६ वटा प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व, देउवा पक्षको वर्चस्व

६ वटा प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व, देउवा पक्षको वर्चस्व

काठमाडौं :  ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेशको निर्वाचन सम्पन्न भएको छ। संघीयता कार्यान्वयनमा आएपछि कांग्रेसले पहिलो पटक प्रदेश तहको अभ्यास गरेको हो। १४ औं महाधिवेशनअन्तर्गत जारी प्रदेश अधिवेशनमा  प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले नयाँ नेतृत्व पाएको हो। 

१३ औं महाधिवेशनमा प्रदेश संरचना थिएन। विधानमा उल्लेख भएअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले मात्र भाग लिन पाउने हुन्। देश संघीयतामा गएपश्चात् २०७५ मा नवौं पटक विधान संशोधन गरेर प्रदेश संरचना बनाएको थियो।

प्रदेश १ मा उद्धव थापा, बाग्मती प्रदेशमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायरले कांग्रेसको बागडोर सम्माल्ने भएका हुन्

निर्वाचन भएको प्रदेशमा संस्थापन पक्षको वर्चस्व देखिएको छ। जिल्लाको अधिवेशनमा वर्चस्व जमाएको संस्थापन पक्ष प्रदेश अधिवेशनमा आफ्ना पक्षका उम्मेद्वार विजयी भएपछि थप हौसिएको छ। देउवाइतरपक्षले साझा उम्मेदवारी दिन नसकेको अवस्थामा १४ औं महाधिवेशनबाट पनि सभापतिमा देउवा नै दोहोरिने सम्भावना बलियो बनेको छ। प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्ष र कृष्ण सिटौला पक्ष नजिक बनेका छन्। 

प्रदेश १ 

कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन्। पार्टीको केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका संस्थापनइतर समूहका नेता गुरुराज घिमिरेलाई २ मतअन्तरले पराजित गर्दै झापा कांग्रेसका पूर्वसभापति थापाले प्रदेशमा पार्टीको पहिलो नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। 

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको साथ पाएर सभापतिको उम्मेदवार बनेका थापालाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको पनि समर्थन थियो। निर्वाचनबाट प्राप्त अन्तिम मतपरिणाम अनुसार निर्वाचित बनेका थापाले ८ सय ४४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी घिमिरेले ८ सय ४२ मत ल्याए। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरेलाई डा. शेखर कोइरालाको पनि साथ थियो।

निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाका अनुसार निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको थियो। प्रदेश १ अधिवेशनमा कांग्रेसका १ हजार ८ सय ५ जना मतदाता प्रतिनिधि थिए। ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्। सभापतिमा पराजित बनेपछि नेता घिमिरेले पुनः मतगणना हुनुपर्ने माग राखेका छन्।

प्रदेश २ 
प्रदेश २ मा कांग्रेसको आन्तरिक विवादका कारण प्रतिनिधि छनोट हुन सकेको छैन। जसले गर्दा प्रदेश अधिवेशन हुन सकेको छैन।  प्रदेश २ मा क्षेत्रीय अधिवेशन अझै केही स्थानमा बाँकी छ। प्रदेश अधिवेशनका लागि ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, महोत्तरी र सप्तरीका मतदाताको नामसमेत आइसकेको छैन। संस्थापन पक्ष र संस्थापनइतर पक्ष पटक-पटक विवादका कारण प्रतिनिधि छनोटमा समस्या भएको हो। प्रदेश अधिवेशनको लागि भने धमाधम सभापति पदका आकांक्षी अगाडि देखिएका छन्। 

बागमती प्रदेश

कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। प्रतिद्वन्द्वि जगदीश्वरनरसिंह केसीलाई हराउँदै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। बानियाँ कांग्रेस सभापति देउवा निकटका हुन्।

दोस्रो चरणमा भएको मतदानमा बानियाँलाई भीमसेनदास प्रधानले सर्मथन गरेका थिए। बानियाँले १ हजार ८५ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वि केसीले ९ सय २७ मत प्राप्त गरेका छन्। 

गण्डकी प्रदेश
नेपाली कांग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्। उनले पर्वतका अर्जुन जोशीलाई पराजित गरेका हुन्।

कास्कीका पुराना नेता शर्मा पार्टीको संस्थापन इतर समूहका नेता हुन्। जोशीलाई पार्टी केन्द्रीय सभापति देउवाको समर्थन थियो। शर्माले ६१२ मत पाएका थिए। जोशीले ५२८ मत ल्याए। दुईजनाबीच ८४ मतान्तर भएको हो।

लुम्बिनी प्रदेश
कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन विजयी भएका छन्। संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन्। उनले ८ सय ८२ मत प्राप्त गरे। त्यस्तै संस्थापनका शाहले ७ सय ६७ मत पाएका छन्। रोल्पा जिल्लाका पूर्वसभापति समेत रहेका पुनले सङ्घीय सांसद समेत रहेका रुपन्देहीका भरत शाहलाई ८५ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।

शनिबार भएको चुनावमा १ हजार ६ सय ३१ मत खसेको थियो। विजयी भएका पुन कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन्। 

कर्णाली प्रदेश
कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजङ शाही निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन्। 

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो। सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुन्। कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो। 

सुदूरपश्चिम प्रदेश
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानल नै विजयी भएको छ। प्रदेश अभिवेशनमा कुल १ हजार ३ मत खसेकोमा बलायरले ६८८ मत ल्याउन सफल भए। पौडेल पक्षबाट बलायरसँग भिडेका नारायणदत्त मिश्रले भने २८० मत ल्याए। भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हाली सकेका बलायर कांग्रेस केन्द्रीय सदस्य हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.