सभापति देउवाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बालुवाटारमा बोलाए
काठमाडौं : नेपाल कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदको भेला बोलाएका छन्। कांग्रेसबाट निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदलाई आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
यता नवनिर्वाचित सांसद रामहरी खतिवडाले आजको भेलामा नवनिर्वाचित सांसदसँग बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने जानकारी दिए।
कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५७ जना र समानुपातिकतर्फ ३२ सिट गरी ८९ जना सांसद निर्वाचित भएका छन् ।
कांग्रेसमा संसदीय दलको नेता बन्न दौडधुप
कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयनको प्रक्रिया अगाडि बढाउने कांग्रेसको तयारी छ।
सत्तासीन कांग्रेसमा संसदीय दलको नेता बन्न नेताहरू दौडधुपमा छन्। कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भएकाले पनि संसदीय दलको नेता बन्न नेताहरूबीच तँछाडमछाड चलेको छ। पार्टीको महाधिवेशनलाई झल्को दिने गरी नेताहरू गुट निर्माणमा जुटेका छन्।
संसदीय दलको नेता बन्न कांग्रेसका आधादर्जन नेता सक्रिय रूपमा जुटेका छन्। पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा र प्रकाशमान सिंह संसदीय दलको नेता बन्न आन्तरिक तयारीमा जुटेका छन्।
जसमा वर्तमान प्रधानमन्त्री देउवा नै छैटौं पटक गठबन्धनको सरकारमा उनी पुनः आफू प्रधानमन्त्रीमै बस्न चाहेका छन्। देउवाले संसदीय दलको नेता बन्नका लागि नवनिर्वाचित कांग्रेसका सांसदसँग छलफल र भेटघाट पनि तीव्र बनाएका छन्। देउवाले आफू निकटका अति विश्वास गरिएका नेता पूर्णबहादुर खड्कालाई मुख्य संसदीय दलमा आफूलाई सघाउनका लागि दूत बनाएर विभिन्न नेतासँग भेट गर्न पठाउने गरेका छन्। देउवाले खड्कालाई कांग्रेसका अरू शीर्ष नेतासँग पनि अनौपचारिक रूपमा छलफलका लागि पठाउने गरेका छन्।
शेखर कोइराला भने अहिले नै संसदीय दलको नेताका रूपमा प्रतिस्पर्धामा जाने या नजाने भन्ने विषयमा उनले बोलेका छैनन्।
थापालाई संसदीय दलको नेता बन्नका लागि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माको पूर्ण समर्थन छ। उनले खुलेरै निर्वाचनमा प्रचारका बखत र जितेर काठमाडौं फर्किसकेपछि पनि प्रधानमन्त्रीमा जानका लागि गगनलाई संसदीय दलको नेता बनाउन पार्टीकै शीर्ष नेतृत्व बीचमा सर्वसम्मतिको वातावरण बनाउन पहल गर्ने बताएका थिए। शर्माले भने, ‘राजनीतिक परिवर्तनको एजेन्डा सकिएकाले अब मुलुकलाई रूपान्तरण गरेर अघि बढ्नुपर्छ। राजनीतिक परिवर्तनको एजेन्डा होइन। अब हाम्रो पूरै ध्यान सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्छ।’प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने भन्दै शर्माले भने, ‘यसअघि पनि बारम्बार मैले भन्दै आएको कुरा हो पार्टीका अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भनेर प्रतिबद्धता जनाइसकेको छु।’
प्रतिक्रिया दिनुहोस !