चिठीपत्रका ती दिन

चिठीपत्रका ती दिन

इमेल इन्टरनेटको जमाना मभन्दा कान्छो हो । मेरो समय त चिठीपत्रको थियो । दूर भूगोलमा दुःखले कागजमा खिपेका अक्षरहरू हप्तौं र कहिलेकाहीँ त महिनौं लगाएर हुलाकी दाइको झोलामा बुइँ चढी आइपुग्थे । हरेक पत्रमा पठाउनेको मन, जीवन र सुगन्ध पोखिएको हुन्थ्यो । र, हरेक पत्रले अर्को प्रतीक्षा जन्माएर जान्थे । त्यो पत्र पाउँदाको खुसी, त्यो पत्र लेख्दाको आनन्द, त्यो पत्र पठाउँदाको उल्लास, अब खोजेर कहाँ पाउनु ? परित्यक्त पत्र मञ्जुषाहरूसँगै चिठीपत्रका ती दिनहरू पनि कतै थन्काइयो सायद । तर, सम्झनाको एल्बम कहिल्यै बासी नहुँदोरैछ । जबजब फेसबुकको म्यासेज बक्समा प्रियजनहरूको सन्देश आइपुग्छ, फोनमा आफन्तको आवाज र भाइबर वा इमेलमा प्रियहरूको अनुहार झुल्किन्छ म ती पुराना दिनहरू सम्झन थाल्छु । चिठीपत्रको जमाना कल्पिन थाल्छु ।

Chandra-Gurungम कक्षा ५ को विद्यार्थी थिएँ । केटाहरू मात्रै पढ्ने सरकारी स्कुल थियो त्यो । कक्षाका धेरै साथीहरू स्कुलकै होस्टलमा बस्ने गर्थे । म चाहिँ आफ्नै नातेदारसित बस्थेंँ । कक्षा ७ पछि मात्रै होस्टलमा भर्ना भएको थिएँ । उमेरको त्यो खुड्किलोमा टेक्न आइपुग्दा मनको रूखमा रहरका हाँगाबिँगा झांगिन थालिसकेका थिए । नयाँ परिवेश, साथीहरू र विषयवस्तुसित साक्षात्कार गर्ने चाहनाहरू हुर्किंदै थिए । केही अलग र राम्रो देखिन चाहन्थ्यौं म र साथीहरू । हामीले फिल्मी हिरोको स्टाइलमा कपाल कोर्न थालिसकेका थियौं । हिरोहिरोइन तथा विज्ञापनतिर देखिने मेडेलका फोटो कापीकिताबको पछिल्लो गातामा र आआफ्ना दराजका भित्री भागहरूमा टाँस्थ्यौं । होस्टलमा सिनियर दाइहरूको दराजहरूमा हलिउडकी प्रसिद्ध सुन्दरी सामन्था फोक्स र गायिका मेडोनाका अर्धनग्न फोटोहरू मुस्कुराइरहेका हुन्थे ।

हाम्रो समूह कुरकुरे बैंसको गल्ली गल्छेँडीतिर हिँड्न थालेका छिमलहरूको हुलजस्तै थियो । हामीभित्र सपनाको बेग्लै संसार निर्माण हँदै थियो । उमेरको त्यो जँघार तरिरहँदा नयाँ साथी बनाउने रहरले चल्ला काढ्दै थियो हामीमा । घरपरिवार र कक्षाका साथीसित बाँड्न अप्ठ्यारो लाग्ने अनेक थोक हुँदो रहेछन् । जसकारण त्यस उमेरका केटाकेटी नयाँ साथी बनाउने रहर गर्दा रहेछन् । वास्तवमा, मानिस बाँच्नेमात्रै होइन अभिव्यक्त पनि हुन चाहने प्राणी हो । त्यसबेला पत्रमित्र बनाउने चलन थियो युवामाझ।

मेरा थुप्रै सहपाठीले टाढाटाढाका पत्रमित्र बनाएका थिए । मलाई पनि एकजना दाइले गुरुङ थरकी एउटी भुटानी युवतीको एड्रेस दिनुभयो । थिम्पुमा बस्ने त्यो अपरिचित साथीलाई एउटा पत्र पठाउने योजना बनाएँ । अर्को दिन स्कुलबाट आउने बेला बजारबाट खाम र राइटिंग प्याड किनेर ल्याएँ । साँझ खाना खाइसकेपछि आफ्नो कोठामा पसेँ । अनि मिलाएर एउटा चिठी कोर्न भ्याएँ । यसरी पठाइयो पहिलो पत्र पत्रमित्रलाई ।

समय बित्दै गयो एकदिन आशा गरे अनुरूप नै मनको तारलाई तरंगित पार्दै एउटा चिठी मेरो नाममा आयो । त्यही पत्रमित्रको जवाफ आएछ । मनमा एक प्रकारको खुसी नाच्यो । त्यसपछि पत्र पठाउने र पाउने क्रम सुरु भयो हामीबीच । अनेक थोक हुँदा रहेछन् मनको गर्भमा जो बाहिर आउन खोजी रहेका हुँदा रहेछन् । त्यतिबेलैदेखि सायद मभित्रको भावना प्रस्फुटन हुन चाहन्थ्यो । जसकारण यी पत्रहरू कोरिरहँदा एक प्रकारको खुसी चल्मलाउँथ्यो मनमा । मानिस आफ्नै विचार र भावनाको धेरै नजिक पुग्दो रहेछ लेखेर ।

कहिलेकाहीँ जेठाबाबाले नबुझिने पारामा अश्लील जोक्सहरू वा प्रसंगहरू पनि लेखेर पठाउने गर्थे । सुरुमा त मेरो कलिलो दिमागले खुट्याउनै गाह्रो मान्थ्यो तर पढ्दै गएपछि बूढो मान्छेको चलाखी बुझ्थेँ । कुनै आपत्तिजनक शब्द अस्पष्ट भएको भनेर जेठीआमालाई टारिदिन्थेँ । अपाच्य चुट्किलाहरू मनमनै पढ्थेँ ।

लेखेरै आफ्ना, दमित इच्छाहरूलाई एउटा रूप प्रदान गर्न सकिँदो रहेछ जुन लामो समयसम्म रहन्छ मन मस्तिष्कमा । म भ्याएसम्म रेडिमेट रंगीन पानामा र नभेटे सादा पानामै पनि पत्र कोरिसकेपछि खाली ठाउँम स्केचपेन वा रङ पेनले भरेर पानालाई सजाउने कोसिस गर्थे । एउटा दुईवटा राम्रा कार्टुन र मन खुसी पार्ने खालका रंगीन फूल पनि बनाउँथे । जन्मदिन, नयाँवर्ष, जाँचमा पास हुँदा, दसैंतिहारको मैकाम त ग्रिटिङकार्ड नै किनेर पठाउँथे । कार्डको सजावटले मन नभरेर आफैं पनि शुभकामना सन्देश लेखेर सजाउँथे । कतै छेउतिर ठाउँ बाँकी रहे मीठो सायरी र भावहरू पनि कोर्न भ्याउँथे ।

यी सब एकान्त ठाउँमा, दत्तचित्त भएर गर्थें । तीनचार पानाको लामो पत्र लेखेपछि, राइटिङ्ग हेर्थें । सफा भए, अनुहारमा चमक आउँथ्यो । उमंगको बतास बग्थ्यो मनको डाँडाकाँडा । लेख्दा मन छुने कुरा नै लेख्ने कोसिस हुन्थ्यो । विचार लेख्ने उमेर नै भएको थिएन सायद । कुराहरू घुमाएर भावना पोख्ने गर्थें । चाहना चाहिँ साथीको मनमा प्रभाव जमाउनु नै हुन्थ्यो । मिलाइमिलाइ सुन्दर अक्षर बनाउने कोसिस रहन्थ्यो । कविता र सायरीका लाइनहरू हुन्थे । गजलका टुक्राहरू थप्थँे । मन छुने प्रसंग जोड्थे ।

 

दूरीले टाढा भए पनि भावनाले नजिकै छौ जस्तो भान पार्न चाहन्थेँ । कक्षामा कुन दिन के थियो, कुन साथी कस्तो, कुन मास्टर कस्तो र बिदाको योजना सब लेखिन्थ्यो । खासमा, त्यतिबेला म अभिव्यक्त हुन खोज्दै रहेछु । आफूलाई सुनाउन चाहेको रहेछु ।

जीवनयात्रामा कहिले हर्ष, त कहिले पीडाका आँसु झर्छन् । कहिले मन चंगाझैं उन्मुक्त उड्छ त कहिले समस्याका काँडेघारीमा अल्झिन पुग्छ । मानिसले धर्तीमा रहुञ्जेल, जीवनको गाडी हुँइकाउँदै अनेक घुम्ती र उतारचढाव पार गर्छन् । एकान्तको रिक्तता र खुसीको उडानमा मानिस अनेक रूपमा रिस्पोन्ड भइरहेका हुन्छन् । यी परिस्थितिहरूमा भावना र विचारका तरंगहरू जन्मिन्छन् । यी सब लेखनमा धेरै सबल रूपमा प्रकट हुँदा रहेछन् । मानिसले समाज र दुनियाँलाई आफ्नै तरिकाले हेरिरहेको र बुझिरहेको हुन्छ र तीबारे व्यक्तिगत धारणा बनाइरहेको हुन्छ ।

जुन लेखेपछि धेरै स्पष्ट बन्न जान्छ । विस्तारै म पनि शब्दहरूमा आफ्नो भावना र विचारलाई रूप दिन सजिलो अनुभव गर्न थालेको थिएँ । यी अक्षरमाझ आफूलाई रमाइरहेको पाउँथे । आफूले कोरेको शब्दले आफूलाई नै अभिव्यक्त गरिरहेको लाग्थ्यो । मेरा अन्य साथीहरू पनि आफ्ना चिठीहरू पढेर सुनाउँथे एकआपसमा । जति घुमाएर लेख्यो उति नै साहित्य घुसाउन सफल भएको ठान्थ्यौं हामी । वाह, क्या साहित्य लेखेछ यार– भन्थेँ । जुन एक प्रकारको प्रशंसा जस्तै थियो त्यसताका ।

हाम्रो लागि लेखनको उत्कृष्ट रूप नै साहित्य थियो । साहित्य भनेकै अप्ठ्यारा शब्द प्रयोग गरेर लेख्नुहुन्थ्यो हाम्रो कलिलो मस्तिष्कमा । त्यो मान्यता बिस्तारै हट्दै गयो जब साहित्यका अनेक रूप र रङसित परिचित हुँदै गएँ कालान्तरमा ।

पछि जागिर खान थालेपछि धरानतिरका एकजना तामाङ दाइसित परिचय भयो । उहाँले दार्जिलिङतिर पढ्नु भएको रहेछ । अध्ययनको क्रममा एक जना लिम्बू थरकी युवतीलाई धर्मबहिनी बनाएका रहेछन् । भुटानबाट मेरो साथीको पत्र आएको देखेर दाइले नयाँ पत्रमित्र बनाउने इच्छा भए आफ्नो बहिनीलाई पनि पत्र पठाउँदा हुन्छ भन्ने प्रस्ताव राख्नुभयो र ठेगाना पनि दिनुभयो । यसरी सुरु भयो अर्को पत्रमित्रसितको चिठी आदानप्रदानको सिलसिला । त्यो साथीले पछि बंगाल पुलिसमा कार्यरत उतैतिरको गार्खोलीसित विवाहे गरेपछि मेरो परिचय आफ्नो एक अन्य साथीसित गराइदिइन् ।

यसरी मेरो जीवनमा तेस्रो पत्रमित्रको प्रवेश भयो । झन् पछि झन् मेरा भावना, कल्पना र लेखनप्रतिको रहरले थुप्रै पत्रहरूमा ठाउँ पाउँदै गए । लेखन आफैंलाई खोज्ने अन्त्यहीन प्रक्रिया रहेछ । म आफूले बुझेको संसार र जीवनलाई अभिव्यक्त गर्दै गएँ । फलस्वरूप लेखनले एक अलग्गै दुनियाँको निर्माण गरीदियो । जहाँ म रमाइरहेको थिएँ ।

स्कुले दिनहरूलाई सम्झिँदा एउटा अर्को प्रसंग दिमगमा आउँछ । म जुन नातेदारकोमा बस्थेँ उहाँ साइनोले जेठाबा पर्नुहुन्थ्यो । भारतीय सेनामा लाहुरे । सर्भिसको क्रममा एक पटक श्रीलंका पुग्नुभयो भारतीय शान्ति सेनामा सामेल भएर । त्यसकारण खुब लेख्नुपर्ने भयो पत्र जेठीआमाको तर्फबाट जेठबाबालाई । जेठीआमा अनपढ हुनुभएकोले पत्र लेख्ने जिम्मा मेरो थाप्लोमा आइपरेको थियो । महिनामा एकदुई जत्ति चिठी लेख्नुपर्ने हुन्थ्यो । ती चिठीहरूमा घरायसी कुराहरू नै धेरै हुन्थे ।

बच्चाहरूको पढाइको ग्राफ, खर्चको नालीबेली, टोलछिमेकका हालखबरहरू र गाउँघरतिरका समाचार । को मरे, को परदेश लागे, कस्को बिहे भयो र कसको घरमा नयाँ सन्तान जन्मिएजस्ता थुप्रै कुराहरू हुन्थे । यीबाहेक परिवारमा मेरै अगाडि घटिरहेका कुराहरू चाहिँ म आफैं मिलाएर लेखिदिन्थेँ ।

चिठीको सुरुआतमा नाताअनुसारको सेवाढोग, आशीर्वाद, आरामै छौं र आरामैको कामना गर्ने वाक्यहरू लेख्नै लगभग पाँच, छ मिनेट लगाउँथे म । तबसम्म जेठीआमा पनि सुनाउनै पर्ने घरायसी कुराहरू औंला भाँचेर गन्दै याद गर्थिन् । यसरी मभित्र शब्दहरूसित खेल्ने रहरको बीजारोपण भएको हुनुपर्छ । कहिलेकाहीँ म आफूभित्रको साहित्यिक बिरुवालाई यी पत्रहरूमा नै हुर्किन दिन्थेँ । भावनाको गहिरो समुद्रतिर डुबुल्की मर्थे त कहिले कल्पनाको खुला आकाशतिर उड्न छोडिदिन्थेँ शब्दहरूलाई ।

यादमा सिरानी भिजाउँदै झर्ने आँसुको खोला बगाउँथे, राम र सीताको जस्तै बिछोडको कथाहरू लेखिदिन्थेँ, एकअर्का बेगरका लाम र पट्यारलाग्दा रातहरू, रोइरहेका जूनतारा, सात समुद्रको दूरीले मन छियाछिया पारेको र रहरका फूलहरू ओइली गएका कुरा खुब लेख्थें यी पत्रहरूमा । यस्ता बिम्बहरू पंक्तिपंक्तिमा राखिदिन्थेँ । म भावनाको सागर उराल्नेमा नै विश्वास गर्थे । हुन त जेठीआमाले यसरी लेख्न अह्राउनु हुन्थेन । यो त मेरो आफ्नै कल्पनाको उडान हुन्थ्यो । मैले लेखेका शब्दहरूले पक्कै पनि जेठीआमाको भावनालाई समेटेको हुन्थ्यो । जसकारण पत्र लेखिसकेपछि एकदुई पटक पढेर सुनाउँदा उहाँको अनुहारमा एक प्रकारको सन्तुष्टिका चराहरू उडिरहेका पाउँथे ।

सायद थुप्रै कुराहरू थिए मभित्र, जो बाहिर आउने बाटो खोजिरहेका थिए । अभिव्यक्तिको सरल र उत्तम मध्यम लेखन नै भयो त्यसबेला । मानिसको रहरै त हो । कहिलेकाहीँ जेठाबाबा पनि पत्रहरूमा आफ्नो दमित इच्छाहरूलाई चुट्किला, कथा वा गीतमर्फत लेख्नुहुन्थ्यो । सैनिक जीवनको संघर्ष, त्यो पनि बिरानो देशको युद्धक्षेत्रमा । यी कुराहरू साह्रै मन छुने गरी लेखेर पठाउनुहुन्थ्यो जेठाबा । र जेठीआमालाई यी सब पढेर सुनाउने काम हुन्थ्यो मेरो ।

कहिलेकाहीँ जेठाबाबाले नबुझिने पारामा अश्लील जोक्सहरू वा प्रसंगहरू पनि लेखेर पठाउने गर्थे । सुरुमा त मेरो कलिलो दिमागले खुट्याउनै गाह्रो मान्थ्यो तर पढ्दै गएपछि बूढो मान्छेको चलाखी बुझ्थेँ । कुनै आपत्तिजनक शब्द अस्पष्ट भएको भनेर जेठीआमालाई टारिदिन्थेँ । अपाच्य चुट्किलाहरू मनमनै पढ्थेँ । सारै लाज लाग्ने । सक्दो आफ्नो अनुहारको हाउभाउ छोप्दै पत्रमा घोरिएको अभिनय गर्थें कि जेठी आमालाई लागोस् ती शब्दहरू साँच्चै नबुझिने गरी लेखिएका रहेछन् ।

पछि, विसं. २०५५ तिर जीवनको गाडी घचेट्ने क्रममा काठमाडौं छिरेँ । भागम भागको जीवन, संघर्षपूर्ण दिनहरू, अभावका रातहरू, यी सब बीच भावना पोख्नको लागि समय मिलाउनै सकिन । आर्थिक अभाव, भविष्यको चिन्ता, पेलानपूर्ण जागिर र आफ्नै पढाइको चक्करमा नराम्रो गरी फसेँ । पछि भुटानको साथी पनि थिम्पुबाट फुन्सलिङ पुगेछिन् ।

पुरानै ठेगानामा फेरि एउटा पत्र पठाउने मन भयो । धेरै पछि पठाउँदै थिएँ त्यो चिठी र जवाफ पनि आयो । त्यसपछि पनि केही समयसम्म पत्रहरूको आदानप्रदान चलिरह्यो । साथीले विवाह गरेपछि आउने पत्रको संख्या पनि घट्न थाल्यो । ममा पत्रलेखनमा पहिलेको जस्तो रहर बाँकी रहेन । उता दार्जिलिङतिरकी साथीले पनि पत्रहरू कम पठाउन थालिन् । हो त्यतिबेलैदेखि हो मेरो लेखन कवितातिर मेडिएको ।

स्कुले जीवनमा पाठ्यक्रमम रहेका कविताबाहेक अन्य कविता पढ्ने बाध्यता थिएन । कविता लेख्ने सोख खासै थिएन भन्दा पनि हुन्छ । लेखनका ती सुरुआती दिनहरूलाई सम्झँदा त्यतिबेला मेरो मनको हाँगाहाँगामा फुलेका भावनाहरू पोख्नलाई प्रशस्त अवसर यी चिठीहरूमा नै पाएँ । घरतिर परिवारजन, एकदुईजना गाउँले दौंतारीँ र यी पत्रमित्रहरूलाई लेख्ने पत्रहरूमै आफ्नो लेखनको सोख पूरा गर्थें । कथा, कहानी, कविता, सायरी जे लेख्ने मन हुन्थ्यो यी पत्रहरूमा नै लेख्थेँ ।

आफैंलाई व्यक्त गर्ने र आफैंसित संवाद गर्ने अनेक उपायमध्ये एउटा बन्न गयो पत्रलेखन । यसरी पत्रमित्रलाई पत्र कोर्न थालेपछि नै हुनुपर्छ लेखनको रहरले मेरो मनमा प्रवेश गरेको । यसरी हुनुपर्छ लेखनतिर मेरो मन आकर्षित भएको । आज ममा साहित्यप्रतिको रुचि जगाउनमा ती चिठीपत्रको ठूलो भूमिका छ झैं लाग्छ । अझै सम्झिन्छु रात रातभरि जागा बसेर लेखिएका असंख्य ती चिठीहरूलाई जसको अन्तिमतिर मिलाएर लेखिएको हुन्थ्यो-
'उड चरी, हावा सरी
लैजाऊ यो चिठी मेरो साथीको हातमा पर्ने गरी ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.