रथ सम्भोगपछि सकियो पनौती जात्रा

रथ सम्भोगपछि सकियो पनौती जात्रा

बनेपा : काभ्रेको पनौती नगरपालिकामा रथ-रथबीच सम्भोग गराई पनौती जात्रा समापन गरिएको छ । तीन दिनसम्म चल्ने जात्राका क्रममा स्थानीयवासीले विभिन्न नायखिं, धिमे बाजा बजाई इन्द्रेश्वर मन्दिरको पूजा प्रार्थना गरी ज्येष्ठ पूर्णिमाको दिन रथलाई सम्भोग गराएर जात्रा मनाएका हुन् । जात्रा पूर्णिमाको दुई दिन अघिदेखि चलेको थियो ।पनौती जात्रा प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित जात्रा रहेको स्थानीय जयराम कर्माचार्यले जानकारी दिनुभयो ।

‘परापूर्व कालमा महादेव उन्मत्त भैरवको रूप धारण गरी बाहिर निस्केको र भैरवको डरलाग्दो रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप धारण गरेर रोसीखोलाको किनारैकिनार भाग्न थालेपछि लायकु डबली पुगेका बेला उन्मत्त भैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आएको किंवदन्ती छ', कर्माचार्यले भन्नुभयो । आफू यौनक्रियाबाट तृप्त भएपछि भद्रकाली वास्तविक स्वरूपमा आएर भैरवलाई सम्भोग गर्ने इच्छा जाहेर गरेको किंवदन्ती छ । ‘त्यसपछि उन्मत्त भैरव महादेवको स्वरूपमा आएपछि उनले पार्वतीलाई अगाडिबाट सम्भोग गरेकाले रथलाई अगाडि र पछाडिबाट जुधाएर सम्भोग गराउने प्रचलन छ', कर्माचार्यले बताउनुभयो ।

पनौतीस्थित लायकु दरबार, डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्त भैरवका रथहरू एकआपसमा सम्भोग अर्थात् जुधाएर जात्रा मनाउने चलन छ । इन्द्रेश्वर चोकनजिकै रहेका तीनवटा रथलाई (महादेव, भैरव, भद्रकाली) बाजागाजासहित रोसीखोलाको किनार परिक्रमा गराइन्छ । त्यसपछि यी रथ जुधाउने प्रचलन छ । चतुर्दशीका दिन बिहानैदेखि ब्रह्मायणीको मन्दिरमा भीड लाग्नुका साथै पूर्णिमाको दिन काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेका विभिन्न स्थानबाट मेला हेर्न हजारौं दर्शनार्थी आएको स्थानीय प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।

महादेव, भैरव, भद्रकालीको रथ जुधाउँदा जहिले पनि पानी पर्ने गरेको श्रेष्ठले सुनाउनुभयो । ‘पुर्खाको पालादेखि जात्राको दिन पानी पर्ने गरेको छ', उहाँले थप्नुभयो, ‘तर, जात्रा हेर्न आएका मानिसले छाता ओढ्न नहुने धार्मिक किंवदन्ती छ ।' यो जात्रामा रथमा रहेका देवीदेवताको प्रसाद पनि बाँड्न नहुने लगायतको अनौठो प्रचलन रहेको स्थानीय जयराम कर्माचार्यले जानकारी दिनुभयो ।

दिउँसो रथ जुधाउने जात्रा सकिएपछि बेलुका ब्रह्मायणीको जात्रा गरिन्छ । ब्रह्मायणीलाई विधिपूर्वक रथमा राखी जात्रा गरेर बजार परिक्रमा गराई देवघरमा पुर्‍याइन्छ । सोही दिन बेलुका अघिल्लो दिन इन्द्रेश्वर प्रांगणमा बलि दिइएको राँगाको मासुको परिकार बनाई ‘वलं भ्वय' खाएर जात्रा सकिन्छ । काभ्रेलगायत छिमेकी जिल्ला भक्तपुर, ललितपुर, काठमाडौंलगायत जिल्लाका २० हजारभन्दा बढी दर्शनार्थी जात्रा मनाउन आएका छन् ।

फोटोजात्रामा २० हजार

काभ्रेको पनौतीमा बुधबारदेखि भएको फोटोजात्रा २० हजारजनाले अवलोकन गरेका छन् । जात्राको अवसर पारेर पनौतीको इतिहास र त्यहाँका मौलिक कला तथा संस्कृतिलाई फोटोमार्फत प्रस्तुत गर्ने उद्देश्यले भएको फोटोजात्रा समापन भएको सुजेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार फोटोजात्रा २० हजार भन्दा बढी आन्तरिक तथा बाह्य दर्शकले अवलोकन गरेका छन् । जात्रामा एक सय २२ वटा फोटो प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा विश्वसम्पदा सूचीमा प्रस्तावित स्थलहरूको चिनारी र संरक्षणको, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको चिनारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोटोग्राफर प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ४० वर्ष पुराना फोटो प्रदर्शनीमा राखिएका थिए । सिनियर फोटोग्राफर भरतकिरण श्रेष्ठ, फोटोग्राफर सुलभ श्रेष्ठ, जेराद टफिन, प्रशान्त श्रेष्ठ र जेनिश ताम्राकारले ती तस्बिर खिचेका थिए । प्रदर्शनीको मिडिया पार्टनर अन्नपूर्ण मिडिया नेटवर्क थियो ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.