संखुवासभा हत्या प्रकरण : घटनास्थलतर्फ जाँदै डीआईजी बीसी
विराटनगर : प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी संखुवासभामा भएको सामूहिक हत्याको अनुसन्धान गर्न घटनास्थलतर्फ लागेका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरबाट बुधबार बिहानै उनी टोली लिएर संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङस्थित घटनास्थलतर्फ हिँडेका हुन्।
घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिँदै उनले आगामी अनुसन्धानमा अपनाउनुपर्ने रणनीति एवं प्रहरीले घटनालाई निष्कर्षमा पुर्याउन खेल्नुपर्ने भूमिकाका बारेमा ‘बिफ्रिङ’ गर्ने छन्। अनुसन्धानलाई जतिसक्दो चाँडो निस्कर्षमा पुर्याउन प्रहरीको विशेष टोलीलाई उनले हौसला प्रदान गर्ने छन्।
स्रोतका अनुसार निरन्तरको वर्षा र भौगोलिक विकटताले कहालीलाग्दो घटनाको अनुसन्धानमा धेरै समस्या खडा गरिरहेका बेला डीआईजी बीसी अनुसन्धानकै नेतृत्व लिने हिसाबले आँफै घटनास्थलतर्फ गएका हुन्। बीसी आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ।
यो समाचार तयार पार्दासम्म बीसी नेतृत्वको टोलीले तेह्रथुमको बसन्तपुर पार गरेको छ। ‘म आँफै घटनास्थलतर्फ जाँदै छु। भौगोलिक विकटताका कारण त्यहाँ पुग्न निक्कै समय लाग्ने छ,’ अन्नपूर्ण अनलाइनसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘घटनास्थल एकदमै दुर्गम एवं विकट स्थानमा छ। साँझसम्म पुगेर त्यहाँको पछिल्लो बस्तुस्थिति बुझ्ने प्रयास हुने छ।’
घटना भएको तीन दिन भइसक्दा पनि कहालीलाग्दो एवं बीभत्स हत्या प्रकरण रहस्यकै गर्भमा छ। स्थानीयले गरिरहेको आशंका र प्रहरीको प्रारम्भिक अनुसन्धान नमिलेपछि घटना थप जटिल मोडमा पुगेको हो। विशेषज्ञसहितको प्रहरी टोलीले अनुसन्धान थालेको भए पनि दर्दनाक घटनाका बारेमा कुनै संकेत मिल्न नसकिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए।
संखुवासभाका सबै नाका शिल गरेर ठाउँ ठाउँमा विशेष सर्च अभियान चलाउँदै हत्याराको खोजी तीव्र पारिएको उनको भनाइ छ। ‘गाउँले तथा शंकास्पद केही व्यक्तिहरुसँग सोधपुछ गरिएको भए पनि घटनामा अहिलेसम्म कुनै सुराक मिल्न सकेको छैन,’ राईले भने, ‘त्यही भएकाले डीआईजी साब् आँफै घटनास्थलतर्फ लाग्नु भएको हो।’
स्थानीय एवं सुरक्षा निकायले सुरुमा गरेको आशंकासँग प्रहरीको प्रारम्भिक अनुसन्धानले मेल नखाँदा घटना कसरी र कहाँ पुगेर टुंगिने हो भन्ने यकिन हुन सकिरहेको छैन। प्राविधिकदेखि लिएर विभिन्न पाटोबाट काम थाल्दा कुनै अनुमाननै गर्न नसकिने गरी घटनाको अनुसन्धानले नयाँ मोड लिएको प्रहरीका एक अधिकारी बताउँछन्। सही दिशा पहिल्याउन नसक्दा अनुसन्धान अलमलमा परेको देखिन्छ।
८५ वर्षीय बौदमान कार्कीको घरमा भएको नरसंहारमा विभिन्न पाटोबाट प्रहरीले अनुसन्धान जारी राखेको एसपी राईले बताए। उनका अनुसार तत्कालको अनुसन्धानबाट कार्की परिवारको कोहीकसैसँग रिसईबी देखिएको छैन।
परिवारै सखाप बनाएको घटनापछि शोक एवं त्रासमा डुबेको गाउँको अवस्था सामान्य बन्न नसकिरहेको वडाध्यक्ष खेमराज कटुवालले बताए। ‘प्रहरीको अनुसन्धानले सही फेरो समाउन सकिरहेको छैन। तर ठूलो संख्यामा प्रहरी परिचालन गरेर गाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘घटनापछि स्थानीय त्रसित छन्। गाउँले एवं छरछिमेकी सम्हालिन सकिरहेका छैनन्।’
घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए। कटुवालका अनुसार घटनाको अनुसन्धानमा स्थानीय र जनप्रतिनिधिले प्रहरीलाई सहयोग गरिरहेका छन्। घटनास्थलमा छरपस्ट शव देखेपछि स्थानीय आतंकित बनेको उनले बताए। घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कननसक्ने वडाध्यक्ष कटुवालको भनाइ छ।
प्रदेश प्रहरीका प्रवक्ता एसपी राईले वास्तविकता पत्ता लगाएर घटनालाई निस्कर्षमा पुर्याउने हिसाबले धेरै कोणबाट प्रहरीका विभिन्न टोलीले अनुसन्धानलाई तीव्र बनाएको बताए। बौदमानको परिवारले झापामा जग्गा किनेर पास गराउने तयारी गरेको खुलेको छ। जग्गा किन्न घरमा राखिएको पैसा डकैती गर्ने उदेश्यले २ बालबालिका र एक वृद्धासहित ६ जनाको हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका थिए।
घटनाको प्रकृति हेरेर प्रहरीले पनि स्थानीयकै आशंकासँग मेल खाने गरी नगद र गहना लुटपाट गर्न हत्या गरिएको हुनसक्ने अनुमान लगाएको थियो। बौदमानका नातिहरु जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका क्रममा दुवई र मलेसियामा थिए। जग्गाका लागि उनीहरुले पठाएको पैसा अपुग भएपछि कार्की परिवारले गाउँघरमा ऋण पनि खोजेको पाइएको छ। त्यही कुरा थाहा पाएर परिवारकै सखाप बनाउँदै लुटपाट मच्चाइएको हुनसक्नेतर्फ प्रहरी अनुसन्धान केन्द्रित थियो।
तर प्रहरी एवं स्थानीयको सुरुवाती आशंका र प्रहरीको प्रारम्भिक अनुसन्धानबीच कुनै सम्बन्ध नदेखिएको एसपी राईले बताए। उनका अनुसार घरभित्रै नगद र गरगहना सुरक्षित फेला परेको छ। प्रहरीले लगभग चार लाख ७० हजारभन्दा बढी नगद र सुन एवं चाँदीका गहना फेला घरभित्रै भेट्टाएको हो। घटनामा आशंका र अनुसन्धान नमिल्दा दर्दनाक घटना झन् रहस्यमय बनेर जटिल मोडमा पुगेको छ।
‘अहिलेसम्मको अनुसन्धानबाट लुटपाटको उद्देश्यले घटना गराएको देखिँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘डकैती नै गर्न यत्रो नरसंहार मच्चाइएको भए घरभित्र यति धेरै पैसा र गहना भेटिँदैन थियो होला।’ प्रहरी स्रोतका अनुसार बाहिरका व्यक्तिहरु जबरजस्ती घरमा पसेर घटना गराएजस्तो पनि देखिँदैन। घटनाको प्रकृतिले घटनास्थल घरबाहिरै देखाएको हो।
‘घटनास्थल घरभित्र भएको भए प्रतिकार गरेको वा रगत लागेको कुनै संकेत हुनुपर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘घटना बाहिरै भएकाले शवहरु पनि यत्रतत्र छरिएको अवस्थामा भेटिएको हुनसक्छ।’ तर लखेटीलखेटी हत्या गरिएको हुनसक्ने सम्भावना भने जीवितै रहेको उनको भनाइ छ। उनका अनुसार हत्याराको पहिचान मुस्किल बनिरहेको छ।
स्थानीय घटनास्थल पुग्दा ८४ वर्षीया पार्वता कार्कीको शव मात्रै घरभित्र थियो। तर बेलाबेला बेहोस हुने समस्या रहेकी उनलाई घरबाहिर लडिरहेको देखेपछि स्थानीयले उठाएर भित्र ल्याएको पाइएको छ।
सुरुमा घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा नेतृत्वको टोली पुगेको थियो। त्यसपछि संखुवासभा प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी टोली लिएर घटनास्थल पुगे। संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वमा गएको टोली सोमबार साँझ ७ बजेतिर मात्रै घटनास्थल पुग्न सक्यो। टोलीले भोलिपल्ट अर्थात मंगलबार घटनाको अनुसन्धान सुरु गर्दा हत्या भएको लगभग २४ घण्टा बितिसकेको थियो।
त्यहाँमाथि निरन्तरको वर्षाले अनुसन्धानमा अनेक अड्चन ल्याइदियो। अविरल वर्षाले घटनास्थलबाट मजवुत प्रमाणहरु नष्ट गरिदिएको प्रहरी अधिकारी बताउँछन्। प्रहरीले अनुसन्धानका लागि ‘ट्रयाकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो। तर कुकुरबाट गराइएको ‘स्निफिङ’ त्यति प्रभावकारी देखिएन। निरन्तरको वर्षाले सवुत प्रमाण नष्ट हुँदा अनुसन्धानमा गरिएको कुकुरको प्रयोगले कुनै संकेत नमिलेको हो।
फरेन्सिक तालिम प्राप्त चिकित्सकसहित घटनास्थल पुगेको दाहाल नेतृत्वको टोली अहिले अनुसन्धानमै व्यस्त छ। घटना र शवको प्रकृति हेरेका चिकित्सकले सोमबार बिहानतिर घटना भएको हुनसक्ने बताएका छन्। हत्या गरिएकामध्ये पाँच जनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ।
प्रहरीले पछाडिबाट टाउकामा कुनै बस्तुले हानेर हत्या गरिएको हुनसक्ने आशंका गरेको छ। चिकित्सकले पनि यही संकेत गरेका छन्। ‘६ जनाको हत्या हुँदा पनि धारिलो हतियार प्रयोग गरेको पाइँदैन। कुनै बस्तुले पछाडिबाट हिर्काएर नै मारेजस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘यो विषयले निक्कै गम्भीर बनाएको छ। छरछिमेकीले पनि घटना थाहा नपाएको बताएका छन्।’
कार्की परिवारको घरबाट छिमेकीकोमा पुग्न लगभग ५ मिनेटजति लाग्छ। घटनास्थल वरपर खोला र खोल्साहरु छन्। पहाडका खोला र खोल्सामा ठूलो आवाज दिएर पानी बगिरहेकाले छरछिमेकीले घटना थाहा नपाएको हुनसक्ने अनुमान प्रहरीको छ। तर पनि प्रहरीले अनुसन्धान छिमेकीतर्फ पनि केन्द्रित गरेको बताइन्छ। घटनापछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
घटनापछि गाउँबाट बाहिरिएका व्यक्तिहरुका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। गाउँघरमा नयाँ व्यक्ति प्रवेश गरेको पनि पाइएको छैन। घटना भएका बेला त्यो क्षेत्रमा सक्रिय रहेका मोबाइलको पनि विश्लेषण प्रहरीले गरिरहेको छ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि विशेष टोली खटाएको छ। डीएसपी रुगम कुँवरको नेतृत्वको टोली मंगलबार राति घटनास्थल पुगेको छ। प्रदेश १ प्रहरी कार्यालयबाट पनि क्षेत्रीय अनुसन्धान समूह (रिजनल इन्भेस्टिकेसन टिम) यसअघि नै पुगिसकेको थियो। विभिन्न टोली घटनास्थलमै खटिए पनि प्रहरीको अनुसन्धान अलमलमा पर्दा ठोस निस्कर्ष निस्कन नसकेको हो।
प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा सोमबार बिहान शव भेटिएको हो। सबै शव घटना भएको ४८ घण्टापछि उठाएर पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो। मंगलबार राति ल्याइपुर्याइएका शवको बुधबार दिउँसोबाट पोस्टमार्टम थालिएको छ।
हत्या गरिएकामध्ये पार्वताको शव घरभित्रै भेटिएको हो। तर उनलाई स्थानीयले त्यसअघि घरबाहिरै भेटेका थिए। बेहोस भएको ठान्दै उनलाई उठाएर घरभित्र ल्याइदिएका रहेछन्। गम्बुट लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटिएको हो। कमला र रञ्जनाको शव घरनजिकको खोलामा तथा दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !