चिठीपत्रका ती दिन
इमेल इन्टरनेटको जमाना मभन्दा कान्छो हो । मेरो समय त चिठीपत्रको थियो । दूर भूगोलमा दुःखले कागजमा खिपेका अक्षरहरू हप्तौं र कहिलेकाहीँ त महिनौं लगाएर हुलाकी दाइको झोलामा बुइँ चढी आइपुग्थे । हरेक पत्रमा पठाउनेको मन, जीवन र सुगन्ध पोखिएको हुन्थ्यो । र, हरेक पत्रले अर्को प्रतीक्षा जन्माएर जान्थे । त्यो पत्र पाउँदाको खुसी, त्यो पत्र लेख्दाको आनन्द, त्यो पत्र पठाउँदाको उल्लास, अब खोजेर कहाँ पाउनु ? परित्यक्त पत्र मञ्जुषाहरूसँगै चिठीपत्रका ती दिनहरू पनि कतै थन्काइयो सायद । तर, सम्झनाको एल्बम कहिल्यै बासी नहुँदोरैछ । जबजब फेसबुकको म्यासेज बक्समा प्रियजनहरूको सन्देश आइपुग्छ, फोनमा आफन्तको आवाज र भाइबर वा इमेलमा प्रियहरूको अनुहार झुल्किन्छ म ती पुराना दिनहरू सम्झन थाल्छु । चिठीपत्रको जमाना कल्पिन थाल्छु ।
म कक्षा ५ को विद्यार्थी थिएँ । केटाहरू मात्रै पढ्ने सरकारी स्कुल थियो त्यो । कक्षाका धेरै साथीहरू स्कुलकै होस्टलमा बस्ने गर्थे । म चाहिँ आफ्नै नातेदारसित बस्थेंँ । कक्षा ७ पछि मात्रै होस्टलमा भर्ना भएको थिएँ । उमेरको त्यो खुड्किलोमा टेक्न आइपुग्दा मनको रूखमा रहरका हाँगाबिँगा झांगिन थालिसकेका थिए । नयाँ परिवेश, साथीहरू र विषयवस्तुसित साक्षात्कार गर्ने चाहनाहरू हुर्किंदै थिए । केही अलग र राम्रो देखिन चाहन्थ्यौं म र साथीहरू । हामीले फिल्मी हिरोको स्टाइलमा कपाल कोर्न थालिसकेका थियौं । हिरोहिरोइन तथा विज्ञापनतिर देखिने मेडेलका फोटो कापीकिताबको पछिल्लो गातामा र आआफ्ना दराजका भित्री भागहरूमा टाँस्थ्यौं । होस्टलमा सिनियर दाइहरूको दराजहरूमा हलिउडकी प्रसिद्ध सुन्दरी सामन्था फोक्स र गायिका मेडोनाका अर्धनग्न फोटोहरू मुस्कुराइरहेका हुन्थे ।
हाम्रो समूह कुरकुरे बैंसको गल्ली गल्छेँडीतिर हिँड्न थालेका छिमलहरूको हुलजस्तै थियो । हामीभित्र सपनाको बेग्लै संसार निर्माण हँदै थियो । उमेरको त्यो जँघार तरिरहँदा नयाँ साथी बनाउने रहरले चल्ला काढ्दै थियो हामीमा । घरपरिवार र कक्षाका साथीसित बाँड्न अप्ठ्यारो लाग्ने अनेक थोक हुँदो रहेछन् । जसकारण त्यस उमेरका केटाकेटी नयाँ साथी बनाउने रहर गर्दा रहेछन् । वास्तवमा, मानिस बाँच्नेमात्रै होइन अभिव्यक्त पनि हुन चाहने प्राणी हो । त्यसबेला पत्रमित्र बनाउने चलन थियो युवामाझ।
मेरा थुप्रै सहपाठीले टाढाटाढाका पत्रमित्र बनाएका थिए । मलाई पनि एकजना दाइले गुरुङ थरकी एउटी भुटानी युवतीको एड्रेस दिनुभयो । थिम्पुमा बस्ने त्यो अपरिचित साथीलाई एउटा पत्र पठाउने योजना बनाएँ । अर्को दिन स्कुलबाट आउने बेला बजारबाट खाम र राइटिंग प्याड किनेर ल्याएँ । साँझ खाना खाइसकेपछि आफ्नो कोठामा पसेँ । अनि मिलाएर एउटा चिठी कोर्न भ्याएँ । यसरी पठाइयो पहिलो पत्र पत्रमित्रलाई ।
समय बित्दै गयो एकदिन आशा गरे अनुरूप नै मनको तारलाई तरंगित पार्दै एउटा चिठी मेरो नाममा आयो । त्यही पत्रमित्रको जवाफ आएछ । मनमा एक प्रकारको खुसी नाच्यो । त्यसपछि पत्र पठाउने र पाउने क्रम सुरु भयो हामीबीच । अनेक थोक हुँदा रहेछन् मनको गर्भमा जो बाहिर आउन खोजी रहेका हुँदा रहेछन् । त्यतिबेलैदेखि सायद मभित्रको भावना प्रस्फुटन हुन चाहन्थ्यो । जसकारण यी पत्रहरू कोरिरहँदा एक प्रकारको खुसी चल्मलाउँथ्यो मनमा । मानिस आफ्नै विचार र भावनाको धेरै नजिक पुग्दो रहेछ लेखेर ।
कहिलेकाहीँ जेठाबाबाले नबुझिने पारामा अश्लील जोक्सहरू वा प्रसंगहरू पनि लेखेर पठाउने गर्थे । सुरुमा त मेरो कलिलो दिमागले खुट्याउनै गाह्रो मान्थ्यो तर पढ्दै गएपछि बूढो मान्छेको चलाखी बुझ्थेँ । कुनै आपत्तिजनक शब्द अस्पष्ट भएको भनेर जेठीआमालाई टारिदिन्थेँ । अपाच्य चुट्किलाहरू मनमनै पढ्थेँ ।
लेखेरै आफ्ना, दमित इच्छाहरूलाई एउटा रूप प्रदान गर्न सकिँदो रहेछ जुन लामो समयसम्म रहन्छ मन मस्तिष्कमा । म भ्याएसम्म रेडिमेट रंगीन पानामा र नभेटे सादा पानामै पनि पत्र कोरिसकेपछि खाली ठाउँम स्केचपेन वा रङ पेनले भरेर पानालाई सजाउने कोसिस गर्थे । एउटा दुईवटा राम्रा कार्टुन र मन खुसी पार्ने खालका रंगीन फूल पनि बनाउँथे । जन्मदिन, नयाँवर्ष, जाँचमा पास हुँदा, दसैंतिहारको मैकाम त ग्रिटिङकार्ड नै किनेर पठाउँथे । कार्डको सजावटले मन नभरेर आफैं पनि शुभकामना सन्देश लेखेर सजाउँथे । कतै छेउतिर ठाउँ बाँकी रहे मीठो सायरी र भावहरू पनि कोर्न भ्याउँथे ।
यी सब एकान्त ठाउँमा, दत्तचित्त भएर गर्थें । तीनचार पानाको लामो पत्र लेखेपछि, राइटिङ्ग हेर्थें । सफा भए, अनुहारमा चमक आउँथ्यो । उमंगको बतास बग्थ्यो मनको डाँडाकाँडा । लेख्दा मन छुने कुरा नै लेख्ने कोसिस हुन्थ्यो । विचार लेख्ने उमेर नै भएको थिएन सायद । कुराहरू घुमाएर भावना पोख्ने गर्थें । चाहना चाहिँ साथीको मनमा प्रभाव जमाउनु नै हुन्थ्यो । मिलाइमिलाइ सुन्दर अक्षर बनाउने कोसिस रहन्थ्यो । कविता र सायरीका लाइनहरू हुन्थे । गजलका टुक्राहरू थप्थँे । मन छुने प्रसंग जोड्थे ।
दूरीले टाढा भए पनि भावनाले नजिकै छौ जस्तो भान पार्न चाहन्थेँ । कक्षामा कुन दिन के थियो, कुन साथी कस्तो, कुन मास्टर कस्तो र बिदाको योजना सब लेखिन्थ्यो । खासमा, त्यतिबेला म अभिव्यक्त हुन खोज्दै रहेछु । आफूलाई सुनाउन चाहेको रहेछु ।
जीवनयात्रामा कहिले हर्ष, त कहिले पीडाका आँसु झर्छन् । कहिले मन चंगाझैं उन्मुक्त उड्छ त कहिले समस्याका काँडेघारीमा अल्झिन पुग्छ । मानिसले धर्तीमा रहुञ्जेल, जीवनको गाडी हुँइकाउँदै अनेक घुम्ती र उतारचढाव पार गर्छन् । एकान्तको रिक्तता र खुसीको उडानमा मानिस अनेक रूपमा रिस्पोन्ड भइरहेका हुन्छन् । यी परिस्थितिहरूमा भावना र विचारका तरंगहरू जन्मिन्छन् । यी सब लेखनमा धेरै सबल रूपमा प्रकट हुँदा रहेछन् । मानिसले समाज र दुनियाँलाई आफ्नै तरिकाले हेरिरहेको र बुझिरहेको हुन्छ र तीबारे व्यक्तिगत धारणा बनाइरहेको हुन्छ ।
जुन लेखेपछि धेरै स्पष्ट बन्न जान्छ । विस्तारै म पनि शब्दहरूमा आफ्नो भावना र विचारलाई रूप दिन सजिलो अनुभव गर्न थालेको थिएँ । यी अक्षरमाझ आफूलाई रमाइरहेको पाउँथे । आफूले कोरेको शब्दले आफूलाई नै अभिव्यक्त गरिरहेको लाग्थ्यो । मेरा अन्य साथीहरू पनि आफ्ना चिठीहरू पढेर सुनाउँथे एकआपसमा । जति घुमाएर लेख्यो उति नै साहित्य घुसाउन सफल भएको ठान्थ्यौं हामी । वाह, क्या साहित्य लेखेछ यार– भन्थेँ । जुन एक प्रकारको प्रशंसा जस्तै थियो त्यसताका ।
हाम्रो लागि लेखनको उत्कृष्ट रूप नै साहित्य थियो । साहित्य भनेकै अप्ठ्यारा शब्द प्रयोग गरेर लेख्नुहुन्थ्यो हाम्रो कलिलो मस्तिष्कमा । त्यो मान्यता बिस्तारै हट्दै गयो जब साहित्यका अनेक रूप र रङसित परिचित हुँदै गएँ कालान्तरमा ।
पछि जागिर खान थालेपछि धरानतिरका एकजना तामाङ दाइसित परिचय भयो । उहाँले दार्जिलिङतिर पढ्नु भएको रहेछ । अध्ययनको क्रममा एक जना लिम्बू थरकी युवतीलाई धर्मबहिनी बनाएका रहेछन् । भुटानबाट मेरो साथीको पत्र आएको देखेर दाइले नयाँ पत्रमित्र बनाउने इच्छा भए आफ्नो बहिनीलाई पनि पत्र पठाउँदा हुन्छ भन्ने प्रस्ताव राख्नुभयो र ठेगाना पनि दिनुभयो । यसरी सुरु भयो अर्को पत्रमित्रसितको चिठी आदानप्रदानको सिलसिला । त्यो साथीले पछि बंगाल पुलिसमा कार्यरत उतैतिरको गार्खोलीसित विवाहे गरेपछि मेरो परिचय आफ्नो एक अन्य साथीसित गराइदिइन् ।
यसरी मेरो जीवनमा तेस्रो पत्रमित्रको प्रवेश भयो । झन् पछि झन् मेरा भावना, कल्पना र लेखनप्रतिको रहरले थुप्रै पत्रहरूमा ठाउँ पाउँदै गए । लेखन आफैंलाई खोज्ने अन्त्यहीन प्रक्रिया रहेछ । म आफूले बुझेको संसार र जीवनलाई अभिव्यक्त गर्दै गएँ । फलस्वरूप लेखनले एक अलग्गै दुनियाँको निर्माण गरीदियो । जहाँ म रमाइरहेको थिएँ ।
स्कुले दिनहरूलाई सम्झिँदा एउटा अर्को प्रसंग दिमगमा आउँछ । म जुन नातेदारकोमा बस्थेँ उहाँ साइनोले जेठाबा पर्नुहुन्थ्यो । भारतीय सेनामा लाहुरे । सर्भिसको क्रममा एक पटक श्रीलंका पुग्नुभयो भारतीय शान्ति सेनामा सामेल भएर । त्यसकारण खुब लेख्नुपर्ने भयो पत्र जेठीआमाको तर्फबाट जेठबाबालाई । जेठीआमा अनपढ हुनुभएकोले पत्र लेख्ने जिम्मा मेरो थाप्लोमा आइपरेको थियो । महिनामा एकदुई जत्ति चिठी लेख्नुपर्ने हुन्थ्यो । ती चिठीहरूमा घरायसी कुराहरू नै धेरै हुन्थे ।
बच्चाहरूको पढाइको ग्राफ, खर्चको नालीबेली, टोलछिमेकका हालखबरहरू र गाउँघरतिरका समाचार । को मरे, को परदेश लागे, कस्को बिहे भयो र कसको घरमा नयाँ सन्तान जन्मिएजस्ता थुप्रै कुराहरू हुन्थे । यीबाहेक परिवारमा मेरै अगाडि घटिरहेका कुराहरू चाहिँ म आफैं मिलाएर लेखिदिन्थेँ ।
चिठीको सुरुआतमा नाताअनुसारको सेवाढोग, आशीर्वाद, आरामै छौं र आरामैको कामना गर्ने वाक्यहरू लेख्नै लगभग पाँच, छ मिनेट लगाउँथे म । तबसम्म जेठीआमा पनि सुनाउनै पर्ने घरायसी कुराहरू औंला भाँचेर गन्दै याद गर्थिन् । यसरी मभित्र शब्दहरूसित खेल्ने रहरको बीजारोपण भएको हुनुपर्छ । कहिलेकाहीँ म आफूभित्रको साहित्यिक बिरुवालाई यी पत्रहरूमा नै हुर्किन दिन्थेँ । भावनाको गहिरो समुद्रतिर डुबुल्की मर्थे त कहिले कल्पनाको खुला आकाशतिर उड्न छोडिदिन्थेँ शब्दहरूलाई ।
यादमा सिरानी भिजाउँदै झर्ने आँसुको खोला बगाउँथे, राम र सीताको जस्तै बिछोडको कथाहरू लेखिदिन्थेँ, एकअर्का बेगरका लाम र पट्यारलाग्दा रातहरू, रोइरहेका जूनतारा, सात समुद्रको दूरीले मन छियाछिया पारेको र रहरका फूलहरू ओइली गएका कुरा खुब लेख्थें यी पत्रहरूमा । यस्ता बिम्बहरू पंक्तिपंक्तिमा राखिदिन्थेँ । म भावनाको सागर उराल्नेमा नै विश्वास गर्थे । हुन त जेठीआमाले यसरी लेख्न अह्राउनु हुन्थेन । यो त मेरो आफ्नै कल्पनाको उडान हुन्थ्यो । मैले लेखेका शब्दहरूले पक्कै पनि जेठीआमाको भावनालाई समेटेको हुन्थ्यो । जसकारण पत्र लेखिसकेपछि एकदुई पटक पढेर सुनाउँदा उहाँको अनुहारमा एक प्रकारको सन्तुष्टिका चराहरू उडिरहेका पाउँथे ।
सायद थुप्रै कुराहरू थिए मभित्र, जो बाहिर आउने बाटो खोजिरहेका थिए । अभिव्यक्तिको सरल र उत्तम मध्यम लेखन नै भयो त्यसबेला । मानिसको रहरै त हो । कहिलेकाहीँ जेठाबाबा पनि पत्रहरूमा आफ्नो दमित इच्छाहरूलाई चुट्किला, कथा वा गीतमर्फत लेख्नुहुन्थ्यो । सैनिक जीवनको संघर्ष, त्यो पनि बिरानो देशको युद्धक्षेत्रमा । यी कुराहरू साह्रै मन छुने गरी लेखेर पठाउनुहुन्थ्यो जेठाबा । र जेठीआमालाई यी सब पढेर सुनाउने काम हुन्थ्यो मेरो ।
कहिलेकाहीँ जेठाबाबाले नबुझिने पारामा अश्लील जोक्सहरू वा प्रसंगहरू पनि लेखेर पठाउने गर्थे । सुरुमा त मेरो कलिलो दिमागले खुट्याउनै गाह्रो मान्थ्यो तर पढ्दै गएपछि बूढो मान्छेको चलाखी बुझ्थेँ । कुनै आपत्तिजनक शब्द अस्पष्ट भएको भनेर जेठीआमालाई टारिदिन्थेँ । अपाच्य चुट्किलाहरू मनमनै पढ्थेँ । सारै लाज लाग्ने । सक्दो आफ्नो अनुहारको हाउभाउ छोप्दै पत्रमा घोरिएको अभिनय गर्थें कि जेठी आमालाई लागोस् ती शब्दहरू साँच्चै नबुझिने गरी लेखिएका रहेछन् ।
पछि, विसं. २०५५ तिर जीवनको गाडी घचेट्ने क्रममा काठमाडौं छिरेँ । भागम भागको जीवन, संघर्षपूर्ण दिनहरू, अभावका रातहरू, यी सब बीच भावना पोख्नको लागि समय मिलाउनै सकिन । आर्थिक अभाव, भविष्यको चिन्ता, पेलानपूर्ण जागिर र आफ्नै पढाइको चक्करमा नराम्रो गरी फसेँ । पछि भुटानको साथी पनि थिम्पुबाट फुन्सलिङ पुगेछिन् ।
पुरानै ठेगानामा फेरि एउटा पत्र पठाउने मन भयो । धेरै पछि पठाउँदै थिएँ त्यो चिठी र जवाफ पनि आयो । त्यसपछि पनि केही समयसम्म पत्रहरूको आदानप्रदान चलिरह्यो । साथीले विवाह गरेपछि आउने पत्रको संख्या पनि घट्न थाल्यो । ममा पत्रलेखनमा पहिलेको जस्तो रहर बाँकी रहेन । उता दार्जिलिङतिरकी साथीले पनि पत्रहरू कम पठाउन थालिन् । हो त्यतिबेलैदेखि हो मेरो लेखन कवितातिर मेडिएको ।
स्कुले जीवनमा पाठ्यक्रमम रहेका कविताबाहेक अन्य कविता पढ्ने बाध्यता थिएन । कविता लेख्ने सोख खासै थिएन भन्दा पनि हुन्छ । लेखनका ती सुरुआती दिनहरूलाई सम्झँदा त्यतिबेला मेरो मनको हाँगाहाँगामा फुलेका भावनाहरू पोख्नलाई प्रशस्त अवसर यी चिठीहरूमा नै पाएँ । घरतिर परिवारजन, एकदुईजना गाउँले दौंतारीँ र यी पत्रमित्रहरूलाई लेख्ने पत्रहरूमै आफ्नो लेखनको सोख पूरा गर्थें । कथा, कहानी, कविता, सायरी जे लेख्ने मन हुन्थ्यो यी पत्रहरूमा नै लेख्थेँ ।
आफैंलाई व्यक्त गर्ने र आफैंसित संवाद गर्ने अनेक उपायमध्ये एउटा बन्न गयो पत्रलेखन । यसरी पत्रमित्रलाई पत्र कोर्न थालेपछि नै हुनुपर्छ लेखनको रहरले मेरो मनमा प्रवेश गरेको । यसरी हुनुपर्छ लेखनतिर मेरो मन आकर्षित भएको । आज ममा साहित्यप्रतिको रुचि जगाउनमा ती चिठीपत्रको ठूलो भूमिका छ झैं लाग्छ । अझै सम्झिन्छु रात रातभरि जागा बसेर लेखिएका असंख्य ती चिठीहरूलाई जसको अन्तिमतिर मिलाएर लेखिएको हुन्थ्यो-
'उड चरी, हावा सरी
लैजाऊ यो चिठी मेरो साथीको हातमा पर्ने गरी ।'
प्रतिक्रिया दिनुहोस !