेमबहादुर राईले गत आर्थिक वर्षको दोस्रो चौमासिकमा बैंकसम्म पुर्‍याए। तर, अन्तिम चौमासिकमा बैंक पुर्‍याउन सकेनन्। ‘आमा दमको रोगी हुनुहुन्छ। गाडी चढ्ने बित्तिकै उल्टी भइहाल्छ’, उनी भन्छन्, ‘आमालाई लैजान नसकेर र कोरोना पनि बढेकाले वडा सदस्यलाई भत्ता ल्याइदिन भनेको छु।’ 

ज्येष्ठ नागरिकको भत्ता खातामा जम्मा हुने सिद्धार्थ बैंकका धनकुटा शाखा प्रमुख सुरेश कार्की बताउँछन्। ‘तर, ज्येष्ठ नागरिकमा पैसा ननिकाल्दा फिर्ता जान्छ भन्ने भ्रम छ। त्यो हुँदैन एक वर्षभरि जहिले निकाले पनि हुन्छ’, कार्की भन्छन्, ‘भत्ता निकाल्न एकै पटक आउँदा बैंकमा भीड देखिन्छ। यसले कोरोना संक्रमणको जोखिम बढाएको छ।’

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ की सरुनी थारूले एक सातामा पनि भत्ता बुझन् पाएकी छैनन्। बैंकले कागज पुगेन भनेर वडामा पठाइदिन्छन्, वडाले कागज पूरा दिँदैन। ‘भत्ता कसरी बुझ्ने हो मेसो पाइनँ’, थारू भन्छिन्। 

उनले फागुनमा सहज रूपमा भत्ता बुझे पनि आर्थिक वर्ष २०७७÷७८ को अन्तिम भत्ता बुझ्न नपाएकी हुन्। ‘फागुनमा दुई जनाले सँगै भत्ता लिएका थियौं’, उनी भन्छिन्, ‘अहिले उहाँ बित्नुभयो, मेरो भत्ता मात्रै लिन जाँदा सास्ती भोगिरहेको छु। बैंकले नयाँ सिफारिस खोज्छ, वडाले सिफारिस दिँदैन। कसरी भत्ता पाउनु ? साउन १२ भइसक्यो अघिल्लो वर्षको असारसम्मको भत्ता पाइएको छैन। घरमा नुनतेल जोहो गर्ने त्यही भत्ता थियो, त्यही नभएपछि कसरी चुलो बाल्नु ?’ 

तुलसीपुर १३ फूलबारीकी केवली नेपालीले चार दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। ‘गाउँबाट भत्ता बुझ्न बजार आउनुपर्छ। आएकै दिन भत्ता पाइँदैन। यो पटक त लाइन लागेको चार दिनपछि मात्रै पालो आयो। अरु बेलाभन्दा यस पटक अलि बढी सास्ती पाएँ’, उनी भन्छिन्, ‘कम्तिमा हामीजस्ता वृद्धवृद्धालाई त घरमै आएर दिए पनि हुनी हो, लाइन लगाएर सास्ती दिनु भन्दा।’

ooo

जो बैंकमा जानै सक्दैनन्
धनकुटा–९ मूलघाटस्थित विश्रान्ति मन्दिर वृद्धाश्रममा ४३ जना आश्रित छन्। त्यहाँ आश्रित १३ जनाले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भत्ता बुझ्छन्। १०५ वर्षकी गंगामाया काफ्ले अशक्त छिन्। थला परेको वर्षौं भइसक्यो। मानसिक समस्या भएका अरू ३–४ जना छन्। 

शारीरिक रुपमा अशक्त भएका कारण वृद्धाभत्ता लिन जान सक्ने अवस्थामा नरहेकी १०५ वर्षीया गंगामाया काफ्ले। उनीसहित ४३ जना धनकुटा–९ मुलघाटस्थित विश्रान्ति मन्दिर वृद्धाश्रममा आश्रित छन्। तस्बिर : हरिबहादुर लम्जेल

उनीहरूको खाता धनकुटामा छ। बैंकका कर्मचारी गत वर्ष भत्ता लिएर आश्रममै पुगेका थिए। चार ज्येष्ठ नागरिकले नागरिकता राखेको ठाउँ बिर्सिएर तत्काल देखाउन नसक्दा उनीहरूले पाएनन्। 

त्यसपछि पनि दुई किस्ता भत्ता आइसक्यो। तर, लिन गएका छैनन्। ‘ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान सक्ने अवस्था छैन’, विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे भन्छन्, ‘बैंकले सहज सुविधा नदिएका कारण ज्येष्ठ नागरिक दुःख पाइरहेका छन्।’ 

बैंकको शाखा रहेको स्थानबाट आश्रम १७ किलोमिटर दूरीमा छ। सो दूरी छिचोलेर अहिलेको कठिन परिस्थितिमा बैंकसम्म पुगेर भत्ता बुझ्न सक्ने सम्भावना नै नभएको उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.