बन्यो ठूली भेरीमा पक्की पुल
जाजरकोट : जाजरकोट-डोल्पा सडकको रिम्नास्थित ठूली भेरीमा मोटरेबल पक्की पुल बनेपछि यातायात सेवा सञ्चालन भएको छ। दुई वर्षअघि निर्माण थालिएको पक्की पुल बनेसँगै नेपालगन्ज र सुर्खेतदेखि जाजरकोट हुँदै रुकुमको आठबीसकोट नगरपालिका राडीबजारसम्म सीधा यातायात सञ्चालन भएको छ।
जाजरकोटको रिम्ना र रुकुमको छेपारे जोड्ने पुल नहुँदा सर्वसाधारणलाई करिब पाँच सय मिटर पैदल हिँड्नुपथ्र्यो। निर्माण सामग्री, खाद्यान्नलगायत बढी तौल हुने सामान लैजान निकै मुस्किल पथ्र्यो। ‘गाडी फेर्नुपर्ने झन्झट छँदै थियो। त्यो सबै अप्ठ्यारो हट्यो’, जाजरकोट नलगाड-२ छेप्काका लालबहादुर वलीले भने, ‘पुल बनेपछि हामीलाई निकै सजिलो भएको छ। घरनजिकैबाट नेपालगन्जलगायत सहर जान पाएका छौं। मालसमान ढुवानी पनि सहज भएको छ।’
पुल बनेसँगै जाजरकोट-डोल्पा सडकको रुकुमको छेपारे-चिसापानी र रिम्ना-राडी सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यो भेरी कोरिडोरको रुकुम र जाजरकोट जोड्ने महŒवपूर्ण पुल हो। यहाँबाट यात्रुवाहक बसका साथै मालवाहक ट्रक र ट्र्याक्टरसमेत राडीसम्म पुग्न थालेका छन्। पुल निर्माणपछि भाडा घटेको छ भने मालसामानको भाउ पनि सस्तिएको छ। रिम्नादेखि राडीसम्म तीन सय रुपैयाँ असुल्दै आएका जिप पुल बनेपछि विस्थापित भएका छन्। सीधा बस सेवा सञ्चालन भएपछि रिम्ना-राडी खण्डमा मात्र आधा भाडा घटेको दल्लीका स्थानीय लक्ष्मण सिंहले बताए। राडीदेखि नेपालगन्जसम्म करिब दुई सय ५० किमि सडकमा आठ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ। यसअघि यसै सडक खण्डमा ठाउँठाउँमा गाडी फेर्नुपर्दा दुई हजार रुपैयाँसम्म भाडा लाग्ने गरेको थियो।
पुल निर्माणले पूर्वी जाजरकोट र पश्चिम रुकुमका बासिन्दालाई मात्र फाइदा पुगेको छैन, डोल्पालीको यातायात र ढुवानी सेवा पनि सहज बनाइदिएको छ। डोल्पा लैजाने खाद्यान्नलगायत उपभोग्य सामान र निर्माण सामग्रीसमेत रुकुमको राडी बजारसम्म पुग्न थालेका छन्। रिम्नास्थित ठूली भेरीमा बनेको पुलले यात्रा गर्न निकै सजिलो बनाएको डोल्पा काइके ६ का जस रोकायले बताए। ‘डोल्पा पुग्न अझै निकै समस्या छ। राडीदेखि माथि डोल्पा जाँदा पाँच ठाँउमा गाडी फेर्नुपर्ने, बाटो निकै अप्ठ्यारो र साँघरो छ’, उनले भने, ‘तर राडीसम्म भए पनि बाटो राम्रो छ। हामी खुसी छौँ।’
यता डोल्पा बाटोमा पनि सानाठूला आठवटा पक्की पुल निर्माण गर्नुपर्ने छ। तर अहिलेसम्म तिनको सुरसारसमेत हुन नसकेको र सडक निर्माण सुस्त गतिमा बढिरहेको उनको भनाइ छ। यसतर्फ सरकारले समयमै चासो दिएर डोल्पालीको यातायात सहज बनाउन पहल गर्नुपर्ने उनले माग गरे।
जाजरकोट-रुकुम जोड्ने रिम्नास्थित मोटरेबल पक्की पुल। अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !