भेरी-बबई डाइभर्सन आयोजनामा सञ्चय कोषले ६ अर्ब लगानी गर्ने

भेरी-बबई डाइभर्सन आयोजनामा सञ्चय कोषले ६ अर्ब लगानी गर्ने

काठमाडौं : कर्मचारी सञ्चय कोषले भेरी-बबई डाइभर्सन आयोजनाअन्तर्गत विद्युत् उत्पादनमा ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। ऊर्जा मन्त्रालयलाई हालै प्रस्ताव गर्दै उक्त बहुउद्देश्यीय आयोजनाको विद्युत् उत्पादनखण्डका लागि कोषले औपचारिक रूपमा प्रस्ताव गरेको हो।

भेरीको पानी बबईमा मिसाइ त्यसबाट ५१ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्‍याउने र सहउत्पादन (बाइप्रडक्ट) का रूपमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। यसअनुसार १२ किलोमिटर सुरुङ निर्माण कार्य ठेक्कापट्टा भई डेढ किलोमिटरभन्दा बढी खनिसकिएको छ भने विद्युत् उत्पादनका लागि सरकारले हालसम्म वित्तीय बन्दोबस्ती गरेको छैन।

कोषका पाँच लाख ५० हजारभन्दा बढी सञ्चयकर्तालाई वितरण हुने मुनाफा रकम भेरी बबईको विद्युत् खण्डमा लगानीका लागि प्रस्ताव गरेको कोषका कार्यवाहक प्रशासक दीपक रौनियारले जानकारी दिए। उनका अनुसार यी सञ्चयकर्तालाई वितरण गर्न कोषले छुट्टयाउँदै आएको वार्षिक रकम भेरी बबईमा लगानीका लागि पर्याप्त हुनेछ। कोषका सञ्चयकर्ताका लागि वितरण हुने रकममध्येबाट हरेक वर्ष डेढ अर्ब रुपैयाँ लगानी गर्न सकिने रौनियारले बताए।

कोषले जम्मा गरेको रकमबाट आर्जित मुनाफा प्रत्येक सञ्चयकर्तालाई शून्य दशमलब ६५ प्रतिशतका दरले लाभांश वितरण गर्दै आएको थियो। यही रकम सञ्चयकर्तालाई नदिई सेयरका रूपमा परिणत गर्ने कोषको योजना छ। ‘कोषका साढे पाँच लाख सञ्चयकर्तालाई यो मुनाफा रकम वितरण गर्दा खासै पाएजस्तो पनि हुँदैन', रौनियारले भने, ‘तर यही रकम सामूहिक रूपमा लगानी गर्दा भेरी बबईजस्ता मुलुकका पूर्वाधार आयोजनामा लगानी जुटाउन सजिलो हुनेछ।'

कोषले यही मोडालिटीमा ६ सय ८८ मेगावाटको बेतन कर्णाली आयोजना पनि बनाउने भएको छ। यसका लागि ऊर्जा मन्त्रालयले विद्युत् सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ भने कोषले प्राधिकरणले गठन गरेको नेपाल इन्जिनियरिङ कम्पनीमार्फत आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने सम्झौता गरेको छ।

कोषले कर्मचारी सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड गठन गरी यही कम्पनीमार्फत लगानी गर्ने योजना बनाएको छ। यसअनुसार उक्त आयोजनामा कोषले १५ प्रतिशत, प्राधिकरणले १० प्रतिशत, उत्पादन कम्पनीले १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्वसाधारण तथा आयोजना प्रभावित क्षेत्रका वासिन्दाको सेयर लगानी हुने गरी प्रस्ताव गरेको छ। ‘ऊर्जा मन्त्रालय सकारात्मक देखिएकाले हामीले प्रस्ताव गरेका हौं', रौनियारले बुधबार अन्नपूर्णसित भने, ‘हामीले काम सुरु गरेको तीन वर्षभित्र आयोजना सम्पन्न गर्नेछौं।'

राष्ट्रिय गौरवको आयोजनाका रूपमा भेरी बबईबाट मध्यपश्चिमका ५१ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्‍याउन बबईको मात्र पानी पर्याप्त नहुने भएकाले भेरीको समेत मिसाई (दैनिक ४८ घनमिटर) बहुउद्देश्यीय बनाउन लागिएको हो। यो आयोजनाबाट विद्युत् उत्पादन गर्दाको सबैभन्दा आकर्षक पक्ष भनेको यसले बाह्रै महिना ४८ मेगावाट बिजुली उत्पादन गर्ने सुविधा हुनेछ। अन्य आयोजनामा हिउँदयाममा एक तिहाई उत्पादन घट्ने गर्छ।

सिँचाइ विभागले २०७१ साल माघमा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) सँग ठेक्का सम्झौता भएको २४ महिनाभित्र १२ किलोमिटर सुरुङ खन्ने गरी ठेक्का गरेको थियो। सुरुङ खन्ने काम भने गत कात्तिक अन्तिम सातादेखि हुँदै आएको छ। टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट नेपालमा पहिलोपटक यही आयोजनामा सुरुङ खन्न सुरु भएको हो। अन्य परम्परागत तवरले भन्दा टीबीएम प्रविधिबाट सुरुङ खन्दा गुणस्तर र समय दुवैका हिसाबले उचित देखिएको सिँचाइका प्राविधिकले दाबी गर्दै आएका छन्।

कोषका अनुसार गत असार मसान्तसम्म कोषमा दुई खर्ब ४६ अर्ब ५३ करोड रुपैयाँ सञ्चय भएको छ। सञ्चित रकममध्ये कोषले हालसम्म दुई खर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ। कोषमा ६ अर्ब २३ करोड जगेडा र एक खर्ब ८९ करोड रुपैयाँ अनुमानित बचत छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.